ad ad

म्यागेजिन


मुगुको ऊनलाई विश्वबजारमा ब्रान्डिङ गरिरहेका दीपबहादुर

मुगुको ऊनलाई विश्वबजारमा ब्रान्डिङ गरिरहेका दीपबहादुर

गोर्खा ट्विडका सञ्चालक दीपबहादुर शाही (तस्बिर : विजय सिंह)


वसन्त अर्याल
पुस १९, २०७८ सोमबार ९:५, काठमाडौँ

सन् २०१८ मा काठमाडौँको भृकुटीमण्डपमा घरेलु उद्योग मेला चलिरहेको थियो। नेपाली व्यवसायीहरुले आआफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए। 

त्यही भीडमा जुम्लाका एक व्यवसायी आकर्षक ऊनका कपडा बिक्री गर्दै थिए। काठमाडौंमै ऊनको व्यवसाय गर्दै आएका दीपबहादुर शाहीका आँखामा उनी परिहाले। 

शाहीले सोधे, ‘कहाँको ऊन हो?’

‘मुगुको’, ती व्यवसायीले जवाफ दिए। तर शाहीले पत्याएनन्। 

‘यस्तो राम्रो ऊन मुगुको हुनै सक्दैन’, शाहीले जिकिर गरे। 

‘कपडा बुन्ने तान तिब्बतको भए पनि ऊन मुगुकै हो’, ती व्यवसायीले शाहीलाई विश्वस्त हुन आग्रह गरे।  

स्कटल्यान्डबाट ट्विड (ऊन) ल्याएर ऊनका उत्पादन गर्दै विदेश निर्यातको तयारी गरिरहेका गोर्खा ट्विडका सञ्चालक शाहीले नेपालमा यस्तो ऊन नै देखेका थिएनन्। 

जुम्लाका ती व्यवसायीले आश्वस्त पारेपछि शाहीले मुगुको ऊन आफूलाई दिन भने। तर ती व्यवसायीले फेरि शाहीलाई विश्वासै गरेनन्। 

त्यसपछि ती व्यवसायीले घरेलु उद्योग मेलामा ल्याएको करिब ३ लाखको कपडा शाहीले सबै किनिदिए। 

‘त्यो ऊन हेरेपछि स्कटल्यान्डभन्दा मुगुकै गुणस्तर राम्रो लाग्यो’, शाही भन्छन्, ‘त्यसैले अहिले विदेशी ऊन प्रतिकिलो १ हजार रुपैयाँमै पाउँदा मुगुको ऊन किलोको २२ सय रुपैयाँमा खरिद गर्छु।’

मुगुको ऊन आएसँगै शाहीले विभिन्न कपडाका नमूना बनाएर हेरे। ७० प्रतिशत मुगुको ऊन र ३० प्रतिशत स्कटल्यान्डको ऊन तथा ३० प्रतिशत मुगुको ऊन र ७० प्रतिशत स्कटल्यान्डको मिक्स गरे। नतिजास्वरुप मुगुको ऊन बढी प्रयोग भएको कपडा राम्रो बने।  

‘अहिले ९० प्रतिशत कच्चापदार्थ नेपालकै प्रयोग गर्न थालेको छु’, शाही भन्छन्, ‘गुणस्तरीय कपडा बनाउन स्कटल्यान्डको ऊन ल्याउन छाडेँ।’

‘मुगुबाहेक राम्रो ऊन अन्त उत्पादन हुँदैन’
शाहीले करिब पाँच बर्षअघि विदेश निर्यात गर्ने उद्देश्यले नै गोर्खा ट्विड कम्पनी स्थापना गरेका थिए। उनले ट्विड उत्पादन थाल्दा स्कटल्यान्डमा बन्ने विश्वमै चर्चित ह्यारिस ट्विडसँग प्रतिस्पर्धा गर्ने सोच बनाए। 

‘साधारण स्याम्पल (नमूना) बनाउन तिब्बतको ऊन प्रयोग गरेँ। नेपालमा ह्यारिस ट्विड बिक्री गर्नेलाई आफ्नो कपडा देखाउँदा राम्रो भएको प्रतिक्रिया दिए’, शाही भन्छन्, ‘ह्यारिस ट्विडमै प्रयोग भएको ऊन ल्याउन कोशिस गरेँ। नेपालमा रुस, तिब्बतको ऊन आए पनि स्कटल्यान्डको ऊन आएको थिएन।’

शाहीले एक व्यवसायीसँग मिलेर ५ हजार किलो ऊन स्कटल्यान्डबाटै मगाएका थिए। मुगुको ऊन पाएसँगै स्कटल्यान्डबाट ल्याउन छाडे। तर मुगुमा थोरै मात्र ऊन उत्पादन हुँदा समस्या भएको बताउँछन् उनी।  

‘ठूलो मात्रामा निर्यात थाल्दा मुगुको ऊनले पुग्दैन’, शाही भन्छन्, ‘त्यसको लागि स्कटल्यान्ड र अस्ट्रेलियाबाट ल्याउनैपर्छ।’

अहिले शाही मुगुको जस्तै ऊन उत्पादन नेपालकै अरु ठाउँमा पनि गर्न पहल गरिरहेको बताउँछन्। 

तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाललाई समेत भेटेर शाहीले मुगुका जस्तै भेडा व्यावसायिक रुपमा पाल्न पहल गरिदिन आग्रह गरेका थिए। मन्त्री भुसालले कुरा सुने पनि अहिलेसम्म व्यावसायिक रुपमा भेडा पाल्न सुरु गरेको थाहा नपाएको उनको भनाइ छ।

‘मैले भेडाको १ लाख किलो ऊन खरिद गर्छु भन्ने विश्वस्त बनाउँदा पनि व्यावसायिक रुपमा भेडा पाल्न सुरु भएन’, शाही भन्छन्, ‘भेडा पलेँ भनेर मात्रै हुँदैन। ऊन राम्रो हुने भेडा पाल्नुपर्छ मुगुका जस्तै।’

पूर्वदेखि पश्चिमसम्मका ठाउँमा भेडापालन भए पनि राम्रो ऊन उत्पादन नभएको शाहीको गुनासो छ।  

‘नेपालमै उन्नत खालको भेडापालन सुरु भए शतप्रतिशत नेपाली कच्चा पदार्थ प्रयोग गर्न सकिन्छ’, उनले भने। 

मुगुको ऊनका एउटै कोटको मूल्य २६ हजार
गोर्खा ट्विडको सबैभन्दा बढी बिक्री हुने कोट नै हो। ऊनको सुट नै बनाउन मिल्ने भए पनि धेरैले कोट मात्रै प्रयोग गर्छन्। 

गोर्खा ट्विडले नेपालमा २ तहको ट्विड बिक्री गरिरहेको छ। फेल्ट (माडेको) र ननफेल्ट (नमाडेको) ट्विडको मूल्यमा १ मिटरमा हजार रुपैयाँ फरक पर्ने शाही बताउँछन्। 

गोर्खा ट्विडले ६० हजार रुपैयाँको कोट समेत बनाएको थियो। अहिले फेल्टकोट २६ हजार रुपैयाँको छ भने ननफेल्ट कोट १८ हजार रुपैयाँ।  मिटरको २८ सयदेखि ४८ सयसम्म ट्विड कपडाको मूल्य पर्ने शाहीको भनाइ छ। जसलाई ‘मुगु म्यारिनो’ को रुपमा कम्पनीले परिचित गराएको छ। यसमा शुद्ध मुगुको ऊन मात्रै प्रयोग हुने शाही बताउँछन्। 

गोर्खा ट्विडले आफ्नो आउटलेटमा आउने ग्राहकको लागि बाहिरको ऊन भित्र्याई बनाएका ‘स्टक’का कोट १० हजारमै बिक्री गरेको छ। आउटलेटमा भित्रिएका ग्राहकलाई नफर्काउन सस्तो कोट बनाएको बताउँछन् शाही। 

‘ऊन कस्तो छ भनेर माइक्रोनमा नापिन्छ। १० हजारमै आउने कोट ३० माइक्रोनको हुन्छ’, उनले भने, ‘ट्विड भनेर बुझ्ने बढीमा १ प्रतिशत मात्रै छन्।’ 

यसबारे विदेशमा घुम्न गएकालाई बढी थाहा हुने शाही बताउँछन्। ट्विड प्रयोग गर्ने उच्च मध्यमवर्ग र उच्च वर्गका मानिस रहेका छन्। 

अनि भयो ‘गोर्खा ट्विड’मा ब्रान्डिङ
शाहीले सुरुमा एभरेष्ट ट्विडको रुपमा ब्रान्डिङ गरिरहेका थिए। पूर्वगोर्खा सैनिकले बेलायतमा गोर्खा ट्विडबाट शाहीको प्रोडक्ट बिक्री गर्ने प्रस्ताव गरेका थिए। त्यसपछि शाहीले एभरेष्ट ट्विडलाई गोर्खा ट्विडमा ब्रान्डिङ गर्न थाले। 

‘गोर्खा ट्विडको स्याम्पल बेलायत, अमेरिका, जापानमा ‘ओके’ भए पनि कोभिड माहामारीको कारण निर्यात हुनसकेको छैन’, शाही भन्छन्, ‘कोभिडको समयमा विश्व व्यापारको ट्रेन्ड परिवर्तन भएको देखिन्छ। कोभिडले अति आवश्यक भएको सामग्री मात्रै खरिद गर्ने धेरैको बानी बसालेको छ।’

विदेशीले गोर्खा ट्विड भन्दा नपत्याउने शाही बताउँछन्। सोही कारण उनी नेपालमै उत्पादन भएको विश्वास दिलाउन सबै प्रकियाको भिडियो बनाएरै देखाइरहेका छन्।   

‘नेपालमा ऊन बन्दै बन्दैन भन्ने धेरै विदेशीको धारणा छ’, शाही भन्छन्, ‘नेपालमै राम्रो ऊन उत्पादन हुन्छ भन्ने देखाउनु छ।’

युरोपियनले ऊनलाई आधुनिकीकरण गरेर ट्विड नामकरण गरे। नेपालमा पनि हिमाली क्षेत्रमा बख्खु लगाउने पुरानै चलन हो। त्यसकै आधुनिक रुपमा गोर्खा ट्विड रहेको शाही दाबी गर्छन्।  

उनले चाहिँ विदेशीसँग प्रतिस्पर्धाभन्दा पनि फरक नेपाली ब्रान्डको रुपमा परिचित गराउन चाहेका छन्। 

शाही गलैँचा उद्योग चलाउँदा ‘सामन्ती’ भन्दै थुनिए
शाही २०४७ सालमा गलैँचा क्षेत्रबाट व्यवसायमा प्रवेश गरेका हुन्। २०५२ सालदेखि आफैँ गलैँचा उत्पादन गर्नथाले ।

सर्लाहीमा उनको गलैँचा उद्योग थियो। त्यहाँ २ ठाउँमा गरेर करिब ८ सय मजदुर काम गर्थे। 

‘नेपालमा शान्ति स्थापनापछि शोषक सामन्तीको रुपमा मजदुरहरुको थुनामा परेँ’, शाही त्यतिबेलाको घटना सम्झिन्छन्, ‘धेरै मजदुरलाई एउटै कम्पनीमा राखेर काम गर्न सकिँदैन भन्ने निष्कर्ष निकाल्दै २ वर्ष गलैँचा व्यवसाय छाडेर आरामले बसेँ।’

गलैँचा उद्योग बन्द भएसँगै खरी ढुंगालगायतको व्यवसाय गर्न सकिन्छ कि भनेर लागे। चिनियाँ व्यवसायीसँग पनि कुरा गरे। तर बुझ्दै जाँदा आफ्नो क्षमताभन्दा बाहिरको काम देखेर त्यता लागेनन्। 

आफ्नो पुरानो व्यवसाय अर्थात् गलैँचा उत्पादन होइन निर्यात गर्ने सोच बनाए। सन् २०१२ बाट निर्यात थाले। मजदुरको समस्या आफूले नव्यहोर्न आफ्नो गुणस्तरमा अरुबाटै उत्पादित गलैँचा खरिद गरी निर्यात थाले।  

गलैँचा व्यवसायमा रङरोगन, डिजाइन बारम्बार परिवर्तन हुँदा दोस्रो पुस्तालाई टिकाउन मुस्किल देखेर नयाँ व्यवसाय गर्ने सोच पलायो। 

सन् २०१६ देखि ऊनको स्याम्पल उत्पादन सुरु गरे। २०१७ देखि व्यावसायिक रुपमा उत्पादन थालेका उनले २०१८ मा लजिम्पाट त्रिसरा गार्डेनमा आफ्नो आउटलेट्स खोलेका छन्। 

गोर्खा ट्विडको धागो उत्पादन गर्ने उद्योग चन्द्रागिरि बलम्बुमा छ। धागो उत्पादन पनि बुन्नको लागि ललितपुरको चापागाउँमा उद्योग छ। 

ऊनबाहेक शाहीले गर्मीको लागि सुती, बाँसको कपडा समेत बनाउने गरेका छन्। कोटबाहेक ऊनका पर्स, जुत्ता, बेल्ट, ब्यागलगायका सामग्री बिक्री गर्दै आएका छन्। 

‘गोर्खा ट्विडमा एकपटक आएको ग्राहक बारम्बार आउने गरेका छन्’, शाही भन्छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .