सर्लाहीको बागमती नगरपालिका वडा नम्बर २ स्थित जन बालकल्याण माविका एक विद्यार्थीलाई आज विद्यालय परिसरभित्रै सर्पले टोकेको छ।
सर्पले टोकेपछि बिरामी परेका बालकको हाल सर्लाहीकै लालबन्दी १ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाले जानकारी दिए। बालकको अवस्था सामान्य छ।
‘चिकित्सकले बालकलाई १२ घन्टासम्म निगरानीमा राख्नु पर्ने बताएका छन्,’ प्रअ जिम्बाले भने, ‘हामी अहिले उपचार केन्द्रमै छौँ।’
विगत केही दिनदेखि सर्पदंश उपचार केन्द्र नवलपुरमा दिनहुँजसो सर्पले टोकेका बिरामी उपचारको लागि पुग्ने गरेका छन्।
तराई मधेशका जिल्लामा गर्मी मौसम सुरु हुनेबित्तिकै विषालु सर्पको बिगबिगी बढ्ने गरेको छ। विशेषगरी चैतदेखि असोजसम्म तराईका जिल्लामा सर्पको डर धेरै हुन्छ।
प्रतिक्रिया