‘तपाईं योजना परिषद्को सचिव हुनुभएको छ। यो अवसर तपाईंलाई स्वीकार्य छ कि छैन?’ अमेरिका पढ्न गएका भेषबहादुर थापालाई दरबारबाट पठाइएको पत्रमा लेखिएको थियो।
छात्रवृत्ति पाएर अर्थशास्त्रमा विद्यावारिधि गर्न उनी क्यालिफोर्निया गएका थिए। त्यसताका उच्च शिक्षाका लागि विदेश जानेहरुको संख्या औँलामा गन्न सकिन्थ्यो।
‘नेपालमा २००७ सालमा आएको प्रजातन्त्रले सम्भावनाहरु बढेका थिए। हरेक वर्ष एक जना नेपाली विद्यार्थीले विदेश पढ्न जाने छात्रवृत्ति पाउँथे,’ उनी भन्छन्, ‘त्यो भनसुनको आधारमा होइन, क्षमताका आधारमा छात्रवृत्तिमा विद्यावारिधिका लागि अवसर पाएको थिएँ।’
दरबारको सचिवले त्यो चिठी पठाउनुअगावै उनले भ्रमणमा गएका राजा महेन्द्रलाई क्यालिफोर्नियामा भेटेका थिए।
‘त्यतिबेला राजा महेन्द्रले जुन देशमा पुगे पनि नेपालीको खोजी गर्थे। भेट्ने, कुराकानी गर्ने र नेपाल फर्किन प्रोत्साहन गर्थे,’ थापा भन्छन्, ‘सोही क्रममा मसँग पनि उनले भेटेका थिए।’
उनकै विश्वविद्यालयका प्राध्यापकमार्फत भेट्नेबित्तिकै राजा महेन्द्रले सोधेका थिए, ‘तिमी के गर्दैछौ? कसो छ? के पढ्दै छौ? कस्तो घरपरिवारका हौ?’
पाँच पुस्तादेखि लगातार सैन्य सेवा गरेको परिवार, राम्रो आर्थिक अवस्था– थापाले राजालाई आफ्नो पढाइ, पारिवारिक विवरण सबै बताएका थिए।
अमेरिकामा पनि उनले अब्बल विद्यार्थीको परिचय बनाएका थिए। राजा महेन्द्रले क्यालिफोर्निया भ्रमण गर्दा त्यहाँ जम्माजम्मी तीन जना नेपाली विद्यार्थी थिए। तीमध्ये पनि अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका थापा नै उनको आँखामा परे।
‘पढाइ सकेपछि बाटो खर्च कमाएर नेपाल फर्किन्छु,’ उनले राजालाई सुनाए।
प्रतिउत्तरमा राजाले भनेका थिए, ‘बाटो खर्च म पठाइदिउँला पैसा कमाउनतिर नलाग्नू, पढाइ सकिनेबित्तिकै नेपाल फर्कनू।’
‘राजाको कुराकानी परम्परागत सोचाइकै थियो,’ थापा सम्झिन्छन्।
राजासँग यस्तो वार्ता भएको दुई वर्षपछि उनलाई दरबारबाट सो चिठी आएको थियो। सुरुमा उनलाई ठट्टाजस्तो लाग्योर तर, टेलिग्राममा दरबारका तत्कालीन सचिवको नाम र हस्ताक्षर थियो। त्यसैले पनि विश्वास गर्न बाध्य भए।
‘यस्तो कुराको अपेक्षा मैले गरेको थिइनँ,’ उनी भन्छन्।
त्यही चिठीले उनको जीवनमा कायापलट ल्याइदियो।
२५ वर्षका थापाले त्यो अवसर गुमाउन चाहेनन्। उनले नेपाल फर्किने निर्णय गरे।
‘मैले जवाफमा लेखेको थिएँ– मलाई यो अवसर स्वीकार्य छ,’ उनी भन्छन्, ‘अहिलेको जस्तो सञ्चारको सुविधा थिएन। पत्रमै खबर पठाएको थिएँ। अनि राजाले १० हजार डलरको चेक बाटो खर्च र भाडा भनेर पठाइदिए।’
त्यसपछि उनी नेपाल फर्किए र सरकारी जागिरे भएर काम गर्न थाले।
दरबार स्कुलको पढाइ
तीन वर्षको उमेरमा भेषबहादुर थापा सपरिवार जन्मथलो तनहुँबाट पहिलो पटक काठमाडौँ आए। काठमाडौँको कालधारामा उनको बाजेको घर थियो।
‘बाजे सेनामा हुनुहुन्थ्यो, बुबा पनि सेनामा हुनुहुन्थ्यो। हाम्रो पाँच–छ पुस्ता नै सेनामा थियो,’ उनी भन्छन्, ‘अघिल्लो पुस्ताले पृथ्वीनारायण शाहको पालामा नेपाल एकीकरणमा योगदान दिएको थियो। मेरो पालोमा आएर पेसा परिवर्तन भयो।’
सेनामा भर्ना गराउन पनि छोरालाई पढाउनुपर्छ भन्ने परिवारको सोच थियो। त्यसैले उनलाई सानैमा काठमाडौँ ल्याइएको थियो। उनलाई प्रारम्भिक शिक्षा घरमै दिइएको थियो। पण्डित राखिएको थियो, घरमा। तिनले थापालाई कखरा, विभिन्न कथा र सामान्य ज्ञान सिकाएका थिए। त्यसपछि उनलाई दरबार हाइस्कुलमा कक्षा दुईमा भर्ना गरियो।
कालधारादेखि दरबार हाइस्कुलसम्म आधा घण्टाको बाटो उनी हिँडेर पढ्न जान्थे। कपीकलम भर्खर आउन थालेका थिए। कक्षाकोठामा डेस्कबेन्च नभए पनि बस्ने व्यवस्था भने राम्रो भएको थापा सम्झिन्छन्।
‘त्यो बेलाको नेपालमा गाडीहरु धेरै आइसकेका थिएनन्,’ उनी भन्छन्, ‘बाटो साँघुरा थिए। अधिकांश मान्छेहरु हिँडेरै गन्तव्यमा पुग्थे।’
उनी पढ्दै गर्दा दरबार हाइस्कुलमा ३० जनाको हाराहारीमा विद्यार्थी थिए। छात्राको संख्या शून्य थियो। उसो त त्यतिबेला छोरीलाई पढाउनुहुँदैन भन्ने मान्यता थियो।
अहिले ती दिन सम्झँदा सपना पो हो कि झैँ लाग्छ उनलाई।
‘बुबा र बाजेहरुले जे भोगे, त्यही गरे,’ उनी भन्छन्, ‘त्यतिबेला छोरीलाई पढाउनुपर्छ भन्ने सोचको विकास भइसकेको थिएन।’
त्यहीकारण उनले र भाइले स्कुलमा पढ्न पाए। तर, उनका दुई बहिनीहरुले स्कुल जान पाएनन्। घरमै प्रारम्भिक शिक्षा लिए।
ती साथीहरु
त्यसबेला गरिबले पढ्ने मौका पाउँदैनथे। दरबार स्कुल जान पाउने भनेकै सम्पन्न र शक्तिशालीका सन्तानले थियो। त्यसैले थापाका साथीहरु पनि आर्थिक रुपमा सम्पन्न थिए।
उनका मिल्ने साथी शशीकुमार जमिनदारका छोरा थिए। उनको परिवार तराईमा भए पनि उनी पढ्न काठमाडौँ बसेका थिए। कक्षामा सँगै बस्थे। स्कुलमा हुँदा अधिकांश समय सँगै बिताउने उनीहरुबीच गहिरो मित्रता थियो।
‘अहिलेको जस्तो पार्टी गर्ने चलन थिएन। उसलाई घरमै ल्याउने, म पनि उसकोमा जाने, खाने गथ्र्यौँ,’ उनी भन्छन्, ‘नजिकको मित्रता थियो। उनी पछि चिकित्सा विधामा गए।’
उतिबेला अहिलेजस्तो खुलापन थिएन। शिक्षक, साथी र परिवारका मान्छेसँग पनि निकै सोचेर बोल्नुपर्थ्यो।
‘समाज बढी नियन्त्रित थियो,’ थापा भन्छन्, ‘जथाभावी बोल्न पाइने थिएन। त्यो नियम स्कुलहरुमा पनि लागू हुन्थ्यो।’
उनीसँगै पढेका साथीहरु प्रायः सबै सफल बने। उच्च पदमा पुगे।
उनी सम्झन्छन्– साथी डम्बरजंग थापालाई। उनी पनि काठमाडौंको थापा परिवारका थिए। पछि इन्जिनियर भए। भेषबहादुरकी फुपूको बिहे सोही परिवारमा भएकाले आवतजावत चलिरहन्थ्यो।
एसएलसीसम्म उनीसँगै पढेका र ज्यादै निकट भएका साथीहरु अहिले कोही पनि जीवित छैनन्। यसले थापालाई दुःखी तुल्याउँछ।
नेपालबाट अमेरिका पढ्न गएपछि भने उनलाई खास सहज थिएन।
‘निकै चुनौतीपूर्ण थियो,’ उनी भन्छन्, ‘न त नेपालको जस्तो पठनपाठन थियो। न त यहाँको जस्तो वातावरण नै थियो। आफैँले अभ्यास र पुष्टि गर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘नेपाल र अमेरिकाको तुलना गर्ने हो भने पढाउने गुरुहरुमा र शिक्षण प्रक्रियामा निकै भिन्नता थियो त्यतिबेला पनि।’
पढाइपछि २५ वर्षको उमेरमा उनी नेपाल फर्केर सिंहदरबार पुगे र सरकारी जागिरे भए। त्यसैताका भारतको लखनउमा डाक्टरी पढिरहेकी रितासँग उनको ६८ वर्षअघि विवाह भयो।
लामो सरकारी सेवा, १४ वर्ष राजदूत
भेषबहादुर थापाले जागिर खाँदा पञ्चायती व्यवस्था सुरु भइसकेको थिएन।
उनी भन्छन्, ‘राजाले कू त गरेका थिए तर त्यस्तो शासन थिएन।’
उनी आएको तीन वर्षपछि नेपालमा पञ्चायत आयो। उनी योजना आयोगमा गए। त्यसपछि नेपाल राष्ट्र बैंकका गभर्नरको रूपमा सन् १९६६ मा काम गरे।
पञ्चायतमा काम गर्न सजिलो नभएको उनी बताउँछन्।
‘नेपालमा परम्परागत सोच भएको कारण विभिन्न चुनौती थिए,’ उनी भन्छन्, ‘सँगै नयाँ सिस्टमको सुरुवात भएको थियो।’
सचिवका रुपमा काम गरिरहेका बेला १९८० मा उनी अमेरिकाका लागि राजदूत भए। त्यहाँबाट फर्केर आएपछि फेरि अर्थमन्त्री भए। पछि दोस्रो पटक अमेरिकाका लागि राजदूत भए। एक पटक भारतका लागि राजदूत भए। राजदूत भएर उनले १४ वर्ष काम गरे।
आफूले जानेजति र सकेजति सबै उपाय लगाएर देशको हितमा काम गरेको उनी बताउँछन्।
‘नेपालको उन्नति कसरी हुन्छ भन्ने कुरा मनन गरेर त्यही अनुसारको आचरण र काम गरियो,’ ८७ वर्षीय थापा भन्छन्, ‘मैले देशको लागि जिन्दगी अर्पण गरेँ। लामो समय सरकारी सेवामा बित्यो। यो भन्दा बढी राज्यलाई के दिन सकिन्छ र? मैले दिएको र गरेको राम्रो कामको मूल्यांकन मैले भन्दा पनि समाजले गर्छ। आम जनतालाई कति चित्तबुझ्दो लाग्छ, यो उनीहरुकै जिम्मामा छ।’
अहिलेसम्म आइपुग्दा मुलुकमा हरेक क्षेत्रमा निकै ठुल्ठूला परिवर्तन आएको महसुस उनले गरेका छन्।
‘अहिलेको नेपालमा र त्यो नेपालमा धेरै भिन्नता छ,’ उनी भन्छन्, ‘म बच्चा हुँदा ससानो गल्लीबाट छिर्नुपथ्र्यो। पठनपाठनमा महिलाको सहभागिता थिएन। अहिले हेर्नुस्, सबैतिर महिला छन्।’
‘हिजैजस्तो लाग्छ, दिदीहरू स्कुल जान नपाएको,’ उनले सम्झिए।
यो परिवर्तनका लागि राजनीतिक उथलपुथल र समाजको चेतनामा आएको विकास प्रमुख कारण हुन् भन्ने उनलाई लाग्छ।
नेपाली कूटनीतिका प्रभावशाली पात्र थापा परराष्ट्र मामिलामा नेपालका लागि चीन र भारतसँगको सहकार्य महत्वपूर्ण रहने बताउँछन्।
‘दुई ठूला देशका बीचमा छौँ हामी। ती छिमेकीसँग हामीले प्रतिस्पर्धा होइन, सहकार्य गरेर अघि बढ्नुपर्छ,’ उनी भन्छन्।
नेपाल र भारतबीचको सम्बन्ध सुमधुर भए पनि निकै चुनौतीपूर्ण रहेको उनको ठहर छ।
अब देशलाई कुन दिशा र उचाइमा लैजाने भन्ने कुरा नयाँ पुस्ताको जिम्मा भएको थापा बताउँछन्।
‘प्रजातान्त्रिक अभ्यासबाट सत्तामा प्रवेश गरेकाहरुले सही बाटो रोज्नुपर्छ,’ थापा भन्छन्, ‘हामी त कसले के गरेको छ भनेर हेर्न र सुझाव दिनबाहेक केही गर्न सक्दैनौँ।’
मेरो स्कुल– थप स्टोरीः
१. शुल्क तिर्न नसकेका चक्रराज पाण्डे, जसलाई आफ्नै शिक्षिकाको अप्रेसन गर्दा मिल्यो खुसी
२. धुलौटोमा अक्षर सिकेका भीम रावल: आमा र पढाइको मायाले भूमिगत हुन सकिनँ
३. अशोक राईका सहपाठी मिनेन्द्रः सम्पन्न परिवारमा जन्मिएँ, टप हुने अवसर पाएँ
४. महावीर पुन: साउदी अरब नगएर अमेरिका मोडिए, फर्केर वैज्ञानिक अन्वेषणमा जुटे
Shares
प्रतिक्रिया