ad ad

म्यागेजिन


आङ सान सुचीको राजनीतिक ‘अबिच्युरी’ : उनीपछि के होला?

आङ सान सुचीको राजनीतिक ‘अबिच्युरी’ : उनीपछि के होला?

तिमोथी म्याक्लघ्लिन
मंसिर २२, २०७८ बुधबार २२:४३, काठमाडौँ

आङ सान सुची सांसद बनेपछि पहिलो पटक विशाल संसद् भवनको सिँढी उक्लिरहेकी थिइन्। म्यानमार टाइम्सका सहकर्मीहरुसँगै झुरुप्प बसेर म समाचार कक्षको भित्तामा टाँसिएको टेलिभिजनमा त्यो दृश्य हेरिरहेको थिएँ।  

जुलाई २०१२ को कुरा थियो त्यो। १७ दिन लामो युरोप भ्रमणका कारण सुचीको आगमन केही ढिला भएको थियो। सो भ्रमणमा उनले अक्सफोर्ड विश्वविद्यालयबाट मानार्थ पीएचडीको उपाधि लिएकी थिइन्। २१ वर्षअघि घरमै नजरबन्द हुँदा जितेको नोबेल शान्ति पुरस्कार ग्रहण गरेकी थिइन्। सैनिक शासनको विरोध गर्नेहरुको अगुवा थिइन् उनी। तर, सो भ्रमणमा सुचीले आफूलाई थुन्ने सेनाप्रति मेलमिलापपूर्ण धारणा व्यक्त गरिन्। जसका कारण केही मानिस चकित परे।

‘एक हिसाबले भन्ने हो भने उनीहरुले मलाई केही गरे भन्ने लाग्दैन,’ आफूलाई कैद गरेकोमा उनले सेनालाई माफी दिन्छिन् त भन्ने प्रश्नमा सुचीको जवाफ थियो। त्यतिबेला उनको टिप्पणीलाई नजरअन्दाज नगरिएको भए म्यानमारलाई दशकौँसम्म कष्टमा राख्ने सेनालाई सुची कसरी हेर्थिन्, उनको त्यही टिप्पणीले संकेत गर्ने थियो। 

म्यानमार ६० वर्ष लामो प्रत्यक्ष सैनिक शासनबाट मुक्त हुँदै थियो। यस्तोमा करिब साढे ५ करोड जनसंख्या भएको मुलुकलाई मन्त्रमुग्ध तुल्याउने घटनाहरुकै एउटा कडी थियो संसदमा सुचीको प्रवेश। त्यसअघि वसन्त ऋतुमा सुची सीमापारि थाइल्यान्डको भ्रमणमा गएकी थिइन्। २४ वर्षपछि पहिलो पटक उनी देशबाहिर निस्केकी थिइन्। संसदमा प्रवेश गरेको केही सातापछि हाम्रो पुरानो सामाचार कक्षको काम एक पटक फेरि रोकियो। सबैका आँखा टेलिभिजनतर्फ सोझिए। सुची आफ्नो सिटबाट उठिन् र सदनमा पहिलो भाषण दिइन्। पतझडमा हामी त्यसैगरी टेलिभिजनमा झुम्मियौँ। यसपटक अमेरिकी राष्ट्रपति बाराक ओबामाको मोटरकेड म्यानमारको सबैभन्दा ठूलो सहर यांगुनको सडकमा हुइँकिरहेको थियो। म्यानमार भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति थिए ओबामा। द म्यानमार टाइम्सको पहिलो पृष्ठमा लेखिएको शीषर्क थियो– ‘ओ–बर्मा।’

विपक्षी नेता होइन, निर्वाचित राजनीतिकर्मीका रुपमा सुचीको यो दोस्रो पारी लामो समय टिकेन। त्यसपछिको सात वर्षमा उनी म्यानमारको वास्तविक नेताका रुपमा उदाइन्। तर, त्यसपछि उनको अन्तर्राष्ट्रिय प्रतिष्ठा गिर्न थाल्यो। उनको छवि विश्वभर सम्मानित लोकतान्त्रिक योद्धाबाट बदलिएर जघन्य अपराध गर्ने सेनाको रक्षकका रुपमा कायम भयो। गत फेब्रुअरीमा सेनाले फेरि कू गरेर सत्ता हातमा लियो। र, सुचीलाई पुनः कैद गर्यो। तर, त्यसपछि सुरु भएको सैन्य जुन्ताविरोधी लोकतन्त्र समर्थक आन्दोलन १० महिनाको दमनले अझ कठोर बनेको छ। र, त्यो आन्दोलन अहिले सुची र उनको पार्टीभन्दा धेरै परसम्म फैलिइसकेको छ।

हिजो, एक बन्द सुनुवाइमा सुचीलाई सार्वजनिक शान्ति भंग गरेको र महामारीको नियम तोडेको आरोपमा दोषी घोषित गरियो। उनलाई चार वर्ष थुनामा राख्न आदेश दिइएको थियो। तर, त्यसको केही घण्टापछि नै उनको सजाय घटाइयो। सरकारी सञ्चारमाध्यमका अनुसार उनको सजाय दुई वर्ष कटौती गरिएको छ। उदार चरित्रको देखिन म्यानमारका सैन्य शासकहरुले यस्तो तरिका बेलाबखत अपनाउने गरेका छन्। तैपनि सुचीले निकै लामो सजाय पाउने सम्भावना ज्यादा छ। किनभने कूपछि उनीमाथि लगाइएका एक दर्जन आरोपमध्ये केहीमा मात्र सुनुवाइ भएको छ। उनीविरुद्धका सबै आरोपको अधिकतम सजाय जोड्दै जाने हो भने सय वर्ष नाघ्न पुग्छ।

 

सुचीलाई सहजै राजनीतिबाट बाहिर धकेल्न सफल हुँदा जर्नेलहरुले बदलाको तुष्टि प्राप्त गर्न सक्छन्। तर, यसले जुन्ताविरोधी प्रतिरोधलाई रोक्न सक्ने छैन। सुरुमा आन्दोलनले सुचीको मुक्ति र चुनावको नतिजा बहाल गर्न आह्वान गरेको थियो, जुन चुनावमा सुचीको पार्टी एनएलडीले बहुमत हासिल गरेको थियो। तर, अहिले यो आन्दोलन त्यो मागभन्दा निकै अघि बढिसकेको छ। एनएलडीलाई कमजोर बनाएर सुचीलाई थुन्दैमा आन्दोलन रोकिन्छ भन्ने सेनाले सोचेको हो भने ऊ जनताको आक्रोशलाई पहिचान गर्न असफल भएको छ। किनभने, यो प्रतिरोध सुचीको पक्षमा भन्दा बढी जुन्ताको विरोधमा हो।

‘कूलगत्तै म्यानमारका धेरैले संस्थागत रुपमा सोचे र सैन्य हस्तक्षेपको विरोध गरे,’ यांगुनस्थित तम्पादिया इन्स्टिच्युटका निर्देशक किन ज विनले भने, ‘विशाल प्रदर्शनमा लगभग उत्सवजस्तो माहौल थियो। तर, गोली ठोकेर मान्छे मार्न थालेपछि अवस्था बदलियो। विश्वले के बुझ्न जरुरी छ भने आङ सान सुची वा एनएलडीका लागि जनता जुन्तासँग लडेका होइनन्। सुची नभए विपक्षीको पतन हुन्छ भन्ठान्नु निकै ठूलो र खतरनाक भ्रम हो।’

म्यानमारका उपनिवेशविरोधी स्वतन्त्रता आन्दोलनका नायक आङ सानकी छोरी सुची आफ्नी बिरामी आमाको हेरचाहका लागि सन् १९८८ मा बेलायतबाट स्वदेश फर्किइन्। संयोगवश, उनी आएसँगै देशव्यापी आन्दोलनको लहर सुरु भयो। सुची पनि आन्दोलनमा सहभागी भइन्। र, व्यक्तिगत चमत्कार अनि पारिवारिक विरासतको मेलका कारण उनले चाँडै पूज्य हैसियत प्राप्त गरिन्। तर, उनले यसको मूल्य तिर्नुपर्यो। विपक्षी नेता भएकाले उनलाई तालको किनारमा अवस्थित आफ्नै घरमा १५ वर्षसम्म थुनियो। अन्ततः २०१० उनी मुक्त भइन्। दुई वर्षपछि उनी संसदमा निर्वाचित भइन्। सीमित भए पनि राजनीतिक र आर्थिक उदारीकरणको पृष्ठभूमिमा उनी उपल्लो पदमा पुगिन्। 

म्यानमारको बैंकिङ प्रणाली र दुरसञ्चार क्षेत्र दुवै एकदमै थोत्रा थिए। सरकारी नियन्त्रणमा रहेका यी क्षेत्रमा सुधार थालियो। सैनिक शासनमा भूमिगत रुपमा सञ्चालित हुन बाध्य नागरिक समाज र श्रमिक युनियनहरु सार्वजनिक हुन थाले। प्रेसमाथि लगाइएका थुप्रै लगाम फुकुवा भए। यी परिवर्तनले विदेशमा भएकाहरु स्वदेश फर्किने लहर चल्यो, जो मातृभूमिका लागि योगदान गर्न इच्छुक थिए।

नाथन माउङ विद्यार्थी कार्यकर्ता थिए। १९९० को दशकको अन्त्यतिर देश छाडेर भागेका उनी अनलाइन समाचार आउटलेट खोल्न स्वदेश फर्किए। ‘२०१२ मा बर्मा फर्किंदा यो देश बदलिइरहेको थियो,’ उनले भने, ‘म भविष्यप्रति निकै उत्साहित थिएँ।’

यो खुलापनले विदेशीहरुलाई पनि आकर्षित गर्यो। रंगीविरंगी समूहमा परोपकारी, बाहिरबाट आएर चुनाव जित्न चाहनेहरु र सस्ता पर्यटक पनि भित्रिए। विकास र सहयोग विज्ञहरु पनि आए, जो दशकौँदेखि चुपचाप थाइ–म्यानमार सीमामा बसेर काम गरिरहेका थिए। र, कसैले वास्ता नगरेको यो मुलुकबारे अध्ययन गरिरहेका प्राज्ञिक व्यक्तिहरु पनि आए। केही व्यवसायीहरु देश विकासमा सघाउनकै लागि भनेर आए भने अरु थुप्रै अचानक हुन लागेको आर्थिक विकासबाट फाइदा उठाउन आए। बेलारुसको एउटा भिडिओ गेम कम्पनीले दोस्रो विश्वयुद्धमा हराएको विमान उत्खनन् गर्ने कार्यमा आर्थिक सहयोग गर्यो। जुन असफलतामा टुंगियो, किनभने सम्भवतः त्यस्तो विमान त्यहाँ छँदै थिएन। 

यांगुनको उत्साहवद्र्धक हल्लाखल्लाले मुलुकका अन्य भागमा भइरहेका घटनाहरु छोपिए। सेना र एउटा ठूलो सशस्त्र जातीय समूह कचिन इन्डिपेन्डेन्स आर्मीबीचको १७ वर्ष लामो युद्धविराम २०११ मा भंग भयो। एक वर्षपछि देशको पश्चिमी सीमामा हिंसा भड्कियो। फलस्वरुप मुस्लिम रोहिंग्या अल्पसंख्यक समुदायका सदस्यहरुलाई फोहोर शिविरहरुमा कैद गरियो, जहाँ अझै पनि उनीहरु बसिरहेका छन्। २०१३ मा अनेक सहरमा मुस्लिमविरोधी हिंसात्मक दंगा भए। प्राविधिक रुपले सांसद मात्र भए पनि सुचीसँग बेजोड नैतिक शक्ति थियो। तर, उनले त्यो शक्तिलाई हिंसाको विरोधमा विरलै उपयोग गरिन्।

२०१५ को आम निर्वाचनअघि एनएलडीमा प्रवेश गर्न चाहने एक प्रमुख एक्टिभिस्ट समूहका सदस्यहरुलाई सो पार्टीले बेवास्ता गर्यो। जातिवादी अन्धराष्ट्रवादीहरु रिसाउने डरले सुचीको पार्टीले चुनावमा एक जना पनि मुस्लिम उम्मेदवार उठाएन। यस्ता विवादले सुचीको लोकप्रियतामा कुनै असर पारेन। जित हासिल गर्दै एनएलडी सत्तामा पुग्यो। दिवंगत पति र दुई छोरा विदेशी नागरिक भएकाले सुचीलाई राष्ट्रपति बन्न संविधानले छेक्यो। तर, पार्टीसत्तामा बलियो पकड भएका कारण सुचीले स्टेट काउन्सिलर नामक पद सिर्जना गरिन् र मुलुकको सर्वोच्च नागरिक पदमा आफू विराजमान भइन्। 

सुचीको उग्र स्वभावका कारण जातीय समूहहरु, प्रगतिशील र केही सञ्चारमाध्यमले असन्तुष्टि जनाए। सुची अरुबाट बिनाकुनै प्रश्न वफादारी माग गर्थिन् भने आलोचनालाई तुरुन्तै खारेज गर्थिन्। तर, लामो समयदेखि उनलाई समर्थन गर्दै आएका विदेशी सरकारहरुले भने म्यानमारको एक मात्र आशाको किरण सुची नै हुन् भन्ने विश्वास गरिरहे। जबकि उनका बोली र व्यवहार, खासगरी रोहिंग्याहरुको सवालमा, लाई समर्थन गर्न नसकिने भइसकेको थियो। 

२०१९ मा सुचीको अन्तर्राष्ट्रिय भर्त्सना शिखरमा पुग्यो, जुन बेला उनी रोहिंग्याहरुको नरंसहारको आरोप लागेको सेनाको बचाउ गर्न हेग पुगेकी थिइन्। विश्वभरका सहयोगीहरुले साथ छाडे पनि म्यानमारका थुप्रैले सुचीलाई सहानुभूतिपूर्वक हेर्ने गर्थे। म्यानमारको राजनीतिक प्रणाली नबुझी पश्चिमाहरुले उनीमाथि आक्रमण गरेको भन्दै तिनले सुचीको बचाउ गरे। तर, थप राजनीतिक परिवर्तनलाई सहज बनाउने उदेश्यले नै सुची सेनाको साथमा उभिन खोजेकी थिइन् भने पनि त्यो व्यर्थ साबित भयो। 

नोभेम्बर २०२० मा एनएलडीले फेरि भारी बहुमतसहित चुनाव जित्यो। तर, नयाँ संसद् अधिवेशन सुरु हुने मिति नजिकिँदै गर्दा सेना र सुचीबीच तनाव चुलिएको हल्ला चल्न थाल्यो। उसो त म्यानमारमा हल्लाको अभाव कहिल्यै हुँदैनथ्यो। ‘लोकतन्त्रतर्फको संक्रमण’ बाट जेजति बाँकी थियो, त्यो फेब्रुअरी १ को सबेरै सेनाप्रमुख मिन आङ लाङले सत्ता कब्जा गरेपछि नामेट भयो। ‘सेनाको जरा गाडिएको शक्ति, तिनको पैसा, तिनको दण्डहीनता र तिनको हतियारलाई चुनौती नदिन सुचीले निकै ठूलो उर्जा खर्च गरिन्। यहाँसम्म कि तिनको मानवताविरुद्धको अपराधलाई समेत क्षमा दिइन्,’ म्यानमारको मानवअधिकारबारे अध्ययन गर्ने डेविड म्याथिसन भन्छन्। अन्ततः सेनाले ठान्यो– सत्ताको बागडोर अरु कसैको हातमा छ भन्ने स्वाङ गरिरहन अब जरुरी छैन।

कूपछिको सुरुवाती प्रदर्शनका क्रममा सबै आशावादी थिए। किनभने ठूला सहरमा मात्र होइन, साना सहर र गाउँमा समेत विशाल संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी भए। सुरुमा सेनाले पनि संयम देखायो। तर, त्यसपछि भने दशकौँदेखि आफ्नो पहिचानका रुपमा रहेको चरम हिंसात्मक स्वरुप उसले देखायो। प्रदर्शनकारीमाथि गोली चलाउने, घर जलाउने, गिरफ्तार व्यक्तिलाई यातना दिने कृत्य गर्यो। सुरक्षाकर्मीले १३ सयभन्दा बढी व्यक्तिलाई मारिसकेका छन्। जुन्ताले महामारीको व्यवस्थापन गर्न सकेन, कूका कारण सुरु भएको अर्थतन्त्रको अधोगतिलाई पनि रोक्न सकेन। सेनाको दमनले नाटकीय रुपमा मानिसहरुको मुड परिवर्तन गर्यो र जुन्ताको विरोध गर्ने शैलीमा बदलाव आयो।

सेनाको बर्बरताले थुप्रै प्रदर्शनकारी कट्टर बनेका छन्। सेनाका पूर्वकप्तान त्हेत म्यात जुन महिनामा जागिर छाडेर भागे। उनले मलाई भने, ‘हाम्रो क्रान्ति बदलिएको छैन। बरु यसले आफ्नो उदेश्य विस्तार गरेको छ।’ थुप्रै मिलिसिया हालै गठन भएका छन्। कूपछि गठन भएका अनेक छाया सरकारले ती मिलिसियालाई सघाएका छन्। र, तिनले मुलुकभर गुरिल्ला युद्ध सञ्चालन गरिरहेका छन्। सुचीले लामो समयदेखि पढाउँदै आएको अहिंसाको मन्त्रलाई तिनले त्यागिसकेका छन्।

एक १९ वर्षीय पूर्वविद्यार्थी विश्वविद्यालय छाडेर एउटा यस्तै ‘जनसुरक्षा बल’ मा सामेल भएका छन्। सेनासँग मिलेर काम गर्ने सुचीको प्रयासप्रति आफ्नो मोहभंग भएको उनले बताए। उनले भने, ‘हाम्रो समूह त्यस्तो राजनीतिक मञ्चका लागि लडिरहेको छ, जहाँ अब सुचीका लागि कुनै ठाउँ छैन। हामी साँच्चैको संघीय मुलुक बनाउन खोजिरहेका छौँ।’

हालसम्म एनएलडी सुचीको पूर्ण नियन्त्रणमा रहँदै आएको छ। पार्टीको सबै निर्णय उनकै मातहत भएका छन्। उनको वरिपरि बुढाखाडाहरुको एउटा सानो घेरा थियो। तर, ती पनि अहिले या त उमेरका कारण या जुन्ताले निसाना बनाएपछि छेउ लागेका छन्। ‘एनएलडीको टाउको छिनिसकेको छ,’ वासिङ्टनस्थिति विल्सन सेन्टरका अध्येता य म्यो हिन भन्छन्। जुन्ताले बाचा गरेबमोजिम चुनाव भए एनएलडी अझै लोकप्रिय पार्टी बन्ने उनको भनाइ छ। तर, अब सो पार्टीले युवाहरुको नेतृत्वमा नयाँ आकार लिने उनले बताए।

पत्रकार नाथन माउङ मार्चमा गिरफ्तार भए। सैनिकहरुले आफूलाई यातना दिएको उनले बताए। ९८ दिन थुनामा राखेर उनलाई अमेरिका डिपोर्ट गरियो। जहाँका उनी नागरिक हुन्। ‘यो निकै रोचक क्षण हो,’ उनले भने। सुचीलाई मुक्त गरिए पनि हतियार उठाएका विपक्षी नेताहरुलाई सेनाले रोक्न नसक्ने माउङको भनाइ छ। अन्ततः मिलिसियाले सेनालाई हराइछाड्नेमा माउङ विश्वस्त छन्। यद्यपि अरु थुप्रैले मुलुक दीर्घकालीन हिंसाको चपेटामा पर्नसक्ने चेतावनी दिए।

‘विगतमा सबै जना सोध्ने गर्थे– आङ सान सुचीपछि के होला?’ उनले भने, ‘त्यसको जवाफ हामीसँग थिएन। तर, अहिले हामीसँग जवाफ छ।’

(दि एटलान्टिकबाट)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .