ad ad

म्यागेजिन


बिग्रिएको पढाइले मोडियो जीवन : ३ बैंकको सीईओ, इसेवाका अध्यक्ष

बिग्रिएको पढाइले मोडियो जीवन : ३ बैंकको सीईओ, इसेवाका अध्यक्ष

इसेवाका अध्यक्ष पर्शुराम कुँवर (तस्बिरः सरोज नेपाल)


सम्झना घिमिरे
चैत ११, २०७९ शनिबार ६:४१, काठमाडौँ

‘तिमी पढ्न आएको? यो तिम्रो पढ्ने ठाउँ होइन, यहाँबाट गइहाल!’ 

४५ वर्षअघि पढ्ने हुटहुटी बोकेर पोखराको पृथ्वीनारायण क्याम्पस पुगेका पर्शुराम कुँवरलाई कसैले पछाडिबाट हकार्‍यो। सीए पढ्ने वातावरण नभएपछि अर्थशास्त्र पढ्न क्याम्पसतिर हानिएका उनलाई त्यो पनि ‘नपढ्न’ आएको कडा सुझावले अचम्म बनायो।

निर्देशन नमानौँ, एकातिर अपमान गरेजस्तो। अर्कोतिर आफूभित्र पलाएको पढ्ने हुटहुटी नै मर्ने। बिकम (कमर्समा स्नातक) मा पोखरा टप गरेका कुँवर असलमा चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्न चाहन्थे। 

विद्यार्थी जीवन सम्झिँदै कुँवर भन्छन्, ‘मलाई हकार्ने मेरै शिक्षक हुनुहुन्थ्यो, उहाँको प्रिय विद्यार्थी थिएँ म।’ 

ती शिक्षक कुँवरका पनि निकै प्रिय थिए। उनी पर्शुरामले अर्थशास्त्र नपढिदेओस् भन्थे। यही कारण कुँवरको पाइला पृथ्वी क्याम्पसबाट काठमाडौं मोडियो। 

जहाँ उनले थप अध्ययन मात्रै होइन, बैंकिङ क्षेत्रमा आफ्नो करिअर बनाए। र, सफलता पाउँदै गए। सातवटा बैंकको उच्च तहमा रहिसकेका कुँवर तीनवटा वाणिज्य बैंकको प्रमुख कार्यकारी (सीईओ) नै भए। 

३९ वर्ष बैंकिङ क्षेत्रमा बिताएका उनी अहिले आफ्नो सफलताको श्रेय तिनै शिक्षक र बिग्रिएको आफ्नो पढाइलाई दिन्छन्। 

बिग्रिएको पढाइले बनाएको करिअर  
‘अरु पढाइ सप्रिएर बैंकमा आइपुग्छन्, मचाहिँ बिग्रिएर सीईओ बनेँ’, उनले नेपालखबरसँग भने।

काठमाडौं आएर एमबीए गर्दा पनि अब्बल विद्यार्थी नै ठहरिएका भए उनी अहिले पोखरातिरकै कुनै विद्यालय वा क्याम्पसमा पढाइरहेको भेटिन सक्थे। वा प्रोफेसरबाट अवकाश जीवन बिताइरहेका हुनसक्थे।  

तर एमबीए बिग्रिएको लज्जाबोधले आज पनि उनलाई ‘रिटायर्ड’ जीवनमा विश्राम लिन दिएको छैन। 

अझ भनौँ, बिग्रिएको पढाइले उनलाई प्रोफेसर नबनाए पनि तीनवटा बैंकको सीईओ बन्न बाटो खोल्यो, प्रतिष्ठित कम्पनी इसेवा हाँक्ने अवसर पनि दियो। 

अंग्रेजको उपनाम 
मध्यमवर्गीय परिवारका उनी भारतमा जन्मिए। उतै कक्षा दुईमा पढिरहँदा सपरिवार २०२४/०२५ सालतिर पुर्ख्यौली थलो पोखरा आए। 

जतिबेला कुँवर नेपाली र हिन्दीभन्दा ज्यादा अंग्रेजी बोल्थे। पोखरामा यसले उनलाई ‘अंग्रेज’को पहिलो परिचय दिएको थियो। 

कक्षा ४ बाट मात्र अंग्रेजी पढाउने नेपाली विद्यालय थियो। तर उनी २ कक्षामै फरर अंग्रेजीमा कुरा गरिदिन्थे। अंग्रेजीमा पोख्त भएकाले विद्यालयमा मात्र होइन क्याम्पसमा पनि उनलाई देखेर धेरै अचम्म पर्थे। 

पढाइमा अब्बल भएकैले ती शिक्षकले पर्शुरामले पोखरामै अरुलाई पढाओस् भन्ने चाहेका थिए। उनको सोचचाहिँ शिक्षक बन्नेभन्दा सीए बनेर प्रतिष्ठित कम्पनीमा जागिर खाने थियो। 

उनी भन्छन्, ‘त्यतिबेला पोखरामा कमर्स पढाउने शिक्षक हुँदैनथे। हामी शिक्षकलाई महिनौँ दिनसम्म कुरेर बस्थ्यौँ, त्यसैले उहाँले मलाई शिक्षक बनाउन हौस्याउनुभएको थियो।’ 

शिक्षकसँगै व्यापार/व्यवसाय गरेर मनग्य पैसा कमाउन सक्ने बाटो देखाउँदै पीएन क्याम्पसको गेटबाट फर्काइएका उनलाई पोखराले एकैपटक बैंकको सीईओका रुपमा चिन्यो। 

शिक्षककै निर्देशन मान्दै २०३९ सालमा काठमाडौँ पसेका उनी न शिक्षक बने, न सीए। बिकमसम्म टप गरेका उनले एमबीएमा भनेजति मिहिनेत गर्न सकेनन्। परीक्षा नराम्रो भयो या भनौँ उनको पढाइ बिग्रियो। 

‘पास गरेर शिक्षकको रुपमा पोखरा फर्किन्छु भन्ने सोचेको थिएँ तर फेल भएपछि फर्किन लाज लाग्यो’, कुँवर भन्छन्।  

त्यही लज्जाबोध उनको जीवनकै ‘टर्निङ प्वाइन्ट’ बन्यो। 

कसरी त? 
‘मेरो पढाइ बिग्रियो, फेल हुने डरले पोखरा नफर्किन बैंक रोजेँ’, नेपालमा निजी बैंक उदाउँदै गर्दा पर्शुराम भने विरक्तिँदै बैंकमा पुगेको सम्झिन्छन्, ‘त्यसबेला एमबीए गर्ने थोरै थिए। त्यसैले पनि होला जागिर पाउन गाह्रो थिएन।’

तर उनी आफैँलाई भने अब के गर्ने भन्ने पत्तो थिएन। त्यसैबेला ४ वटा कम्पनीले कर्मचारीका लागि आवेदन मागेको उनले देखे। 

पोखरा नफर्किने भएपछि यहीँ जागिर किन नखाने? 

उनले चारवटैमा आवेदन दिए। त्यसमध्ये त्यतिबेलाको ग्रिनलेज बैंक (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) ले उनलाई बोलायो। कुँवर शिक्षक र सीए दुवै सपनालाई तिलाञ्जली दिँदै सन् १९८६ मा ‘ट्रेनी असिस्टेन्ट’को रुपमा ग्रिनलेज बैंकमा काम गर्न थाले। 

ऊ बेलाको त्यो बैंक र अहिलेका यी बैंक 
नेपाल बैंकको ३० प्रतिशत र ग्रिनलेजको ६० प्रतिशत सेयरमा नेपाल भित्रिएको ग्रिनलेज बैंकलाई कुँवर नेपाली बैंकिङ इतिहासमा महत्त्वपूर्ण मान्छन्। 

उनले थपे, ‘त्यसबेलाका बैंकले अहिलेजस्तो व्यापारमात्रै सोच्दैनथे।’ 

त्यो समयमा नेपालमा चारवटा बैंकहरु (अहिलेका इन्भेष्टमेन्ट, नबिल, नेपाल र राष्ट्रिय वाणिज्य बैंक)को उदय भइसकेको थियो। चार बैंक सञ्चालनमा आइसके पनि बैंकप्रति ग्राहकको विश्वास संग्लिएकोे थिएन। त्यसैले पनि बैंकिङ जागिर उति सजिलो नभएको कुँवरको धारणा छ। 

‘अहिले बैंकहरु कारोबारी मात्रै भए, त्यतिबेला सहयोगी पनि थिए’, उनी सारथि भएर उद्योगीलाई बैंकले बचाएको क्षण सम्झिन्छन्। 

२०४५ सालमा भारतले नेपालमा नाकाबन्दी लगाउँदा बैंकहरुले खेलेको भूमिकाकै कारण सयौँ उद्योग त्यतिबेला डुब्नबाट बचेको कुँवरको तर्क छ।  

उनी भन्छन्, ‘त्यतिबेला नेपालबाट कार्पेट उद्योग फस्टाएका थिए। निर्यात पनि राम्रो हुन्थ्यो। नाकाबन्दी लागेपछि भारतबाट धागो आउनै छाड्यो।’

धागो बन्द भएपछि कार्पेट उद्योग बन्द हुँदा ग्रिनलेजले पाकिस्तानसम्म पुगेर त्यहाँका व्यवसायी र नेपाली व्यवसायीबीच पुलको काम गरेको उनको यादमा ताजै छ। 

कुँवर ९० प्रतिशत कार्पेटको बैंकिङ कारोबार ग्रिनलेजले गरेकै कारण पनि ग्रिनलेजलाई त्यसपछि अधिकांशले ‘कार्पेट बैंक’ भन्ने गरेको बताउँछन्। 

यसरी उनले सुरु गरेको ग्रिनलेज बैंक स्ट्यान्डर्ड चार्टर्डमा विलय भयो। ट्रेनीबाट उदाएका उनी पनि स्ट्यान्डर्डमा विलय हुुँदासम्म सिनियर म्यानेजरमा बढुवा भइसकेका थिए।

झण्डै १४ वर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेका उनले त्यसपछि नेपाल बैंक, बैंक अफ एसिया (अहिलेको एनआईसी एसिया) र सिटिजन्स बैंकको नेतृत्वतहमा पुगेर काम गरे। जनता बैंक, ग्लोबल आईएमई बैंक र बैंक अफ एसिया (हालको एनआईसी एसिया) मा त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नै भए। 

‘सिक्दासिक्दै उमेर घर्किने रहेछ’ 
कुँवरले झण्डै ४ दशक लामो समय बैंकिङ क्षेत्रलाई दिएका छन्। 

गाला तन्किने गरी उनी हाँस्दै भन्छन्, ‘भर्खरै बैंक सुरु गरेजस्तो लाग्थ्यो, ३९ वर्ष कटिसकेछ।’

सिक्दासिक्दै उमेर घर्किने उनी बताउँछन्। सन् २०१२ बाट उनले अवकाश लिए पनि घर्किएको उमेरसँग उनले उति पौँठेजोरी गर्नुपरेको छैन। 

‘ज्यानमा रोग नभएपछि किन विश्राम चाहियो र?’, उनको प्रश्न छ।

फुर्सदमा उनी शिक्षक बन्ने कि भन्ने सोचमा पनि पुगेका थिए तर फेरि शिक्षक बनेर क्याम्पस फर्किन सम्भव थिएन, न त सीए बन्न नै। 

त्यसयता उनले बैंकिङसम्बन्धी तालिम तथा प्रशिक्षण दिने काम गर्दै आएका छन्। उनको स्फुर्तिले अझै पनि जो कोहीलाई माथ दिन सक्छ। 

त्यसो त उनी आफैंलाई पनि लाग्छ– अरुभन्दा उनमा बेग्लै ऊर्जा छ। त्यसैले होला नवउद्यमीहरुसँग काम गर्न झन् हौसिन्छन् कुँवर।  

पछिल्लो समय उनी अध्यक्ष रहेको इसेवा युवा पिँढीको गज्जबको उदाहरण बन्दै आएको छ। 

ऊर्जाशील र प्रविधिमा पोख्त कुँवर इसेवाका संस्थापक युवा विश्वास ढकालको टिममा निखारिएको अनुभव लिएर काँधमा काँध मिलाइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .