ad ad

म्यागेजिन


यी हुन् परराष्ट्र सेवाका उम्दा महिला, नेपाली दूतावासका ‘मिसन हेड’

यी हुन् परराष्ट्र सेवाका उम्दा महिला, नेपाली दूतावासका ‘मिसन हेड’

बहराइनमा अरुणा घिसिङ, अस्ट्रियामा इला मैनाली, बेलायतमा रोशन खनाल र अस्ट्रेलियामा दुरपदा सापकोटाले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेका छन्


सन्तोष घिमिरे
कात्तिक १९, २०७८ शुक्रबार १६:३१, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा करिब एक साता बेलायत भ्रमणमा रहँदा लन्डनस्थित नेपाली दूतावास स्वाभाविक रुपमा सक्रिय रह्यो। दूतावासमा रहेका थोरै संख्याका कर्मचारी प्रधानमन्त्रीको बेलायत भ्रमण अघिदेखि व्यस्त थिए।

प्रधानमन्त्रीलाई लन्डन विमानस्थलमा स्वागत, दूतावासमा गरिएको स्वागत समारोह, ग्लास्गोमा भएको राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) र प्रधानमन्त्रीको बिदाइसम्म निकै दौडधुप गर्नेमध्ये एक थिइन् कार्यवाहक राजदूत रोशन खनाल। 

परराष्ट्र सेवाकी उपसचिव खनाललाई विदेशस्थित अन्य नेपाली दूतावासमा काम गरेको अनुभव पहिलेदेखि नै थियो। तैपनि उनले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेको यो नै पहिलो थियो।

प्रधानमन्त्री देउवाको भ्रमणको व्यवस्थापन कोप-२६ सम्मेलनको आयोजक मुलुक बेलायतसँगको समन्वयमा गर्ने जिम्मेवारी लन्डनस्थित दूतावासकै थियो। त्यसकारण पनि खनालले प्रधानमन्त्रीको भ्रमणमा संयोजनकारी भूमिका खेल्नुपर्ने भयो। 

कार्यवाहक राजदूत खनालले भ्रमण अवधिभर राम्रो भूमिका निर्वाह गरेको प्रधानमन्त्रीसँगै बिहीबार नेपाल फर्किएका परराष्ट्रका एक अधिकारीले बताए। 

‘प्रधानमन्त्री तहको भ्रमण ह्यान्डल गर्ने काम आफैँमा चुनौतीपूर्ण हो। तर उहाँले राम्रो भूमिका निर्वाह गरेको पायौँ,’ उनले भने। 

बेलायतका लागि रिक्त राजदूत पदमा नयाँ नियुक्तिका लागि ज्ञानचन्द्र आचार्यको नाम सिफारिस भए पनि उनी जान अझै केही महिना लाग्नेछ। त्यसअघि खनाल कार्यवाहक राजदूतको हैसियतमा रहनेछिन्। 

खनालजस्तै विदेशस्थित नेपाली दूतावासमा प्रमुख जिम्मेवारी वहन गरिरहेका परराष्ट्र सेवाका महिला कर्मचारी अरु पनि छन्। उदाहरणका लागि युरोपेली मुलुक अस्ट्रियाको भियनास्थित नेपाली दूतावासमा इला मैनाली। 

तत्कालीन राजदूत प्रकाशकुमार सुवेदी फर्केपछि कार्यवाहक राजदूतको जिम्मेवारीमा छिन् मैनाली। त्यहाँका नेपाली दूतावासका अधिकारी नेपाल र अस्ट्रियाबीचका द्विपक्षीय मामिलाभन्दा बढी भियनास्थित राष्ट्रसंघीय एजेन्सीसँगको अन्र्तक्रियामा व्यस्त हुन्छन्। किनकि, अस्ट्रियासँगको नेपालको द्विपक्षीय सम्बन्धको आयतन निकै सानो छ।

मैनाली राष्ट्रसंघीय एजेन्सीले डाक्ने द्विपक्षीय तथा बहुपक्षीय बैठकहरुमा सहभागी भइरहेकी हुन्छिन्। त्यस्ता बैठकमा सहभागी भएर नेपालका तर्फबाट धारणा राख्नु उनका लागि चुनौती र अवसर दुवै हुन्। दुई वर्षअघि मात्र उपसचिवमा बढुवा भएकी उनले त्यहाँ कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिरहेकी छिन्। 

यतिबेला कार्यवाहक राजदूतको हैसियतमा रहेकी परराष्ट्रकी अर्की उपसचिव हुन् दुरपदा सापकोटा। उनी अस्ट्रेलियास्थित नेपाली कार्यवाहक राजदूत छिन्। उनी अस्ट्रेलिया पोस्टिङ्मा गएपछि दुई जना राजदूत- पहिले लक्की शेर्पा र पछि महेश दाहाललाई सरकारले फिर्ता बोलाएकाले स्वदेश फर्के। 

बहराइनस्थित नेपाली दूतावासमा अहिले अधिकृत अरुणा घिसिङ कार्यवाहक राजदूत छिन्। तत्कालीन राजदूत पदम सुन्दास कार्यकाल सकेर फर्केपछि घिसिङ कार्यवाहक राजदूतको जिम्मेवारीमा छिन्। बहराइन र नेपालबीच द्विपक्षीय सहकार्य कम भए पनि उक्त मुलुक नेपाली श्रमिकहरुको रोजगार गन्तव्य हो।

शिवानी बस्नेत

२०६७ देखि महिला सहभागिता बढ्यो 
खनाल, मैनाली, सापकोटा र घिसिङ परराष्ट्र सेवाका केही महिला अनुहार हुन्, जो यतिबेला विदेशस्थित नेपाली दूतावासमा बसेर ‘मिसन हेड’ को रुपमा काम गरिरहेका छन्। उनीहरुलाई विदेशमा रहेर नेपालको प्रतिनिधित्व गर्ने अवसर छ। 

पछिल्लो समयमा परराष्ट्र सेवामा महिलाहरुको आकर्षण बढेको देखिन्छ। एकातिर कूटनीतिज्ञको हैसियतमा नेपालको प्रतिनिधित्व गर्दै स्वदेश, विदेशमा हुने महत्वपूर्ण द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय वार्तामा भाग लिन पाइने, अर्कोतिर विदेशस्थित नियोगमा पोस्टिङ भए नेपालका अन्य सरकारी सेवामाभन्दा आकर्षक तलब, सुविधा पाइने हुँदा परराष्ट्र सेवा आफैँमा आकर्षणको केन्द्र बन्दै आएको छ। 

परराष्ट्रमा प्रवेश पाउन अंग्रेजी भाषा राम्रो लेख्न र बोल्न तथा अन्तर्राष्ट्रिय मामिलाबारे जानकारी हुन आवश्यक छ।  

विगत एक दशकयता परराष्ट्र सेवामा महिला सहभागिता वर्षेनि बढ्दो छ। कुनै समय पुुरुष कर्मचारीको एकल वर्चस्व रहने गरेको परराष्ट्र सेवामा हाल कुल २९५ कूटनीतिक कर्मचारीमध्ये करिब २१ प्रतिशत महिला छन्। हाल एक सहसचिव, १० उपसचिव, दुई दर्जन अधिकृत र दुई दर्जन नायब सुब्बा तहका कर्मचारी महिला छन्। 

परराष्ट्र सेवामा महिलाको उल्लेख्य सहभागिता चाहिँ २०६७ देखि सुरु भयो। त्यस वर्ष परराष्ट्र सेवामा १४ महिला अधिकृत एकसाथ प्रवेश गरेका थिए। 

२०६७ मा अधिकृतका रुपमा सेवा प्रवेश गरेमध्येकी एक हुन शिवानी बस्नेत। हाल उपसचिव रहेकी उनी परराष्ट्रमन्त्रीको सचिवालयमा छिन्। 

११ वर्षअघि सेवा प्रवेश गरेकी बस्नेत भन्छिन् ‘सुरुका केही वर्ष निकै संघर्षपूर्ण रहे। तर विस्तारै सिक्दै बुझ्दै जाँदा सहज भयो। आज यस सेवामा आबद्ध हुन पाउँदा गर्व महसुस हुन्छ।’ 

उनले आफूले परराष्ट्रमा महिला र पुरुषलाई हेर्ने दृष्टि र गर्ने व्यवहार समान पाइको बताइन्। उपसचिव तहकी कर्मचारी बस्नेत सेवालाई जागिर भन्दा पनि जनताप्रतिको सेवाका रुपमा आफूले लिएको बताउँछिन्। 

२०६४ मा निजामती सेवामा ४५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको तीन वर्षपछि एकैचोटि दर्जनभन्दा बढी महिला अधिकृतको परराष्ट्र सेवामा भएको प्रवेशलाई उक्त सेवाभित्र समावेशीकरण कार्यान्वयनको महत्वपूर्ण घटनाका रुपमा लिइयो। किनकि पञ्चायत र त्यसपछि बहुदलीय कालमा पनि परराष्ट्र सेवामा महिलाको सहभागिता नगण्य थियो। 

छोरा अनिलसँग नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाह

विन्देश्वरी शाह पहिलो महिला राजदूत 
विन्देश्वरी शाह नेपालकी पहिलो महिला राजदूत हुन्। उनी परराष्ट्र सेवाबाट राजदूत बन्ने पनि पहिलो महिला हुन्। उनलाई पञ्चायतकालीन सरकारले २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो। तर पञ्चायत गएर बहुदलीय व्यवस्था स्थापना भएपछिको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले कार्यकाल पुरा नहुँदै उनलाई फिर्ता डाकेको थियो। 

कोइराला सरकारले ३० वर्ष सेवा गरेका कर्मचारीलाई हटाउने नीति ल्याएसँगै उनी सरकारी सेवाबाट विदा भएकी थिइन्। शाह वि.सं २०१६ सालमा खुल्ला प्रतिस्पर्धाबाट शाखा अधिकृतका रुपमा परराष्ट्र मन्त्रालय प्रवेश गरेकी थिइन्। 

अम्बिका लुईंटेल

दोस्रो महिला राजदूत नियुक्त हुन लाग्यो २७ वर्ष
बिन्देश्वरी शाहपछि परराष्ट्र सेवाबाट राजदूत बन्ने मौका पाइन् अम्बिका लुईंटेलले। वि.सं २०७१ मा फ्रान्सका लागि उनी राजदूत नियुक्त भइन्। वि.सं २०४३ सालमा अधिकृतका रुपमा प्रवेश गरेकी उनी उपसचिव, सहसचिव हुँदै राजदूत नियुक्त भइन्।  

समग्र सरकारी सेवामै महिलाको न्यून सहभागिता रहेका बेला तत्कालीन राजसंस्थाको प्रत्यक्ष नियन्त्रण र निर्देशन रहने गरेको परराष्ट्र सेवामा त महिला सहभागिता कम हुने नै भयो।

२०६३ को राजनीतिक परिवर्तनपछि परराष्ट्र सेवामा प्रवेश गर्नेको संख्या पनि बढेको छ। त्यसयता सरकारले विदेशमा नेपालका कूटनीतिक नियोगको संख्या बढाउँदै लगेको छ भने परराष्ट्र मन्त्रालयमा पनि कर्मचारी दरबन्दी बढिरहेको देखिन्छ। जसले गर्दा कर्मचारी संख्या पहिलेभन्दा बढ्न गएको छ। 

सेवा लम्साल

परराष्ट्रमा पहिलोपटक प्रवक्ता र सहप्रवक्ता दुवै महिला 
परराष्ट्र मन्त्रालयमा अहिले प्रवक्ता र सहप्रवक्ता दुवै महिला छन्। परराष्ट्र मन्त्रालयको इतिहासमै यी दुवै पदमा महिला पुगेको पहिलो पटक हो। वरिष्ठ सहसचिव सेवा लम्साल प्रवक्ता छिन्। उनी मन्त्रालयको संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख हुन्। उनी पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी पुरा गरी एक वर्षअघि स्वदेश फर्किएकी हुन्। 

लम्साल हालका परराष्ट्र सचिव भरतराज पौडेलपछि सचिव बन्नेछिन्। २०५५ सालमा सामान्य प्रशासन सेवामा प्रवेश गरेकी लम्साल २०६७ मा परराष्ट्र सेवामा उपसचिवका रुपमा प्रवेश गरेकी थिइन्।

मन्त्रालयकी सूचना अधिकारी तथा सह-प्रवक्ता छिन् रिता धिताल। उनले यसअघि सार्क सचिवालयमा निर्देशकका रुपमा काम गरिसकेकी छिन्। धिताल मन्त्रालयको संयुक्त राष्ट्रसंघ महाशाखाका उपसचिव हुन्। 

महिलामैत्री भए पनि समस्यारहित छैन परराष्ट्र
प्रवक्ता लम्साल मन्त्रालय महिलामैत्री रहेको बताउँछिन्। 

‘हामी समावेशीकरणको अभ्यास गर्दै अघि बढिरहेका छौँ। परराष्ट्र सेवामा पनि महिला सहभागिता एक दशकयता बढ्दो छ। महिलाका लागि यहाँ मैत्रीपूर्ण वातावरण नै पाएकी छु,’ उनले नेपालखबरसँग भनिन्। 

यद्यपि मन्त्रालयमै कार्यरत एक अधिकृत यदाकदा पुरुष कर्मचारीबाट महिला कर्मचारीले हेपिनुपरेको अनुभव सुनाउँछिन्। 

‘पुरुष कर्मचारीलाई जत्तिकै महिलालाई विश्वास नगरिएका उदाहरण पनि छन्। यसरी हेर्दा कहिलेकाहीँ हामी हेपिएको फिल पनि हुन्छ,’ उनले भनिन्। 

परिवारको सहयोग नहुँदा परराष्ट्रका महिला कर्मचारीलाई पनि बेलाबखत समस्या आउने गरेका छन्। तर यो आम महिला कर्मचारीको समस्या हो। 

महिला अधिकारकर्मी वन्दना राणा परराष्ट्र सेवामा महिला सहभागिता बढ्नु सुखद् रहेको बताउँछिन्। महिलाविरुद्ध सबै किसिमका विभेद हटाउनेसम्बन्धी महासन्धि (सिड)को संयुक्त राष्ट्रसंघीय समितिमा नेपालको तर्फबाट विज्ञ रहेकी राणा परराष्ट्र सेवाका महिलाको कार्यसम्पादनबाट आफू प्रभावित भएको बताउँछिन्।

‘परराष्ट्रमा महिलाको सहभागिता संख्यात्मक र गुणात्मक दुवै हिसाबले अत्यन्त उत्साहजनक छ,’ उनले भनिन्, ‘महिला ह्वारह्वार परराष्ट्रमा आए अब रंगिविरंगी भयो भन्ने हिसाबले बुझिदिने मानसिकता पनि छ। त्यसलाई त्याग्नु आवश्यक छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .