ad ad

मधेस


मिथिलाञ्चलको होलीमा भिन्न रङ, आज अन्तगृह परिक्रमा

किन जलाइन्छ होलिका?
मिथिलाञ्चलको होलीमा भिन्न रङ, आज अन्तगृह परिक्रमा

फाइल तस्बिर


जयन्त ठाकुर
फागुन २३, २०७९ मंगलबार ९:४६, जनकपुरधाम

मिथिलाञ्चलमा होली पर्वको विशिष्ट महत्त्व छ। होली पर्व, मिथिलाञ्चलमा फागु पूर्णिमापछि र जनकपुरधाममा अन्तगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट हर्षोल्लासपूर्वक मनाइने गरिन्छ। तर यस वर्ष होली तराईका केही भागमा मंगलबार र मैथिल क्षेत्रमा बुधबार मनाइँदै छ। 

रङहरूको उत्सव मानिने होली मिथिलाञ्चलमा दुई दिन मनाउने परम्परा छ। पहिलो दिन होलिका दहन गरिन्छ भने दोस्रो दिन आपसमा रङ/अबिर दलेर होली मनाइन्छ। राग, द्वेष र कटुता बिर्सेर मानिसहरू छिमेकीका घरघरमा पुगेर एकअर्कालाई रङ/अबिर लगाउने गर्छन्।

फाइल तस्बिर

सामाजिक रूपमा हेर्ने हो भने गहुँ काटेपछि मनाउने पर्व हो– होली। यसमा गहुँको पुआ, पुडीजस्ता परिकार पकाउने प्रचलन छ। गहुँ अर्थात् गोधूम, गोको अर्थ इन्द्रीय र धूमको अर्थ आनन्द, इन्द्रीय–आनन्द। अर्थात् इन्द्रीयको आनन्दका लागि मनाउने पर्वका रूपमा पनि होलीलाई लिइन्छ। 

सांस्कृतिक रूपमा हेर्ने हो भने यो पर्व सौहार्द र प्रेमको उत्सव हो। खासगरी मिथिलामा श्रीपञ्चमीकै दिनदेखि रङ/अबिर खेल्ने परम्परा छ। यति मात्र होइन, श्रीपञ्चमीकै दिनदेखि गाउँघरमा राति जोगिराजस्ता गीत गाउने गरिन्छ। हुन त अचले यो परम्परा प्रायः लोप हुँदै गएको छ। होलीको दिन घर–परिवारका सदस्य एक–आपसमा रङ लगाएर रमाउने गर्छन् भने खासगरी मिथिलामा महिला र पुरुष आआफ्ना समूहमा रमाउने गर्छन्। 

फाइल तस्बिर

होलीको पूर्वसन्ध्यामा किन जलाइन्छ होलिका?
होली पर्व होलिका दहन गरेर र भक्त प्रह्लादको स्मरणमा मनाउने गरिन्छ। भगवान् श्रीकृष्णको समयमा मात्रै यो पर्वमा रङ जोडिएको पाइन्छ। यही समयबाट यो पर्व उत्सवमय हिसाबले मनाउन थालिएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। मिथिलाञ्चलमा मनाइने होली पर्वको पूर्वसन्ध्यामा सबै जम्मा भएर होलिका दहन गर्ने चलन छ। 

होली पर्व भक्त प्रह्लादको सम्झनामा किन मनाइन्छ भन्ने विषयमा एउटा कथा छ। असुरराज हिरण्यकश्यपु विजय प्राप्तिका लागि तपस्यामा लीन थिए। अवसर पाएर देवताहरूले उनको राज्य कब्जा गरे। हिरण्यकश्यपुको गर्भवती पत्नीलाई देवर्षि नारदले आफ्नो आश्रममा आश्रय दिए। देवर्षि नारद दैनिक धर्म र विष्णु महिमाबारे ज्ञान दिन्थे। सोही ज्ञान गर्भमा रहेका प्रह्लादले समेत ग्रहण गरे। पछि असुरराजले ब्रह्माको वरदान पाएर तीनै लोकमा विजय प्राप्त गरे। त्यसपछि उनको रानी पनि आइहालिन् र प्रह्लादको जन्म त्यहीँ भयो। 

बाल्यावस्थामा रहेका प्रह्लादले विष्णुको भक्ति सुरु गरिदिए। यसबाट क्रोधित भएर हिरण्यकश्यपुले आफ्ना गुरुलाई बोलाए र भने, ‘यस्तो केही जुक्ति निकाल्नुस्, मेरो छोरोले विष्णुको नाम उच्चारण गर्न बन्द गरोस्।’ गुरुले धेरै प्रयास गरे, तर असफल भए। 

त्यसपछि हिरण्यकश्यपुले आफ्ना छोरोको हत्या गर्न आदेश दिए। भक्त प्रह्लादलाई विष दिइयो, तरबारले प्रहार गरियो,  हात्तीद्वारा किचाइयो, पर्वतबाट तल झारियो तर पनि भगवान्‌को कृपाले हरेकपटक उनी सुरक्षित रहे। अन्त्यमा हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई बोलाएर र प्रह्लादसँगै आगोमा बस्न भने। ताकि प्रह्लाद मात्र जलेर भष्म होउन्। होलिकालाई त वरदान थियो– आगोले जलाउन नसक्ने। तर त्यतिबेलासम्म जतिबेलासम्म उनले असल मानवको अहित गर्ने सोच्दिनन्। तर आफ्ना दाजुको कुरो मानेर होलिका बालक प्रह्लादलाई जलाउने प्रपञ्चमा लागिन्। प्रह्लादको अहित सोचेको हुनाले होलिका स्वयं जलेर भष्म भइन्। तर प्रह्लाद मुस्कुराउँदै अग्निबाट निस्के। सोही दिनदेखि होलीको पूर्वसन्ध्यामा होलिका दहन गर्ने गरिएको हो। यसको अर्थ होलिकासँगै गलत सोच र आचरण पनि जलेको जनविश्वास मिथिलाञ्चलमा गरिन्छ।

मिथिलाञ्चलको होलीमा संगीतको महत्त्व 
होली पर्व र संगीतबीच गहिरो सम्बन्ध छ। संगीतबिना मिथिलाञ्चलमा होलीको परिकल्पनै गर्न सकिन्न। भनिन्छ– होली, मनभित्र रहेको कुण्ठा समाप्त पार्ने पर्व हो। मनभित्र दबेर रहेका विचारलाई बाहिर निकाल्ने सबैभन्दा उत्तम माध्यमका रूपमा मिथिलाञ्चलमा गाइने ‘जोगिरा सररर..’ गीतलाई लिइन्छ। यस गीतद्वारा समाजमा व्याप्त कुरितिहरूविरुद्ध व्यंग्यात्मक शैलीमा प्रहार गर्ने गरिन्छ। 

आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीक मानिने फागु ९होली० पर्वमा जोगिरा।।सुन्न छाडिएपछि यो पर्व आएको छनक नै हुन छाडेको जोगिरा गाउनेहरू बताउँछन्। 

संस्कृतिको सम्झना मात्र नभई जीवनका दुःख, तीता अतीत बिर्साउने अबिर एवं रङको महिमा एकसाथ सुन्न पाइने ‘जोगिरा...’ लोप हुँदै गएपछि होलीको रौनक पनि घट्दै गएको धनुषा हरिहरपुरका ८० वर्षीय नथुनी महतो गुनासो गर्छन्। उनी खिन्न हुँदै भने ‘टोलटोल वस्तीवस्तीमा प्रत्येक रातजसो गुञ्जिने जोगिरा अब सुनिन छाडिएका छन्।’ अब नयाँ पुस्ताले पुराना संस्कृति बिर्सिंदै गएपछि अब आउने पुस्ताले जोगिरा भन्ने कुरा इतिहासमा मात्र पढ्ने स्थिति आइपुग्ने महतोको चिन्ता छ।

अन्तगृह परिक्रमा गरिँदै
मिथिलाको महाकुम्भ मानिने धार्मिक एवम् ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमाअन्तर्गत मंगलबार जनकपुरधाममा अन्तगृह परिक्रमा गरिँदै छ। 

धनुषाको ठेराकचुरीबाट यात्रा सुरु परिक्रमाका यात्री सोमबार जनकपुरधाम  आइपुगेका हुन्। परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालु सहभागी छन्। जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला मध्यमा परिक्रमा विधिवत् रूपमा सुरु भएको थियो। 

नेपाल र भारत दुवै मुलुकका धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्‌भावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालका १३ तथा भारतका २ गरी १५ वटा विश्रामस्थल छन्। 

मिथिला महात्म्यअनुसार १८औँ शताब्दीदेखि यो धार्मिक यात्रालाई मध्यमा  परिक्रमाका रूपमा मनाउने गरिएको हो। 

प्राचीन मिथिलाको राजधानी जनकपुरधामका चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ। मिथिला महात्म्यका अनुसार मिथिलामा बृहत्, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमा उल्लेख गरिएको पाइन्छ। आज बिहान श्रद्धालुहरु अन्तगृह घुमेर परिक्रमालाई समापन गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .