ad ad

मधेस


‘बाँकी ऋण मिनाहा’ गर्दै सर्लाहीमा सुदखोरले फिर्ता गरे १७ तमसुक

‘बाँकी ऋण मिनाहा’ गर्दै सर्लाहीमा सुदखोरले फिर्ता गरे १७ तमसुक

संघर्ष समितिका पदाधिकारीलाई आफूसँग भएका तमसुक फिर्ता गर्दै साहुकार ओसी मन्सुर (काँधमा गम्छा भिरेका)।


जनार्दन पोखरेल
जेठ १२, २०८० शुक्रबार ८:५२, सर्लाही

मिटरब्याजविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन थालेपछि सर्लाहीका एक सुदखोर (साहुकार) ले १७ जना ऋणीको तमसुक फिर्ता गरेका छन्।

सर्लाहीको हरिपुर नगरपालिका-६ लक्ष्मीपुर निवासी सुदखोर ओसी मन्सुरले स्थानीय १७ जना ऋणीको तमसुक फिर्ता गरेका हुन्।

उनले ऋणीले तिर्न बाँकी ऋण (सावाँ र ब्याजसमेत) मिनाहा गर्दै आफूसँग भएका तमसुक फिर्ता गरेको मिटरब्याजविरुद्धको संघर्ष समिति सर्लाहीका सचिव सोनठी चौधरीले जानकारी दिए।

माओवादी केन्द्रका नेता सुनिल बुढाथोकी, मिटरब्याजविरुद्धको संघर्ष समिति सर्लाहीकी संयोजक रुक्मिणी चौधरी, सचिव सोनठी चौधरीलगायतको उपस्थितिमा दुई दिनअघि साहुकार ओसी मन्सुरले स्थानीय ऋणीहरुको तमसुक फिर्ता गरेका हुन्।

तमसुक फिर्ताका लागि लक्ष्मीपुरमा भएको छलफलमा सहभागी ओसी मन्सुरका ऋणी महिला।

आफ्नै घरमा भएको छलफलमा साहुकार मन्सुरले १७ जना ऋणीको बाँकी ऋण मिनाहा गर्दै तमसुक फिर्ता गरेको माओवादी केन्द्रका नेता बुढाथोकीले जानकारी दिए। 

सुदखोर मन्सुरले मिटरब्याजका रुपमा झण्डै १० वर्षअघिदेखि रकम असुल्ने हतियार तमसुक फिर्ता पाएपछि ऋणीहरु खुसी भएका छन्।

गरिब, असहाय ऋणीहरुले ऋण तिर्ने कुनै पनि आधार नदेखेपछि उनीहरुको बाँकी सबै ऋण मिनाहा गरेर आफूसँग भएका सबै कपाली तमसुक फिर्ता गरेको मन्सुरले बताए।

१७ जना ऋणीले कपाली तमसुक गरेर विभिन्न मितिमा मन्सुरसँग ३० हजारदेखि ५ लाख रुपैयाँसम्म ऋण लिएका थिए। 

मन्सुरसँग स्थानीय सदरुल खातुनले ५ लाख, अलाउदिन मन्सुरले ४ लाख, ऐमुन खातुनले ४ लाख, कलामुन खातुनले ३ लाख ६० हजार, नाजमु खातुनले ५ लाख, गफार मन्सुरले ४ लाख, अलाउदिन मन्सुरले १ लाख, बिरमनियादेवी चौधरीले २ लाख ५० हजार, यमुना खातुनले ४ लाख रुपैयाँ ऋण लिएका थिए।

ऋणीहरुलाई तमसुक फिर्ता गरे पनि उनले अहिलेसम्म सम्बन्धित ऋणीबाट कति रुपैयाँ असुल गरे भन्ने कुरा खुलेको छैन। साहु र ऋणी कसैले पनि यस विषयमा प्रस्ट जानकारी गराएका छैनन्। 

तर, छलफलमा सहभागी मिटरब्याजविरुद्धको संघर्ष समिति सर्लाहीका सचिव सोनठी चौधरीले कतिपय ऋणीसँग उनले लगानी गरेको रकमको सावाँसमेत असुल नगरी तमसुक फिर्ता गरेको दाबी गरेका छन्। 

‘उहाँ (ओसी मन्सुर) ले हामीसँगको छलफलमा कतिपय ऋणीबाट आफूले लगानी गरेको साउँसमेत नपाएको बताउनुभएको छ,’ सचिव चौधरीले नेपालखबरसँग भने, ‘केही ऋणीले पनि त्यो कुरा स्वीकारेका छन्। तर, साउँ नै नबुझाउने ऋणीसँग समेत उहाँले मलाई अब तिमीहरुले कुनै रकम तिर्नुपर्दैन भनेर कागज गर्नुभएको छ।’

कतिपय ऋणीसँग उनले यसअघि नै अनुचित ढंगले सावाँ-ब्याज असुल गरिसकेको अनुमान पनि गरिएको छ।

चार वर्षअघि मन्सुरसँग ३० हजार रुपैयाँ ऋण लिएकी लक्ष्मीपुरकै कलामुन खातुनले यसबीच आफूले सावाँ-ब्याजसहित मन्सुरलाई १ लाख रुपैयाँ बुझाइसकेको दाबी गरिन्। ‘मैले उहाँसँग लिएको जम्मा ३० हजार रुपैयाँ हो, तर मैले एक लाख रुपैयाँ बुझाइसकेको छु,’ खातुनले भनिन्। 

मन्सुर र ऋणी सबै एउटै गाउँका बासिन्दा हुन्। बाँकी सावाँ-ब्याज मिनाहा गर्दै तमसुक फिर्ता गरेपछि ऋणीहरुले साहुकार ओसी मन्सुरलाई दोसल्ला ओढाएर सम्मान गरेका छन्।

कारबाहीबाट जोगिन तमसुक फिर्ता
सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले तीन साताअघि मात्रै जनकपुरमा आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेर काम अघि बढाएको छ।

सरकारले गएको चैत २० गते मिटरब्याज पीडितका समस्या समाधान गर्ने उद्देश्यले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको हो। यो आयोगमा उत्तमराज सुवेदी र गणेशबाबु अर्याल सदस्य छन्। 

सर्लाहीमा मात्रै मिटरब्याजीविरुद्ध अहिलेसम्म १४ सय ७२ वटा उजुरी दर्ता भएको र मन्सुरविरुद्ध पनि जिल्ला प्रशासन कार्यालय दर्जनभन्दा धेरै उजुरी परेका छन्। 

आयोगले गत वैशाख १७ गतेदेखि अनलाइनमार्फत मिटरब्याजीविरुद्ध उजुरी दिने व्यवस्था मिलाएको थियो। त्यतिबेला  वैशाख मसान्तसम्म तोकिएको उजुरी गर्ने म्याद थप गरेर अहिले जेठ १४ गतेसम्म पुर्‍याइएको छ।

यसअघि संघर्ष समितिले मन्सुरसँग पनि पटकपटक वार्ता गरेर ऋणीलाई मिटरब्याजबाट मुक्त गर्न अनुरोध गरेको थियो। तर, मन्सुरले संघर्ष समितिको आग्रहलाई अस्वीकार गरिरहेका थिए। 

आयोगले गर्ने छानबिनबाट आफू दोषी देखिन सक्ने डरले उनले अहिले तमसुक फिर्ता गरेको हुनसक्ने अनुमान गरिएको छ। 

बाँकी ऋण मिनाहासहित तमसुक फिर्ता पाएका ऋणीले अब मन्सुरविरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता गरेका उजुरी फिर्ता लिने सहमति भएको छ। 

‘म मुद्दा-मामिलाको झन्झटमा पर्दिनँ, घाटा-नाफा जे भए पनि म सहन्छु भन्दै उहाँले ऋणीहरुको तमसुक फिर्ता गर्नुभयो,’  छलफलमा सहभागी माओवादी केन्द्रका नेता बुढाथोकीले भने, ‘तमसुक फिर्ताका लागि हामीले सहजीकरण गरेका हौँ।’

अब मन्सुरले फिर्ता गरेका सबै तमसुक लिएर ऋणीहरु जिल्ला प्रशासन कार्यालय जाने र मन्सुरविरुद्ध दिएका उजुरी फिर्ता लिने समझदारी दुई पक्षबीच भएको छ। ‘सिडिओ कार्यालयमै अब हामीहरुबीचका सबै लिनुदिनु सकियो भनेर कागज गर्ने र तमसुक सबै नष्ट गर्ने समझदारी भएको छ,’ बुढाथोकीले भने।

नयाँ कानुन निर्माणसँगै आयोग नै गठन गरेर सरकार मिटरब्याजविरुद्ध कडा रुपमा प्रस्तुत हुन थालेपछि तराई-मधेशका धेरै मिटरब्याजीले तमसुक फिर्ता गर्न थालेका छन्। 

सर्लाहीका कुख्यात् सुदखोर श्याम परदेशीका दाजु नागेश्वरले पनि कतिपयलाई तमसुक फिर्ता गरेका छन्। कतिपय सुदखोरले ऋणीबाट अनुचित ढंगले असुलेको घरजग्गा पनि फिर्ता गरेका छन्।

पाँच वर्षअघि सर्लाहीबाटै पहिलोपटक संगठित रुपमा मिटरब्याजी पीडितले आन्दोलन सुरु गरेका थिए। त्यही आन्दोलननको दबाबमा सरकारले सर्लाहीका कुख्यात् सुदखोर श्याम परदेशी, सञ्जय रौनियार र रामबाबु यादवलाई पक्राउ गरेको थियो। 

पक्राउपछि कारागार चलान भएका यादव र रौनियार उच्च अदालतको आदेशले छुटिसकेका छन् भने परदेशी अहिले पनि गौर कारागारमै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .