ad ad

म्यागेजिन


दृष्टिविहीनलाई आत्मनिर्भर बनाए, तर समाज र सरकार चिरनलाई अझै व्यवसायी होइन, ‘बिचरा’ ठान्छ


सम्झना घिमिरे
बैशाख २६ , काठमाडौँ

भनिन्छ, दृष्टिको अस्तित्व आँखासम्म मात्र हुन्छ। तर, नेपालगञ्जकी प्रशंसा क्षेत्रीलाई लाग्छ, उनको दृष्टि उनको हातमा छ। उनी आँखाबाट होइन, हातबाट मानिसका अंगअंग नियाल्छिन्, तिनका दुखाइ महसुस गर्छिन्। शरीरमा लागेको चोटभन्दा उनलाई मनमा लागेको चोट छिटो थाहा हुन्छ। त्यसैले पनि हुन सक्छ, प्रशंसा आफूकहाँ आउने हरेक ग्राहकलाई सम्झाइरहन्छिन्, आराम गर्नुस्, मन शान्त छोड्नुस्। 

आँखाले अनुहारको हाउभाउ पढ्न नपाए पनि उनी शरीरको चाललाई सजिलै पहिल्याउन सक्छिन्। जसरी हिँड्दा लौरोले बाटो पहिल्याउँछिन् उनी। 

प्रशंसा नेपाली विषयमा स्नातकोत्तर पास हुन्। कुनै बेला दृष्टि नहुँदा अन्धकारमा रुमल्लिएकी उनलाई अचेल लाग्छ, उनी आफू नै आफ्नो दीप हुन्।

प्रशंसा भन्छिन्, ‘हामी अपांगता भएका होइनौँ, हामीले आफ्नो क्षमता नचिनेर अपांगता भएका हौँ।’

त्यसैले पनि होला अचेल प्रशंसा आफ्नै कामले उजेलिएकी छिन्। 

दिनभर आफ्ना तमाम कमजोरी, दुःख/पीडालाई भुल्दै अरुको दुखाइलाई कम गर्न व्यस्त उनी एक दशकदेखि मसाज पेसामा अभ्यस्त छिन्। 

‘मेरो दृष्टि नभएको होइन रहेछ, हेर्नुस् त म तपाईंलाई हातले नै दुखाइबाट राहत दिलाउन सक्छु, तपाईंमा भएका समस्या हातले नै हेर्न सक्छु,’ उनी पुलकित हुँदै भन्छिन्, ‘हातको कलाले नै धेरै विदेशी ग्राहकहरु कयौँ समुद्र छिचोल्दै फर्कीफर्की आउने बनाएकी छु।’ 

प्रशंसाका गुरु चिरन पौडेल मसाजमा अब्बल मान्छन् उनलाई। हातले अंगका स–साना भागमा कसरी दुखाइ पहिल्याउने, कसरी दुखाइ कम गर्ने भन्ने जानकारी प्रशंसालाई उनैले सिकाएका हुन्। 

२ दशक अघिसम्म आफैँ उज्यालोको खोजीमा भौँतारिएका चिरन अहिले दृष्टिविहीनहरुको दृष्टि बन्न लागिपरेका छन्। उनी आफैँ पनि दृष्टिविहीन हुन्। त्यसैले पनि दृष्टिविहीनहरु व्यवसाय गरि आत्मनिर्भर बन्न सक्छन् भन्ने भाष्य खडा गर्न उद्धत छन् उनी। 

हातलाई नै शक्ति मानेका चिरनले प्रशंसा मात्रै नभएर १५ जनाभन्दा बढी दृष्टिविहीनहरुलाई आत्मनिर्भर हुन सिकाएका छन्। त्यसैले उनी आफू मात्रै नभएर आफूकहाँ रहेका साथीहरुलाई अक्सर भन्ने गर्छन्, ‘हामीसँग हाम्रा हेर्ने हातहरु छन्।’ 

‘सिइङ ह्ययान्ड्स’ अर्थात् हेर्ने हातहरु। 

काठमाडौँको कालधारामा रहेको सिइङ ह्ययान्ड्स नेपाल लेखिएका बोर्ड खोज्दै उनीहरुसम्म आइपुग्ने विदेशी पाहुनालाई शरीरका दुखाइ त्यहीँ छुटाएर पठाउँदा आफैँ पनि हलुका अनुभव गर्छन् चिरन। 

१० वर्ष भयो, चिरनले दृष्टिविहीनहरुलाई पनि आफूसँगै व्यावसायिक बनाएको। चिरनले संघर्षका यी वर्षहरुमा अनगिन्ती चुनौती झेले, तर तीभन्दा ठूलो चुनौती थियो, व्यवसायले भन्दा बढी दृष्टिविहीनताले चिनिनु।

दृष्टि भएका सरह व्यवसाय गरिरहँदा पनि समाजले व्यावसायिको रुपमा किन चिन्न सक्दैन? उनी अक्सर यस्तै प्रश्नसँग पौँठेजोरी गरिरहेका हुन्छन्। 

अपांगतालाई परिचय बनाएको देखेर खिन्न बन्ने उनी व्यवसायीको रुपमा समाज र सरकारले बुझिदियोस् भन्ने चाहन्छन्।

‘हामी व्यवसायी छौँ भने पनि उनीहरु हामीलाई दृष्टिविहीनको रुपमा मात्रै चिन्न खोज्छन्’, उनको अनुभवले भन्छ। 

चिरन अहिले सिइङ ह्ययान्ड्स नेपाल दुई ठाउँबाट सञ्चालन गरिरहेका छन् काठमाडौँको कालधारामा र ठमेलमा। 

मन्दीको समयमा मात्रै उनले यी दुई वटा शाखाबाट मासिक ४ लाख रुपैयाँ आम्दानी गरे। कोरोना नहुँदो हो त उनले यतिबेला पाटन, बौद्ध, ठमेल, कालधारा र बैंककमा गरी पाँच वटा शाखा सञ्चालन गरिरहेका हुन्थे। दैनिक तीन वटा शाखाबाट १० हजार जनालाई सेवा दिन थालिसकेका उनलाई कोरोनाले केही समय पछाडि धकेल्यो। 

‘कोरोनाले गर्दा हामीले बैंककको शाखा तत्काल नखोल्ने निणर्य गर्यौँ भने ग्राहक आउन ठप्प भएपछि पाटन र बौद्धको शाखा पनि बन्द गर्यौँ,’ उनले भने।

कोरोना संक्रमणले झण्डै ३ वर्ष देशमा लकडाउन हुँदा पर्यटन क्षेत्र सबैभन्दा बढी ध्वस्त बन्न पुगेको थियो। त्यही बाछिटाले चिरनका दुई शाखा पनि बन्द हुन पुगे। तीन वटा शाखाबाट २० जना भन्दा बढी कर्मचारीलाई रोजगारी दिइरहेका चिरनलाई त्यतिबेलै पनि सरकारले दृष्टिविहीन भनेरै चिन्यो, व्यवसायी भनेर चिनेन। 

‘कोभिड प्रभावित व्यवसायीलाई सरकारले सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको व्यवस्था गर्यो तर हामीले बैंकबाट कर्जा त पाउँदैनौँ, सहुलियतपूर्ण कर्जा कसरी पाउनु?’ उनी प्रश्न गर्छन्। 

राष्ट्रबैंकका अनुसार कोभिड प्रभावित व्यावसायिका लागि सरकारले वाणिज्य बैंकहरुमार्फत चालु आर्थिक वर्षको फागुनसम्म ८० करोड ५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा वितरण गर्यो। गएको तीन वर्षमा सरकारले यसरी करिब १ खर्ब बराबरको सहुलियतपूर्ण कर्जा वितरण गरको छ। तर यसमा न त सरकारले चिरनजस्ता व्यवसायीलाई समेट्यो, न उनीहरुको कुरा नै सुन्यो। 

‘बैंक जाँदा हामीलाई माग्न आएको जस्तो व्यवहार गर्दै धपाउन खोजिन्छ। म आफ्नो व्यवसाय सञ्चालन गर्न सक्छु भने व्यवसायको वित्तीय कारोबार गर्न किन सक्दिनँ?’ उनको प्रश्न छ। 

चिरन सरकारले व्यावसायिक ऋण नदिँदा आफूहरुले व्यक्तिबाट ३५ प्रतिशतसम्म ब्याजमा ऋण लिनुपरेको बताउँछन्। २०६७ सालमा व्यवसाय सुरु गर्दैताका बैंकबाट ऋण नपाएर रित्तै फर्केका उनलाई १३ वर्ष बितिसक्दा पनि बैंकले व्यावसायिक कर्जा दिँदैन। कर्जा नपाएपछि आफूलाई मसाज तालिम दिने सिइङ ह्ययान्ड्स नेपाल पोखराका संस्थापकद्वय बेलायती नागरिक रब र सुयन्ली तथा उनीहरुकै बेलायमा रहेको च्यारिटीबाट ९ लाख ऋण लिएर सुरु गरेको व्यवसायलाई उनले करोडमा पुर्याइसकेका छन्। 

पर्यटन क्षेत्रको महत्वपूर्ण हिस्साको रुपमा मसाजलाई विश्वमाझ चिनाउन तल्लीन उनी वार्षिक करोडौँको आर्थिक कारोबार गर्छन् तर उनको वित्तीय अधिकारको संरक्षण न बैंक तथा वित्तीय सस्थाले गरेको छ न त सरकारले नै। 

सफल व्यावसायिक यात्रा गरेको १० वर्ष बितिसक्दा पनि चिरनले व्यवसायको नाममा ऋण लिन पाएका छैनन् भने बैंकिङ कारोबार गर्न साक्षी लैजानै पर्ने बाध्यता छ। 

‘हामी अपांगता हुनुभन्दा समाजले हामीलाई विचराको दृष्टिकोणले हेरेको छ। जब यो दृष्टिकोणमा परिवर्तन आउँछ, त्यसबेला हामी अपांगता भएका व्यक्ति रहदैँनौँ सबल व्यवसायीको रुपमा चिनिन सक्छौँ।’

मसाज बदनाम बनेपछि सुधार्न कस्सिए चिरन
२०६३/६४ तिर नेपाली समाजमा मसाज शब्द घरेलु थियो। घरघरमा तेलले मालिस गर्ने प्रचलन भएकै कारण मसाजलाई व्यावसायिकतासँग दाँजिँदैन थियो। चिरन विश्वमा नै मसाजको सुरुवात नेपाल, भारत लगायतका देशहरुबाट भएको मान्छन्। तर व्यावसायिकतामा उति ढलिनसकेको मसाजको व्यवसाय ५० को दशकमै बदनाम बनिसकेको थियो। विशेषगरी मसाजसँग जोडेर व्यवसायीहरुले यौनजन्य गतिविधि सञ्चालनमा ल्याएपछि यो क्षेत्र थप कुख्यात हुन थालेको हो।

चिरन ०६३ सालतिर मसाजलाई लिएर राष्ट्रिय दैनिकमा छापिएको समाचार सम्झन्छन्। समाचारको शीर्षक थियो– ‘ठमेलमा मसाजको रमाइलो।’ 

त्यतिबेला चिरन बेलायती दम्पती रब र सुयन्लीले सञ्चालन गरिरहेको सिइङ ह्ययान्ड्स नेपालमा मसाजको तालिम लिँदै थिए। त्रिभुवन क्याम्पसबाट इन्टरमिडियट गरेका उनलाई मसाजको उपादेयताले तान्दै थियो। पोखरामा रहेको सिइङ ह्ययान्ड्समा तालिम लिन थालेका उनी मसाजको गुन बुझेरै त्यसमा भविष्य बुन्दै थिए। तर समाचारपछि आत्तिएका उनी थप अलमलमा परे। 

‘हामी समाचार देखेर अलमल्ल पर्यौँ, सपना देख्न डराउने हामी मसाजमा भविष्य खोज्दै गर्दा त्यो समाचारले खिन्न बनाएको थियो,’ उनले सुनाए।

‘विश्वले मसाजलाई औषधिको विकल्पमा हेर्न थालिसकेको थियो। लाखौँले मसाजबाट स्वास्थ्यलाभ गरेका समाचारहरु अन्तर्राष्ट्रिय पत्रिकामा छरपस्ट भेटिन्थे। तर नेपालमा भने मसाजलाई दुषित तुल्याउन व्यवसायीहरु आफैँ तल्लीन भेटिन्थे,’ उनले भने। 

उनीसँग त्यतिबेला दुई विकल्प थिए, पहिलो शिक्षक वा दोहोरी साँँझमा गीत गाएर गुजारा गर्नु। दोस्रो चुनौतीलाई सामना गर्दै सीप परिचालन गरेर स्वास्थ्य व्यवसायी बन्नु। 

चिरनलाई दयाको पात्र बन्नु थिएन। अझ दृष्टिविहीनहरुलाई आत्मनिर्भर बन्न नसक्ने धारणा पालेर बसेको समाजलाई देखाउनु थियो। 

‘दृष्टिविहीन भन्नेबित्तिकै परनिर्भर शब्द जोड्ने गरिन्छ अझ च्यारिटी त हुने नै भयो,’ उनी भन्छन्, ‘मलाई आफ्नो बलबुतामा व्यवसाय गर्नु थियो।’

उनी स्वतन्त्र हुन आत्मनिर्भर बन्नु पर्ने ध्येयमा थिए। हातमा मसाजको सीप र ५ वर्षको अनुभव थपिएपछि उनले दोस्रो विकल्प चुने। मसाजलाई व्यावसायीकरण गर्ने। 

व्यवसाय गर्न कस्सिएका उनलाई पोखराभन्दा काठमाडौले बढी लोभ्यायो। पर्यटकले नेपाल घुम्नुअगाडि सबैभन्दा पहिले काठमाडौँ नै आउनु पर्थ्यो। त्यसैले काठमाडौँलाई पर्यटकको हब मानिन्थ्यो। काठमाडौँमा मसाज व्यवसाय हुन सक्छ भन्ने आकलन उनले पोखरामा काम गर्दै गरिसकेका थिए।

व्यवसाय खोल्न लगानी चाहिन्थ्यो। उनी लगानीका लागि बैंकसम्म पुगे तर बैंकले दृष्टिविहीनतालाई आधार मान्दै ऋण दिन मानेन। 

‘बैंकले ऋण नदिने भएपछि पोखरामा सिइङ ह्ययान्ड्सका संस्थापक रबलाई यसको फ्रेन्चाइज खोेल्ने कुरा सुनाएँ,’ उनी सम्झन्छन्, ‘उनीहरु खुसी मात्रै भएनन्, मलाई लगानी गर्न तयार पनि भए।’ 

मसाजको नाममा बदनाम ठमेलमा मसाज सेन्टर खोल्नु उति सहज थिएन। तैपनि उनलाई लाग्यो, ठमेलमै मसाजको उपयोगिता किन नसिकाउने? 

साथीभाइहरुबाट पनि उति प्रोत्साहन नपाएका चिरनलाई लाग्यो, फोहोर सफा गर्न फोहोरभित्रै पस्नु पर्छ। मसाजलाई व्यावसायीकरण मात्रै गर्ने होइन, समाजको नकारात्मक धारणालाई पनि सफा गर्नुपर्छ। 

पहिलो शाखा ठमेलमा खुल्ने तय भए पनि दृष्टिविहीन भएकै कारण घरबेटीले विश्वास गरेनन् चिरनलाई। उनले पहिलो सर्त राखे– ‘भाडा सम्झौता अर्को आँखा देख्ने व्यक्ति ल्याएर हस्ताक्षर गराऊ।’ उनले घरबेटीको कुरा माने। 

त्यसपछि उनले २०६७ सालमा सिइङ ह्ययान्ड्स नेपाल सुरु गरे।

सुरुवातमै अविश्वासको सिकार बनेका चिरनलाई व्यवसाय गर्न सहज भएन। तर दुई वर्ष स्थानीय व्यवसायी र ग्राहकबीच पौँठेजोरी गर्दै पहिलो अवार्ड हात पारे। २०१२ मा चेन्ज फ्युचर नेपालले सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता अवार्डले चिरन र सिइङ ह्ययान्ड्स परिवारलाई सम्मानित गर्यो। 

‘जताततै समाचारमा राम्रो काम गरेर अवार्ड पाएको कुरा प्रकाशन, प्रशारण भएपछि हामीप्रतिको ग्राहक र छिमेकीहरुको धारणामा परिवर्तन आयो। उनीहरु हच्किँदै भएपनि मसाज गर्न विस्तारै आउन थाले,’ चिरनले सुनाए।

मसाजमा दृष्टिविहीन अब्बल 
सामान्यतया समान्य मानिसको तुलनामा दृष्टिविहीन व्यक्तिहरुको महसुस गर्ने क्षमता बढी हुने गर्छ। उनीहरु हातको सहायताले अरुले देख्न नसक्ने कुराहरु पनि सजिलै पत्ता लगाइदिन सक्छन्। चिरन पनि दृष्टिविहीनहरुमा छुवाइको चेतना अन्यभन्दा बढी नै हुने तर्क गर्छन्। 

‘हामीसँग छुवाइको चेतना अन्यभन्दा बढी हुन्छ, यो हाम्रो सम्पति हो। यसलाई धेरै साथीहरुले चिन्नुभएको छैन,’ उनी भन्छन्। 

शरीर रचना र बनावट मांशपेसी लगायत सूक्ष्म अंगहरुबारे जानकारी राखेर उपचार गरिने यो विधि उति सजिलो छैन। करिब १८ महिना लगाएर अध्ययन गरेपछि मात्रै पेसेवर रुपमा मसाज गर्न सकिन्छ। 

चिरन भन्छन्, ‘हामीले १८ महिनासम्म एनाटोमेनी फिजियोलोजी (शरीर रचनाशास्त्र) पढाउँछौँ।’ 

हातद्वारा शरीरका अंग र तिनले जनाउने प्रतिक्रियालाई जान्दै उपचार गर्नु वास्तवमै जटिल छ। यद्यपि समाजले मसाजलाई गलत रुपमा व्याख्या गरेको उनको गुनासो छ। 

सँगसँगै परनिर्भर हुनुपर्ने दृष्टिविहीनहरुको बाध्यतालाई अन्त्य गर्न पनि चाहन्छन् चिरन। त्यसैले पनि उनी सिइङ ह्ययान्ड्स्स नेपालबाट मसाज सेवा मात्र दिँदैनन् आफूजस्तै अन्य दृष्टिविहीन साथीहरुलाई मसाज तालिम पनि दिने गर्छन्। नेपाली समाजले व्यावसायिक मसाजलाई उति रुचाइनसकेका कारण खुलेर तालिम लिन आउनेको संख्या पनि निकै कम छ। अवसरको खोजीमा काठमाडौँ भित्रिने दृष्टिविहीनहरुलाई लक्षित गर्दै चिरनले मासिक ५ हजार छात्रवृत्ति सहित तालिम र रोजगारी पनि दिँदै आएका छन्। 

‘पर्यटन क्षेत्र उकास्ने मियो बन्न सक्छ मसाज’ 
सन् २०१९ बाट झण्डै ३ वर्ष सुस्त बनेको पर्यटन क्षेत्र प्नः चलायमान हुँदैछ। पर्यटकहरुको बढ्दै गएको आवागमनलाई लिएर सरकारले विभिन्न योजनाहरु पनि अघि सारिरहेको अवस्था छ। तर खर्चालु पर्यटकको संख्या बढ्न नसक्दा सरकारले पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन सकिरहेको छैन। नेपालमा ट्रेकिङका लागि आउने अधिकांश पर्यटकलाई खर्च गर्ने वातावरण निर्माण गर्न मसाज व्यवसाय मियो बन्न सक्ने बताउँछन् चिरन।

पैदल यात्रामा गएका पर्यटकहरु गुणस्तरीय मसाज पाउने हो भने लामो समयसम्म नेपालमा बसेर घुम्नसक्ने उनको धारणा छ। सिइङ ह्ययान्ड्सस्मा आउने ग्राहकहरु पनि मसाजपछि पुनः यात्रामा निस्कने रहर गर्छन्। पर्यटक लामो समयका लागि नेपालमै बस्ने वातावरण निर्माणका लागि पनि मसाज सेन्टरलाई सम्मानजनक पेसाको रुपमा विकास गर्नुपर्ने उनको तर्क छ। 

भन्छन्, ‘मेरो एउटा क्लिनिकबाट १ हजारभन्दा बढी ग्राहकले सेवा लिनुभएको छ। गुणस्तरीय मसाज सेन्टर ठाउँठाउँमा खुल्ने हो भने दैनिक लाखौँ पर्यटकलाई मसाज सुविधा दिन सकिन्थ्यो।’ 

बैशाख २५, २०८० सोमबार १९:३१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .