ad ad

म्यागेजिन


शताब्दी पुरानो ‘चमत्कारी वीरगन’: अमेरिकीको घरघरमा, नेपालको संग्रहालयमा

शताब्दी पुरानो ‘चमत्कारी वीरगन’: अमेरिकीको घरघरमा, नेपालको संग्रहालयमा

नेपालको शताब्दी पुरानो चमत्कारी वीरगन अमेरिकामा परीक्षण गर्दै जेम्स गेरी


सीताराम बराल
फागुन २०, २०७८ शुक्रबार १४:५६, काठमाडौँ

जङ्गीअड्डाले आयोजना गरेको सैनिक प्रदर्शनी (१४–१७ फागुन) का क्रममा टुँडिखेलमा राखिएको एउटा मेसिनगनले धेरै अवलोकनकर्ताको ध्यान आकर्षित गर्यो। प्रदर्शन अवलोकन गर्न जानेमध्ये कतिपयले त्यो मेसिनगनको तस्बिर दोहोर्याई–तेहर्याई खिचे। कतिपयले मेसिनगनसँगै सेल्फी खिचे।​

मेसिनगन सफा गरेर सेनाले इनामेल र तेल समेत लगाएर टिलिक्क टल्काएको थियो। एक सय २५ वर्ष पुरानो भए पनि यसले पाएको स्याहार–सम्भारका कारण नयाँ र आधुनिकजस्तै देखिन्थ्यो। 

तोपजत्रै आकारको मेसिनगनमा दुई वटा लामा–लामा नाल थिए। ब्यारेलसँगै मेसिनगन सञ्चालन गर्ने कलपुर्जा जोडिएको थियो। कलपुर्जामाथि एउटा सानो बाकस र चक्का थियो। बाकस जस्तो देखिए पनि त्यो गोली लोड हुने म्यागजिन थियो। लोड भएको म्यागजिन फायरिङका बेला स्वचालित रुपमा घुम्ने गरी सानो चक्का थियो। मेसिनगनलाई यताउता लैजान सजिलो होस् भनेर ठूला पाङ्ग्रामाथि राखिएको बेसमा अड्याइएको थियो।  

मेसिनगनको एक छेउमा पित्तलमा कुँदिएको अभिलेख टाँसिएको थियो। अभिलेख हेर्दा मेसिनगन श्री ३ वीर शमशेरको पालामा विसं १९५४ मा निर्माण भएको रहेछ। त्यसमा प्रष्टसँगै लेखिएको थियो, ‘यो (मेसिन) गन कम्यान्डर इन–चिफ (एवं श्री ३) वीरका हुकुमले निर्माण गरिएको हो।’

टुँडिखेलको सैनिक प्रदर्शनीमा राखिएको वीरगन। तस्बिर: विजय सिंह/नेपालखबर

अभिलेख हेर्दा मेसिनगन आविष्कार गर्ने व्यक्तिको नाम ‘गेहेन्द्र’ हो भन्ने बुझिन्थ्यो। किनभने, त्यसमा ‘इन्भेन्टेड बाइ गेहेन्द्र, नेपाल’ उल्लेख गरिएको थियो। सँगै त्यसमा हतियारको नाम ‘वीर गन’ उल्लेख थियो।  

सो हतियारबारे थप परिचय दिन नेपाली सेनाले त्यससँगै नेपाली र अंग्रेजी भाषामा लेखिएको एउटा बोर्ड पनि झुण्ड्याएको थियो। बोर्डमा भनिएको थियो, ‘आफ्ना बुबा श्री ३ वीर शमशेर राणाको नाममा विसं १९५४ सालमा जनरल गेहेन्द्र शमशेर राणाले यो वीरगन बनाएका थिए।’ 

गेहेन्द्र शमशेरलाई कतिपयले नेपालका ‘प्रथम वैज्ञानिक’ समेत भन्ने गर्छन्। ‘वीरगन’ नामको यो मेसिनगनको निर्माण तिनै गेहेन्द्र शमशेरले गरेका हुन्। उनले थुप्रै मेसिनगन, तोप, राइफललगायतका हतियार बनाएका छन्।

जनरल गेहेन्द्रले निर्माण गरेकामध्ये सबैभन्दा आकर्षक, प्रभावकारी र तत्कालीन समयको आधुनिक हतियार पनि सैनिक प्रदर्शनीमा सबैको आकर्षणको केन्द्र बनेको ‘वीरगन’ नै थियो। 

श्री ३ वीरलाई थाहै नदिई ‘वीरगन’ 
इतिहासकार पुरुषोत्तम शमशेर राणाका अनुसार हातहतियार निर्माणका लागि श्री ३ वीरपुत्र गेहेन्द्र शमशेरले जमलमा एउटा कारखाना निर्माण गरेका थिए। हतियार निर्माणका लागि उनले प्रयोग गरेका कारखानाका कतिपय मेसिनहरु छाउनीस्थित सैनिक संग्रहालयमा अहिले पनि देख्न सकिन्छ। 

कारखाना स्थापना गरेर गेहेन्द्रले नेपालमै हातहतियार निर्माण गर्नुको कारण तत्कालीन भूराजनीतिक स्थितिको उपज थियो।  

कोतपर्वमार्फत् सत्तामा आएका जंगबहादुरले ब्रिटिसहरुसँग सुमधुर सम्बन्ध कायम गरे पनि नेपाली सेनालाई आवश्यक हतियार प्रदान गर्न ब्रिटिस सरकार सधैँ अनुदार रह्यो। नेपाली सेनालाई आवश्यक पर्ने हतियार ब्रिटिसहरुबाट प्राप्त गर्न शासकहरुले निकै पापड बेल्नु पथ्र्याे।

वीरगनका साथ जनरल गेहेन्द्र शमशेर (पुरुषोत्तम शमशेर राणा)

​वीर शमशेरको पालामा नेपाली युवाहरुलाई ब्रिटिस सेनामा भर्तीका लागि औपचारिक स्वीकृति प्राप्त भएपछि मात्र ब्रिटिस सरकारले नेपाली सेनालाई हतियार प्रदान गर्न थालेको हो। त्यसक्रममा ली एनफिल्ड र मार्टिन हेनरी जस्ता हतियारहरु नेपाली सेनाले ब्रिटिस सेनाबाट प्राप्त गर्यो। तर पर्याप्त मात्रामा होइन।  

त्यो बेला ब्रिटिस सेनाले मेसिनगन जस्तो आधुनिक हतियार प्रयोग गर्न थालिसकेको थियो। तर, आफूलाई चुनौती दिनसक्ने गरी नेपाली सेना बलियो नहोस् भन्ने उद्देश्यले मेसिनगनजस्ता स्वचालित हतियार नेपाली सेनालाई प्रदान गर्न ब्रिटिस सेना तयार थिएन। 

ब्रिटिसहरुबाट अड्कली–अड्कली हतियार लिनुपर्ने र मेसिनगनजस्ता ठूला र स्वचालित हतियार नपाएको स्थितिमा श्री ३ वीर शमशेरको पालामा उनका छोरा मेजर जनरल गेहेन्द्रले हतियार निर्माणका लागि कारखाना स्थापना गरे। यो कारखानामा नेपाल आइपुगेका विदेशी हतियारहरुको नक्कल गरी उनले नेपाली मोडलका हतियार निर्माण कार्य थाले। 

यसैक्रममा उनले मार्टिन हेनरी राइफलको नेपाली मोडल विकसित गरे। 

विसं १९५० को दशकमा नेपाली सेनाले इन्टरनेसनल मिलिटरी एन्टिक्स (आईएमए) र त्यस अन्तर्गतको ‘एटलान्टा कटलरी’ नामक पुराना हतियारको विश्वव्यापी खरिद–बिक्रीकर्ता अमेरिकी कम्पनीलाई विभिन्न प्रकारका करिब ६५ हजार थान हतियार बिक्री गरेको थियो। बिक्री गरिएकामध्ये १४ हजार थान मार्टिन हेनरी राइफल थिए।

बिक्री गरिएका उपरोक्त १४ हजार थान राइफलमध्ये ८ हजार थान नेपाली मोडलका मार्टिन हेनरी राइफल थिए भने ६ हजार थान ब्रिटिस मोडलका। निसन्देह बिक्री गरिएका नेपाली मोडलका ती ८ हजार थान मार्टिन हेनरी राइफल निर्माण सुरुवात गर्न जनरल गेहेन्द्र शमशेरकै योगदान थियो।  

जनरल गेहेन्द्रले राइफल मात्र होइन, नेपाली सेनालाई आवश्यक पर्ने मेसिनगन निर्माण कार्य पनि थाले। आधुनिक र प्रभावकारी हतियार नेपाली सेनालाई प्रदान गर्न बेलायत तयार नभएपछि उनले मेसिनगन निर्माण सुरु गरेका थिए। 

‘विभिन्न प्रकारका हतियार उपलब्ध गराउँदा नेपालले त्यसको नक्कल गरेर त्यस्तै नयाँ हतियार निर्माण गरिदेला भन्ने डर ब्रिटिसलाई थियो,’ हातहतियार र गोलीगठ्ठासम्बन्धी अमेरिकी म्यागेजिन ‘गन्स एन्ड एमो’ का पूर्व सम्पादक गेरी जेम्सले ‘वीरगन’ बारे ६ वर्षअघि (सन् २०१६) को एक लेखमा भनेका छन्, ‘किनभने पहिले पनि गोर्खालीहरुले यस्तो काम गरिसकेका थिए।’

जनरल गेहेन्द्रले निर्माण गरेको ‘वीरगन’ अमेरिकामा निर्मित गार्डनर मेसिनगनसँग मिल्दोजुल्दो रहेको पनि जेम्सले उल्लेख गरेका छन्। 

जेम्सको भनाइबाट प्रष्ट हुन्छ, आधुनिक खालका मेसिनगन नेपाली सेनालाई प्रदान गर्न देखिएको ब्रिटिस हिचकिचाहटको उपज नै ‘वीरगन’ को आविष्कार थियो। 

तर, आफ्नो छोरा जनरल गेहेन्द्रले यति महत्वपूर्ण हतियार निर्माण गरिरहेको उनका पिता श्री ३ वीरलाई जानकारी नै थिएन।

श्री ३ वीरका पनाति समेत रहेका इतिहासकार राणाका भनाइमा, हतियार निर्माणका सौखिन जनरल गेहेन्द्रले करिब ६ लाख ‘खर्च अड्डा’ बाट निकालेर खर्च गरेका थिए। यति ठूलो रकम आफ्नो स्वीकृतिबिना निकालेर खर्च गरेको जानकारी पाएपछि श्री ३ वीर गेहेन्द्र शमशेरसँग रिसाए, उनलाई हप्काए।

‘श्री ३ वीरले हप्काएपछि बाबु–छोराबीच भनाभन पनि पर्यो’, इतिहासकार राणा भन्छन्, ‘तर, त्यो रकम उनले मेसिनगन निर्माण गर्न प्रयोग गरेका रहेछन्। यो कुरा श्री ३ वीरलाई पछि मात्र जानकारी भयो।’  

यसरी निर्माण गरिएको मेसिनगनको नामाकरण जनरल गेहेन्द्रले आफ्नै बाबुको नामबाट गरेका थिए। सबै ‘मेसिनगन’ मा ‘वीरगन’ नाम लेखिएको पित्तलको शिलालेख टाँसेका थिए। नेपालमा रहेका र विदेशमा लगिएको सबै ‘वीरगन’ को नम्बरसमेत उल्लेख गरी पित्तलको पातामा यस्तो शिलालेख टाँसिएको छ। यसमध्ये सैनिक प्रदर्शनीमा राखिएको ‘वीरगन’ २६ नम्बरको हो।

वीरगनमा राखिएको पित्तलको शिलालेख

यसरी वीर शमशेरले पत्तो नपाउँदै मेसिनगन निर्माण भएर त्यसले ‘वीरगन’ को परिचय पाइसकेको थियो। 

यति महत्वपूर्ण हतियार निर्माण नेपालमै भए पनि त्यसको विकास र प्रयोग भने नेपालमा खासै भएन। प्रभावकारी हतियार हुँदाहुँदै पनि खासमा राणाकालीन सत्तामा हुने गरेको षडयन्त्रको मारमा परेर ‘वीरगन’ निर्माण भएको केही समयपछि त्यत्तिकै थन्किन पुग्यो। 

जस्तोः वीरगन निर्माण भएको ४ वर्षपछि १९५८ मा जनरल गेहेन्द्रका पिता श्री ३ वीरको निधन भयो। वीरपछि देव शमशेर सत्तामा आए पनि केही महिनापछि नै उनी अपदस्थ भए। उनलाई अपदस्थ गरी चन्द्र शमशेर सत्तासीन हुन पुगे।  

आधुनिक हतियारहरुको निर्माणका कारण सेनाभित्र गेहेन्द्र शमशेर लोकप्रिय थिए। श्री ३ वीरको शासनकालमा पुलिस र गुप्तचर विभागको जिम्मेवारीमा रहेकाले उनी शक्तिशाली पनि थिए। 

यही कारण श्री ३ चन्द्र भतिज जनरल गेहेन्द्रप्रति सदैव सशंकित रहे। श्री ३ चन्द्रकै शासनकालमा ३ भदौ (१९६४) मा जनरल गेहेन्द्रको शंकास्पद मृत्यु भयो। ‘श्री ३ हरुको तथ्यवृत्तान्त’ मा इतिहासकार राणाले दाबी गरेअनुसार श्री ३ चन्द्रले आफ्ना आसेपासेमार्फत् विष मिसाइएको रक्सी खुवाएर गेहेन्द्र शमशेरको हत्या गरेका हुन्।  

षडयन्त्रमार्फत् उनको हत्या भयो। तर, नेपाली सेनाका लागि आधुनिक हतियार निर्माणका कारण नेपालको सैनिक इतिहासमा उनको नाम महत्वका साथ उल्लेख हुने गरेको छ।

छाउनीस्थित सैनिक संग्रहालयमा राखिएको जनरल गेहेन्द्र शमशेरको तस्बिर र परिचय

‘जनरल गेहेन्द्र शमशेर एक सिद्धहस्त हतियार वैज्ञानिक थिए, नेपाली सेनाको हतियारको विकासक्रममा उनको ठूलो योगदान रहेको छ’ छाउनीस्थित सैनिक संग्रहालयमा एउटा ठूलो तस्बिरसहितको परिचयमा भनिएको छ, ‘काठमाडौँको जमलमा हतियार बनाउने कारखाना स्थापना गरेर संसारमै उदाहरणयोग्य तरिकाले वीरगन, अटोमेटिक मेसिनगन, आफ्नै नामबाट ‘गे–राइफल’, चन्द्र शमशेरको नामबाट ‘च–राइफल’, पेस्तोल जस्ता अत्याधुनिक हतियार आविष्कार गरेका थिए।’ 

नेपाली सेनाको इतिहासमा मात्र होइन, उनीद्वारा निर्मित ‘वीरगन’ लाई विदेशी हतियारविज्ञहरुले उच्चस्तरको र चमत्कारी मेसिनगन भनेर प्रशंसा गरेका छन्।  

विश्व बजारमा तहल्का 
गेहेन्द्र शमशेरले कति वटा ‘वीरगन’ निर्माण गरेका थिए, त्यसको औपचारिक तथ्याङ्क नेपाली सेनासँग पनि छैन। हाल नेपाली सेनासँग रहेका र विगतमा पटक–पटक बिक्री गरिएको संख्या जोड्दा भने ३६ वटा ‘वीरगन’ निर्माण भएको देखिन्छ।   

संकलित तथ्याङ्कबाट देखिने ३६ मध्ये २१ वटा ‘वीरगन’ नेपाली सेनाले २०५८ मा ‘एटलान्टा कटलरी’ नामक अमेरिकी कम्पनीलाई बिक्री गरेको थियो। त्यसअघि सेनाले विसं २०३० मा सिङ्गापुरको ‘इन्टरआर्म्स’ नामक कम्पनीलाई १२ वटा ‘वीरगन’ बिक्री गरेको थियो। यो कम्पनीले पनि विश्वका विभिन्न मुलुकबाट पुराना हतियार संकलन गरी हतियारका सौखिनहरुलाई बिक्री गथ्र्याे।

नेपाली सेनाबाट ‘इन्टरआर्म्स’ले १२ वटा ‘वीरगन’ खरिद गरेपछि ‘गन्स एन्ड एमो’ नामक हतियार र गोलीगठ्ठा सम्बन्धी सामाग्री पस्कने अमेरिकी म्यागेजिन (पत्रिका) का पूर्व सम्पादक गेरी जेम्सले पनि एउटा वीरगन खरिद गरेका थिए। गेरीले खरिद गरेको वीरगन ‘३५ नम्बर’ को थियो। 

तर, मेसिनगन अड्याउने ‘ट्रे’ (पाङ्ग्रासहितको ट्राइपोड) उतिबेला उपलब्ध भएन। यही कारण उनले तत्काल त्यसको परीक्षण गर्न पाएनन्। पुरातात्विक (एन्टिक) हतियार संकलनका सौखिन उनको निवासमा झण्डै ३० वर्ष ‘वीरगन’ सजिएर मात्र बस्यो। 

नेपाली सेनाले जब विसं २०५८ मा ६५ हजार थान हतियार अमेरिकी कम्पनी इन्टरनेसनल मिलिटरी एन्टिक्स (आईएमए) र ‘एटलान्टा कटलरी’ लाई बिक्री गर्यो, त्यसपछि मात्र अमेरिकी सेनाका पूर्वमेजर समेत रहेका गेरीको ‘वीरगन’ फायर गर्ने सपना पुरा भयो। 

किनभने, पछिल्लो पटक नेपाली सेनाले बिक्री गरेको हतियारको ६५ हजार थान हतियारको सूचीमा २२ थान ‘वीरगन’ पनि थिए। 

‘एटलान्टा कटलरी’ ले २१ थान ‘वीरगन’ अमेरिका पुर्याएपछि जेम्सले ‘वीरगन’ को ‘ट्रे’ खरिद गर्न पाए। त्यसपछि उनी आफ्ना हितैषीहरुका साथ ‘वीरगन’ को परीक्षणका लागि क्यालिफोर्नियाको लेक भ्यू टेरेसस्थित प्रसिद्ध ‘एन्जलस सुटिङ रेञ्ज’ पुगे।

विसं २०६० ताका गरिएको सो परीक्षण कार्यक्रममा सो म्यागेजिनका सम्पादक रिचर्ड भेनोला र कार्यकारी सम्पादक पेटन मिलर, गन्स म्यागेजिनका सम्पादक जेफ जोन, रिगन प्रेसिडेन्सियल लाइब्रेरीका क्युरेटर रोब जुक्का, टेन एक्स–एम्युनिसनसँग सम्बद्ध रिचर्ड पुमरेन्ज लगायत थिए।

अमेरिकामा वीरगनको परीक्षण गरिँदै

अमेरिकामा परीक्षणको क्रममा ‘वीरगन’ ले नयाँ–आधुनिक हतियार जसरी लगातार रुपमा गोली ओकल्यो। र, तोकिएको निसाना साँध्यो। नयाँ र आधुनिक हतियारभन्दा यसको प्रभावकारितामा कुनै कमी देखिएन। 

सो परीक्षण र वीरगनको परीक्षण–प्रभावकारिताबारे ६ वर्षअघि (सन् २०१६) जेम्सले ‘अ स्लिपिङ जायन्ट्स’ मा एउटा लामो संस्मरणात्मक लेख लेखेका छन्। 

‘निर्माणको केही समयपछि त्यत्तिकै थन्क्याएर राखिएको हतियार १ सय ६ वर्षपछि अमेरिका पुर्याएर परीक्षण गरिँदा पनि उत्तिकै प्रभावकारी रुपमा फायर भयो,’ उनी भन्छन्, ‘यसले परीक्षणमा सामेल सबैलाई चकित पार्यो।’  

उनी थप लेख्छन्, ‘यो मेसिन (मेसिनगन) को चमत्कार प्रयोग गर्न पाउनु मेरो जीवनको निकै सुखद् दिनमध्येमा पर्छ। बिनापूर्वाग्रह भन्ने हो भने यो मेसिनगन हतियारको दुनियाँमा गज्जब र सुन्दर समाधान दिने अस्त्रका रुपमा छ।’  

गेहेन्द्र शमशेरप्रति शंकालु श्री ३ चन्द्रको सत्तारोहणसँगै सम्भवतः ‘वीरगन’ को प्रयोग हुन छाडेको थियो। सीमित संख्यामा निर्माण भएका ‘वीरगन’ त्यसपछि करिब एक सय वर्षसम्म सैनिक भण्डारमा थन्किएर रह्यो। थन्क्याइएपछि ‘वीरगन’ को परीक्षण (फायर) करिब एक शताब्दीसम्म हुन नपाएको आफूलाई ‘आईएमए’ का अध्यक्ष क्रिस्चियन क्रेमरले बताएको पनि जेम्सले उल्लेख गरेका छन्। 

‘यो हतियार अझ केही समय प्रयोग भएर अमेरिकामा आएको भए यसले अझ छुट्टै पहिचान स्थापित गर्न सक्थ्यो,’ जेम्सले लेखेका छन्, ‘यद्यपि शताब्दी लामो मौनता चिरेर भएपनि यसले एक रहस्यमय हतियारका रुपमा आफ्नो नाम दर्ता गराएको छ।’ 

‘वीरगन’ सहित ६५ हजार थान पुराना हतियार नेपाली सेनाबाट खरिद गर्ने कार्यका अगुवा ‘आईएमए’ का प्रमुख थिए, क्रिस्चियन क्रेमर। अमेरिका पुर्याइएका नेपाली हतियारको महत्व कति थियो र कति लामो प्रयासबाट ती हतियार खरिद गरेर अमेरिका पुर्याइएको हो भन्ने अनुभव समेटेर तिनै क्रेमरले सन् २००४ मा ‘ट्रेजर इज ह्वेर यु फाइन्ड इट’ (अमूल्य सम्पत्ति, जसलाई तपाईं यहाँ पाउन सक्नुहुन्छ) नामक पुस्तक समेत लेखेका छन्।

हजारौँ राइफल र खुँडा–खुकुरी, दर्जनौँ तोप र मेसिनगन खरिद गरे पनि क्रेमरले सबैभन्दा बढी महत्व ‘वीरगन’ लाई नै दिएको देखिन्छ। त्यसैले, पुस्तकको अग्रभागमा उनले ‘वीरगन’ को तस्बिर राखेका छन्।    

इतिहास र पुरातात्विक दृष्टिले मात्र होइन, मूल्यका दृष्टिले पनि यो हतियार कति महत्वको रहेछ भन्ने पछिल्लो समय निर्धारण गरिएको यसको मूल्यले देखाउँछ। 

विसं २०३० मा ‘इन्टरआर्म्स’ लाई बिक्री गर्दा नेपाली सेनाले एक ‘वीरगन’ को मूल्य ३ सय ३५ स्टर्लिङ पाउन्ड तोकेको थियो। यति सस्तो दाममा खरिद गरेर सो कम्पनीले ‘वीरगन’ कति मूल्यमा उतिबेला बिक्री गर्यो, त्यसबारे जानकारी भेट्टाउन सकिन्न। 

२०५८ मा तोप, मेसिनगन, राइफल, पेस्तोल, खुँडा–खुकुरी लगायत ६५ हजार थान हतियारबाट नेपाली सेनाले ३३ लाख अमेरिकी डलर (रु. २४ करोड ४९ लाख ९२ हजार) प्राप्त गरेको थियो। यसमा ‘वीरगन’ बिक्रीबापत कति रकम प्राप्त भएको थियो, त्यसको छुट्टै हिसाब सार्वजनिक भएको छैन। 

तर, अमेरिका पुर्याएलगत्तै ‘आईएमए’ र ‘एटलान्टा कटलरी’ ले ‘वीरगन’ निकै महङ्गो मूल्यमा बिक्री गरे। सुरुमा २२ हजार डलर तोकिएको ‘वीरगन’ को मूल्य ५ वर्ष बित्दानबित्दै साढे २७ हजार डलर पुर्याइएको थियो। 

केही समयपछि फेरि त्यसको मूल्य बढाइयो २९ हजार ९ सय ९५ डलर (वर्तमान विनिमय दर अनुसार करिब ३६ लाख रुपियाँ) पुर्याइयो।​​अमेरिका लैजाने तयारीका क्रममा लगनस्थित शिलखानामा वीरगनको ‘नम्बरिङ’ गरिँदै​​

पुराना हतियारका संकलकहरुबीच यसको आकर्षण र पुरातात्विक महत्वकै कारण बिक्रेता कम्पनीले ‘वीरगन’ को मूल्य बढाएर ३० हजार डलर पुर्याएको थियो।   

१९५० को सन्धिको छेको 
‘माओवादीविरुद्ध लड्न नयाँ हतियार आवश्यक रहेको’ भन्दै नेपाली सेनाको तत्कालीन नेतृत्वले २१ थान ‘वीरगन’ सहित हजारौँ थान पुराना हतियार अमेरिकी कम्पनीलाई बिक्री गरेको थियो। बिक्री हुनै लाग्दा पनि यसबारे समाचार प्रकाशित नभएका होइनन्। तर, रोक्ने प्रयास भएन।  

बिक्री भएको १० वर्षपछि सञ्चारमाध्यमहरुले समाचार प्रकाशन–प्रसारण गरेपछि यो विषय फेरि एकपटक राष्ट्रिय चर्चाको विषय बन्यो। त्यसपछि हतियार बिक्री गरिँदा अनियमितता भए–नभएको विषयमा केन्द्रित भएर व्यवस्थापिका– संसदको सार्वजनिक लेखा समितिले छानबिन उपसमिति गठन गर्यो।

सो उपसमितिले वीरगनजस्तो महत्वपूर्ण र अन्य ऐतिहासिक हतियार बिक्री गरिनु गलत रहेको बताउँदै सम्भव भए वीरगन फिर्ता गर्ने पहल थाल्न प्रतिवेदनमार्फत् सुझाव दिएको थियो। 

‘नेपाली वैज्ञानिकहरुद्वारा निर्मित सीमित संख्यामा नेपालमा मात्र रहेका वीरगन जस्ता हातहतियारको बिक्री समग्रमा एकै लटमा हुनु उपयुक्त थिएन,’ उपसमितिको प्रतिवेदनमा भनिएको छ, ‘यस्ता हतियारहरु कूटनीतिक माध्यमबाट फिर्ता गराउन सकिन्छ भने त्यस सम्बन्धमा पहल गर्नु आवश्यक छ।’ 

यसबाहेक भैरव रिसाल, डा. द्वारिकानाथ ढुङ्गेललगायत नागरिक समाजका अगुवाहरुले पनि हतियार फिर्ता ल्याउन दबाब अभियान सिर्जना गरे। यसक्रममा उनीहरुले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालसँग भेट गरी हतियार फिर्ता ल्याउने पहल गर्न ज्ञापनपत्र बुझाएका थिए।  

तर, छोटो समय मात्र सत्तामा रहेका खनालले पहल गर्न सकेनन्। आफ्नो कार्यकालको अन्तिम दिन छाउनीस्थित सैनिक संग्रहालय पुगी त्यहाँ बाँकी रहेका वीरगन लगायत पुराना हतियार अवलोकन गरी उनले यस विषयमा संवेदनशीलता भने प्रकट गरेका थिए।

सैनिक संग्रहालयमा रहेको वीरगन अवलोकन गर्दै तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल

उता, सो संसदीय उपसमितिले प्रतिवेदन तयार नपार्दै पहिलो संविधान सभा भंग हुन पुग्यो। दोस्रो संविधान सभापछि राज्यको सम्पूर्ण ध्यान दोस्रो संविधान सभामार्फत् संविधान निर्माणमा केन्द्रित भयो। राजनीतिक गन्जागोलसँगै हतियार फिर्ता ल्याउने सिर्जना गरिएका दबाब कार्यक्रमहरु शिथिल भए।  

संविधान निर्माण भएपछि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बिक्री भएमध्येका महत्वपूर्ण हतियार फिर्ता ल्याउने प्रयास थाले। 

तर, बिक्री भइसकेका हतियार फिर्ता ल्याउन सजिलो थिएन। हतियार बिक्रीविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले ती हतियार पुरातात्विक महत्वको नभएको र क्रेता कम्पनीले नेपाललाई रकम उपलब्ध गराइसकेकाले फिर्ता ल्याउन नसक्ने निर्णय सुनाइसकेको थियो। 

एकातिर धेरै हतियार अमेरिकामा बिक्री भइसकेका थिए। अर्काेतिर कानुनी प्रक्रिया पुरा गरेर लगेकाले ती हतियार फिर्ता ल्याउनै नै हो भने अन्य ग्राहकले झैँ सेनाले पनि क्रेता कम्पनीले तोकेको मूल्य तिर्नुपर्ने हुनसक्थ्यो, जुन मूल्य अर्थात् सेनाले बिक्री गरेभन्दा धेरै गुणा बढी हुन्थ्यो।    

‘तैपनि सम्भव भएसम्म ‘वीरगन’ फिर्ता ल्याऊँ भन्ने लागेको थियो,’ तत्कालीन प्रधानसेनापति (२०७२–०७५) क्षेत्रीले भने, ‘अनौपचारिक तबरमा भएको कुराकानीमा उनीहरुले तोकिएको मूल्यमा बिक्री गर्न तयार भएको सन्देश पठाए।’

क्षेत्रीले थपे, ‘खरिद गर्न सजिलो भए पनि नेपालसम्म ल्याउन चाहिँ अनेक झमेला सिर्जना हुने देखियो।’

क्षेत्रीले संकेत गरेको त्यो ‘झमेला’ नेपाल–भारतबीचको १९५० को ‘शान्ति तथा मैत्री सन्धि’ हो। सन्धिको पाँचौँ दफाले नेपाललाई आवश्यक पर्ने हात–हतियार भारतको बाटो गरी ल्याउन पाउने व्यवस्था गरे पनि सँगै विनिमय भएको पत्राचार (लेटर अफ एक्सचेन्ज) को दोस्रो बुँदामा ‘भारत सरकारको सहयोग र सहमतिमा मात्र ल्याउन पाइने’ बाध्यकारी प्रावधान राखिएको छ। 

अर्थात् भारतले चाहेन भने नेपालले उसको बाटो गरी हतियार ल्याउन–लैजान पाउँदैन। 

२०५८ मा ती हतियार खरिद गरेपछि सो अमेरिकी र कार्गाेको जिम्मेवारी पाएको कम्पनीले भारतीय पक्षबाट निकै अप्ठेरो भुक्तमान बेहोर्नु परेको थियो। 

अमेरिकी कम्पनीले ती हतियार कलकत्ता बन्दरगाहसम्म पुर्याउने जिम्मा नरेश दासले सञ्चालन गरेको कार्गाे कम्पनीलाई दिएको थियो। यसैआधारमा राज्यव्यवस्था समितिले गठन गरेको उपरोक्त उपसमितिले दाससँग पनि बयान लिएको थियो। 

दासले हतियार लैजाँदा भारतीय पक्षबाट बेहोर्नुपरेको भुक्तमानबारे उपसमितिलाई बताएका थिए। दासका भनाइमा, सामान प्याक गरेर कलकत्ता पुर्याएपछि उनी पक्राउ परे, अनाहकमा ४–५ दिन हिरासतमा बस्नु पर्यो। 

उनीमाथि भारतीय प्रहरीले हातहतियार तस्करीको आरोप लगाएको थियो। काठमाडौँस्थित भारतीय राजदूतावास र नेपाली सेनाले पहल गरेपछि मात्र उनी रिहा भए।​

आईएमएका अध्यक्ष क्रेमर (बायाँ) र कार्गाे कम्पनीका नरेश दास (दायाँ)

दासले मात्र होइन, भारतीय बाटो हुँदै अमेरिका हतियार लैजान स्वीकृति लिँदा सो अमेरिकी कम्पनीले पनि निकै झञ्झट बेहोर्नु पर्यो। हतियार प्याकिङ गरेर लैजान तयार भए पनि भारतीय पक्षले कलकत्तासम्म पुर्याउन समयमै स्वीकृति दिएन। 

हतियार लैजाने स्वीकृति प्राप्त गर्न उसलाई एक वर्षभन्दा बढी लाग्यो। स्वीकृति प्राप्त गर्नै एक वर्षभन्दा बढी समय लागेका कारण ढुवानीको मूल्य पनि बढ्यो।  

‘भारतसँगको सन्धिमा (उसको स्वीकृतिबिना) हातहतियार ल्याउन र लैजान नपाउने भन्ने रहेछ, एक वर्ष तीन–चार महिनापछि बल्ल भारतले स्वीकृति दियो,’ दासले भनेका छन्, ‘हतियार लैजाने स्वीकृतिकै लागि धेरै समय लागेका कारण पहिले तय भएको ढुवानी मूल्यमा २५ हजार डलर बढेको अनुमान गरियो र सोही बमोजिम सो कम्पनीले रकम चुक्ता गर्यो।’ 

भारतले सुमधुर सम्बन्ध विकास गर्दै रहेको अमेरिकामा नेपाली सेनाले काम नलाग्ने ठहर गरेका पुराना हतियार लैजान त यति कठिन हुँदो रहेछ। अमेरिकाबाट ती हतियार फिर्ता ल्याउँदा झन् कति झञ्झट बेहोर्नु पर्दाे हो!  

यही झमेला बुझेर प्रधानसेनापति क्षेत्रीले ती हतियार फिर्ता ल्याउने योजना परित्याग गरे। 

‘आईएमए’ले आफ्नो वेबसाइटमार्फत् हतियार बिक्रीको विज्ञापन गरिरह्यो। आफूसँग रहेका ‘वीरगन’ बिक्री गरिरह्यो। 

नेपाली सेनाले छाउनीस्थित सैनिक संग्रहालयमा दुई वटा ‘वीरगन’ प्रदर्शनीमा राखेको छ। बाँकीमध्येको एउटा ‘वीरगन’ सैनिक प्रदर्शनीको दोस्रो दिन (१५ फागुन) टुँडिखेलमा देखिएपछि अमेरिकामा बिक्रीमा राखिएका ‘वीरगन’ को अवस्थाबारे जिज्ञासा जाग्यो। 

साँझ घर फर्केर मैले ‘आईएमए’ को ‘वेबसाइट’ मा ‘वीरगन’ खोजेँ।

‘वेबसाइट’ मा ‘वीरगन’ को तस्बिर पहिलेजस्तै यथावत थियो। अन्य विवरण पनि यथावत थिए। गत साल अन्तिमपटक वेबसाइट ‘भिजिट’ गर्दा झैँ यसपटक पनि त्यसको मूल्य २९ हजार ९ सय ९५ डलर नै उल्लेख थियो। 

यस पटक वेबसाइट ‘भिजिट’ गर्दा देखिएको फरक भनेको त्यहाँ थपिएको दुई शब्दको सानो विवरण मात्र थियो। तर, त्यो विवरणको महत्व दर्शाउन ती अक्षर रातो अक्षरमा थिए। 

‘वीरगन’ दायाँपट्टि पर्नेगरी लेखिएका ती दुई शब्द थिए– ‘सोल्ड आउट।’

आईएमएको वेबसाइटमा प्रकाशित सूचना

अर्थात्, ‘सबै ‘वीरगन’ बिक्री भइसके।’ 

अमेरिका पुर्याइएका ती ‘वीरगन’ अब व्यक्तिका घर–घरमा पुगिसकेछन्। नेपालले चाहेर पनि अब ती ‘वीरगन’ फिर्ता ल्याउन नसक्ने स्थिति बनिसकेछ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .