ad ad

मधेस


मधेशमा माओवादी बढारिँदा जसपा र लोसपाले पनि मैदान गुमाए

छाेटाे समयमै सीके राउतको उदय
मधेशमा माओवादी बढारिँदा जसपा र लोसपाले पनि मैदान गुमाए

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १३:५९, जनकपुरधाम

मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ। अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा-४(२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ।

मतगणना सकिएसँगै नेकपा एमाले प्रतिनिधिसभाका लागि ९ र प्रदेशसभाका लागि १५ स्थानमा विजयी भएर  पहिलो पार्टी बनेको छ। 

विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले यो पटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप सात स्थानसहित नौ सिट जितेको हो। प्रतिनिधिसभाका लागि एमालेले सिरहा-१, धनुषा-३, धनुषा-४, सर्लाही-३, बारा-१, पर्सा-३, सिरहा-३, बारा-३ र महोत्तरी-१ लगायत क्षेत्रमा जितेको  छ।

अघिल्लो पटक प्रदेशसभामा १४ सिट जितेको उक्त दलेले एक सिट थप्दै सप्तरी-१(१), सिरहा-१(१), सिरहा-२(२), सिरहा ३(१), धनुषा-१(१), धनुषा-२(१), धनुषा-३(२), धनुषा-४(२), रौतहट-२(१), बारा-१(१), बारा ३(१), बारा-४(१), बारा-३(२), महोत्तरी १(१) र महोत्तरी ४(१) गरी १५ स्थानमा जितेको छ। 

नेपाली कांग्रेसले प्रतिनिधिसभामा सात र प्रदेशसभामा १३ स्थानमा विजयी भएर दोस्रो पार्टी बनेको छ। उक्त दलले प्रतिनिधिसभातर्फ सप्तरी-३, धनुषा-२, रौतहट-४, पर्सा-२, पर्सा-४, सप्तरी-४ र महोत्तरी-४ मा जितेको छ। त्यसैगरी प्रदेशसभामा कांग्रेसले सप्तरी-३(१), धनुषा- ३(१), धनुषा-४(१), सर्लाही-२(१), सर्लाही-२(२), सर्लाही-४(१), रौटहट-१(१), रौटहट-१(२), रौतहट-३(२), पर्सा-२(१), पर्सा-३(२), पर्सा-४(१) र धनुषा १(१) मा जितेको छ।

अघिल्लो पटक कांग्रेसले प्रतिनिधिसभामा ६ र प्रदेशसभामा ९ सिट जितेको थियो। 

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभामा ५ र प्रदेशसभामा ९ सिट जितेर तेस्रो पार्टी बनेको छ। उक्त दलले प्रतिनिधिसभामा सप्तरी-१, सिरहा-४,पर्सा-१, बारा-२, सिरहा-२ र धनुषा-१ मा जितेको छ।

त्यसैगरी प्रदेशसभामा जसपाले धनुषा-२(२), पर्सा-१(२), पर्सा-४(२), बारा-१(२), रौतहट-४(२), सर्लाही-३(२), सिरहा-१(२), बारा-२(२) र महोत्तरी ४(२) मा जितेको छ। विसं २०७४ को निर्वाचनमा सङ्घीय समाजवादी फोरमको रुपमा रहेको जसपाले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा १९ सिट जितेको थियो। 

यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ७ स्थान जित्दै चौथो पार्टी बनेको छ।

प्रतिनिधिसभामा लोसपाले महोत्तरी-२, सर्लाही-१ र महोत्तरी-३ मा तथा प्रदेशसभामा पर्सा-२(२), महोत्तरी-२(१), महोत्तरी-३(१), महोत्तरी-३(२), सर्लाही-१(१), सिरहा-४(२) र बारा-४(२) मा जितेको छ। 

विसं २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) हुँदा लोसपाले प्रतिनिधिसभामा १० र प्रदेशसभामा १५ सिट जितेको थियो। पहिलो पटक चुनावी प्रतिस्पर्धामा गएको जनमत पार्टीले प्रतिनिधिसभामा एक र प्रदेशसभामा छ स्थान जितेको छ। प्रतिनिधिसभामा पार्टी अध्यक्ष डा. सीके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी-२ मा पराजित गरे।

सो पार्टीले प्रदेशसभामा सप्तरी-१ (२), सप्तरी-२(१), सप्तरी-२(२), सप्तरी-३(२), सिरहा-४(१) र सिरहा-२(१) मा जितेको छ। 

त्यसैगरी स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभामा तीन र प्रदेशसभा छ सिट जितेका छन्। प्रतिनिधिसभातर्फ सर्लाही-४,रौतहट-२ र रौतहट-३ मा स्वतन्त्र उम्मेदवारले जितेका हुन् यसैगरी प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारले पर्सा-३ (१), बारा-२(१), महोत्तरी-२(२), रौतहट-३(१), सर्लाही-३(१) र सप्तरी-४(२) मा जितेका हुन्।   

नेकपा माओवादी केन्द्र भने २०७४ को तुलनामा कमजोर देखिएको छ। अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधिसभामा ५ सिट जितेकामा यसपटक एक र प्रदेशसभामा छ स्थान जितेकोमा यसपटक चार स्थानमा मात्रै चुनाव जितेको छ।

 प्रतिनिधिसभामा सर्लाही निर्वाचन क्षेत्र नं २ मा उक्त पार्टीको चुनाव चिन्हबाट महेन्द्रराय यादव निर्वाचित भएका छन्।

प्रदेशमा माओवादीले सर्लाही-४(२), महोत्तरी-१(२), रौतहट-४(१) र पर्सा-१(१) बाट मात्र जितेको छ। एमाले विभाजनपछि प्रतिनिधिसभा र प्रदेशसभाका लागि पहिलो पटक चुनावमा गएको नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभाका लागि रौतहट-१ र बाराबाट दुई सिट र प्रदेशसभामा रौतहट-२(२), सर्लाही-१(२), सिरहा-३(२) र सप्तरी-४(१) गरी चार सिट जितेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .