ad ad

मधेस


करारका कर्मचारीले मिथिला नगर प्रमुख र उपप्रमुखबीच द्वन्द्व, तीन महिनादेखि रोकियो तलब

नगरको काम रोकिँदा सेवाग्राही मर्कामा
करारका कर्मचारीले मिथिला नगर प्रमुख र उपप्रमुखबीच द्वन्द्व, तीन महिनादेखि रोकियो तलब

फाइल तस्बिर


जयन्त ठाकुर
असोज ११, २०७९ मंगलबार १३:५५, काठमाडौँ

धनुषाको मिथिला नगरपालिकाले नयाँ जनप्रतिनिधिहरु पाएलगत्तै करारका कर्मचारीलाई लिएर सुरु भएको विवाद अहिलेसम्म साम्य हुन सकेको छैन।

करारका कर्मचारी हटाइएको विषयमा सुरु भएको विवादकै कारण नगरपालिकाको कार्यपालिका बैठक प्रभावित भइरहेको छ। 

करारका कर्मचारी हटाइएपछि पालिकाका प्रमुख महेन्द्र महतो र उपप्रमुख सुनितासिंह बुढाथोकीबीच विवाद सृजना भएको थियो।

प्रमुख तथा उपप्रमुखबिचकै विवादका कारण कार्यपालिकाको बैठक बस्न नसक्दा नगरपालिकाको सम्पूर्ण काम प्रभावित भएको छ।

बैठक नबस्दा चालु आर्थिक वर्षमा पालिकाको कुनै पनि योजना संचालनमा ल्याउन नसकेको नगरपालिकाका प्रशासकीय अधिकृत रचिन्द्र डंगोल बताउँछन्। 

‘३ महिनादेखि कुनै कर्मचारीले तलब पनि पाउन सकेका छैनन्। प्रमुख र उपप्रमुखको खिचातानीका कारण यहाँका जनता त सेवा लिनबाट बञ्चित त भएकै छन्,’ डंगोलले नेपालखबरसँग भने, ‘त्यसमाथि हामी कर्मचारीहरुले काम गर्ने वातावरण समेत छैन।’

यता नगर उपप्रमुख सुनितासिंह बुढाथोकीले हटाइएका करारका कर्मचारीहरुलाई पुनः नराखेसम्म बैठक सञ्चालन हुन नदिने अडान राख्दै आएकी छन्। 

उनको यो अडानमा नेकपा एमाले तथा नेकपा एकिकृत समाजवादीका वडाध्यक्षहरु समेत समर्थन जनाइरहेका छन् । 

मिथिला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विहारी महतो र वडा नम्बर ९ का वडाध्यक्ष दीपक थापाले उपप्रमुखलाई यो मुद्दा उचाल्न दबाब दिँदै आइरहेको आरोप लागेको छ।

मिथिला नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जोगी महतो वडा नम्बर २ र वडा नम्बर ९ अध्यक्षले मुद्दा उचाल्न लगाएको बताए।

तर, राजनीतिक आस्थालाई आधार बनाएर ती करारका कर्मचारीहरुलाई हटाइएको उपप्रमुख बुढाथोकीको भनाइ छ । 

नगर प्रमुख महेन्द्र महतोले काम गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त पैसा लिदै आइरहेको  जनगुनासो आउन थालेपछि त्यस्ता करारका कर्मचारीहरुलाई मात्रै हटाइएको स्पष्ट गरे।

त्यस्ता कर्मचारीहरुको करार अवधी कुनै पनि हालतमा नथपिने नगरप्रमुख महतोले अडान दोहोर्‍याए।

‘नगरको काम संचालन गर्नुका साथै यो समस्या समाधानकालागि गत शुक्रबार मात्रै कार्यपालिकाको बैठक डाकेका थियौँ,’ नगरप्रमुख महतोले भने, ‘तर उपप्रमुख र एमालेका वडाध्यक्षहरुले फेरि त्यही मुद्दा उचालेपछि बैठक संचालन हुन सकेन।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करारमा कर्मचारी नियुक्त नगर्न भनेकाले आफूमाथि त्यस्ता कर्मचारीहरुको करार अवधि नबढाउने दवाब रहेको उनले बताए । 

आवश्यक नै परे सबै प्रक्रिया पूरा गरेर मात्रै (खुला प्रतिस्पर्धा)को आधारमा कर्मचारी नियुक्त गर्न गरेको परिपत्रकै आधारमा त्यस्तो गरिने महतोको भनाइ छ।

बहुमतको दम्भमा उनीहरुको यही अडानका कारण पालिकाको कुनै पनि काम संचालनमा ल्याउन नसकेकोमा नगरप्रमुख महतो दुखेसो पोखे।

प्रमुख महतो कांग्रेस र उपप्रमुख बुढाथोकी एमालेबाट निर्वाचित भएका हुन्। कार्यपालिकामा एमालेको १०, नेकपा एकिकृत समाजवादी पार्टीको ६ र कांग्रेसको ५ जना कार्यपालिका सदस्य छन्।

बाहिर एमालेको विरोध गर्दै आइरहेको नेकपा एकीकृत समाजवादी पार्टीका वडाध्यक्षहरुले भने कार्यपालिकामा उसैलाई नै साथ दिँदै आइरहेको छ। 

पालिकामा २ सय २० जना कर्मचारी करारमा कार्यरत थिए। जसमध्ये ९ जनाको करार अवधि नथपिएपछि विवाद सुरु भएको थियो।

अवधि नथपिएकामा इन्जिनियरदेखि कार्यालय सहायक पदसम्मका कर्मचारी छन्। गत असार मसान्तदेखि उनीहरूको करार अवधि सकिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .