ad ad

मधेस


जनकपुरमा करोड बराबरको मेडिकल उपकरण बरामद, ३ जना पक्राउ

जनकपुरमा करोड बराबरको मेडिकल उपकरण बरामद, ३ जना पक्राउ

शैलेन्द्र महतो
साउन १, २०७९ आइतबार १०:५१, जनकपुरधाम

जनकपुरधाममा एक भारतीय नागरिकले ५ वर्षदेखि अवैध रुपमा मेडिकल उपकरणको कारोबार गरिरहेको खुलासा भएको छ। धनुषा प्रहरीले जनकपुरधाम ९ संकटमोचन मन्दिरस्थित एक घरमा छापामारी गरेपछि सो रहस्य खुलेको हो। 

स्थानीय विनय झाको घरबाट भन्सार छली तथा चोरी निकासी गरी ल्याएको एक करोड मूल्य बराबरको मेडिकल उपकरणसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।   

झाको घरमा कोठा भाडामा लिई बसेका भारत बिहारको मधुवनी थाना जयनगर २ बस्ने ५२ वर्षीय विपीनकुमार सिंहले भन्सार छली तथा चोरी निकासी गरि ल्याएका १ करोड मूल्य बराबरको मेडिकल उपकरण बरामद गरेको धनुषा प्रहरीले जनाएको छ। 

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक दीपककुमार रायको नेतृत्वमा खटिएको टोलीले  छापामारी गरी अवैध रुपमा भन्सार छली चोरीपैठारी गरी लुकाईछिपाई राखेको मेडिकलसम्बन्धी उपकरणहरू बरामद भएको हो। 

त्यस्तै सो सामान ओसार्ने बीआर ०१ पीके ६६६६ नम्बरको स्कार्पिओ गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा व्यवसायी विपीनकुमार सिंह, जिल्ला छपरा दाउदपुर थाना बस्ने ६० वर्षीय शंकर सिंह र पटना हरनोट सिर्सिया थाना बस्ने वर्ष २३ का सुरज सिंह रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपकबहादुर क्षेत्रीले जानकारी दिए। 

उनका अनुसार बराम मेडिकल उपकरणसहित तीनै जनालाई कारबाहीका लागि जनकपुर भन्सार कार्यालयको जिम्मा लगाइएको छ। 
विपीनले ५ वर्षदेखि जनकपुरमा कोठा भाडामा लिई यो धन्धा चलाइरहेको एक व्यवसायीले बताए। विपीनले भन्सार छली गरी ल्याएको उपकरण अन्य ठाउँभन्दा सस्तोमा बेच्ने गरेका कारण उनको यो अवैध धन्धा फस्टाएको थियो। 

जनकपुरमा पछिल्लो समय खुलेका अधिकतर निजी अस्पतालले विपीनबाटै सस्तोमा भन्सार छलीका मेडिकल उपकरण खरिद गरेको ती व्यवसायीको दाबी छ।  

‘यदि अहिले पनि निजी हस्पिटलहरूमा अनुसन्धान गर्ने हो भने अधिकांशमा विपीनले सप्लाई गरेको भन्सार छलीको उपकरण बरामद हुन्छ’, ती व्यवसायीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .