म्यागेजिन


गुडबाई नै नभनी बुबा जानु भो, धेरै कुरा मनमै रहे : राजेश हमाल

गुडबाई नै नभनी बुबा जानु भो, धेरै कुरा मनमै रहे : राजेश हमाल

यज्ञराज जोशी
फागुन ४, २०७६ आइतबार १४:२३,

‘यात्रा त मेरो अब लामै छ, उमेर २१ मात्रै भएपनि...’ राजेश हमालले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहको आधा भरिएको हलमा यसो भन्दा उपस्थितहरु गलल्ल हाँसे।

त्यसपछिको डेढ घण्टा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उनले आफ्नो तीन दशक लामो चलचित्र जीवनका उतारचढाव सुनाए। सो क्रममा आफ्ना दर्शकलाई हमालले कहिले हँसाए, कहिले भावुक बनाए भने कहिले सोच्न बाध्य पारे।

सन् १९९१ मा पहिलो चलचित्र रिलिज भएदेखि नै हमालले नेपाली सिनेमामा एकछत्र राज गरे। उनकै भनाइमा दुई दशक उनी यति व्यस्त रहे कि उनी दिनको १४ देखि १८ घण्टा क्यामेराकै अघिल्तिर हुन्थे।

‘मेरो चलचित्र करिअरमा २२–२३ वर्ष अत्यन्त व्यस्त रह्यो। मेकअप नगरी कुनै पनि महिना बित्दैनथ्यो,’ उनले भने।

धेरैलाई लाग्छ, हमालले अभिनय यात्राको सुरुवात ‘युगदेखि युगसम्म’बाट सुरु गरेका हुन्। तर, त्यसअघि नै उनले चलचित्रमा खेल्ने मौका पाएका थिए। यद्यपि केही समय छायांकन भइसकेपछि अभिनय नजानेको भन्दै उनलाई चलचित्रबाट निकालिएको थियो।

‘मेरो पहिलो गाँसमै ढुंगा लागेको थियो,’ हमालले आफ्नो पहिलो अभिनय अनुभव सुनाए, ‘१० प्रतिशतजति छायांकन भइसकेको चलचित्र मैले छोड्नुपरेको थियो। फिल्मका निर्देशक, निर्माताले तपाईं अभिनय गर्न सक्नुहुन्न भन्दै मलाई निकालेका थिए।’

उनले यो घटना सुनाइरहँदा धेरै दर्शक आश्चर्यचकित र भावुक बनेका थिए।

Rajesh_hamal_ygya.jpg

पहिलो कदममा ठेस लागेपनि हमालले आफूलाई हतोत्साहित हुन दिएनन्। निर्देशक, निर्माताले जस्तो मूल्यांकन गरेपनि आफू कलाकार बन्न सक्छु भन्ने आत्मविश्वासमा उनीले ह्रास हुन दिएनन्।

‘त्यसको दुईवर्षपछि जो व्यक्तिले तपाईं कलाकार बन्न सक्नुहुन्न, चलचित्रमा काम गर्नसक्नुहुन्न भन्नुभएको थियो, उहाँहरुले नै मलाई अर्को फिल्मको प्रस्ताव गर्नुभयो। त्यो फिल्म युगदेखि युगसम्म थियो,’ हमालले पहिलो चलचित्र कसरी पाएका थिए, सुनाइरहँदा दर्शकले ताली र सिटी बजाएर हल गुञ्जयमान बनाए।

‘५–१० प्रतिशत छायांकन भइसकेको पार्ट उहाँहरुले हेर्नुभयो होला र स्क्रिनमा हेर्दा अलिकति दम भेट्नु भयो कि भन्ने मलाई लाग्यो,’ उनले थपे।

हमालले पहिलो चलचित्रमा काम गर्दा बनेका नेपाली चलचित्रको संख्या एक दर्जन हराहारी मात्रै थियो। दुईतीन वर्षमा एउटा चलचित्र बन्थ्यो। मानिसहरु शौख पूरा गर्नमात्रै चलचित्र बनाउँथे। त्यसबेला अभिनय, चलचित्रमा भविष्य छ भनेर कसैले कल्पनासम्म गर्दैनथ्यो।

तर, हमाल भविष्यको हिसाब गरेर निराश बनेनन्। उनले वर्तमानमा जे छ, त्यसैलाई उपयोग गरिरहे।

परिणाम, उनको पहिलो चलचित्र नै हिट भयो। दर्शकलाई हलसम्म तान्यो। युगदेखि युगसम्मले नेपाली चलचित्रमा ‘मिनी रिभोलुसन’ नै ल्याएको हमालको ठम्याइ छ।

‘युगदेखि युगसम्म रिलिज भएको एक–डेढवर्षपछि नै म दैनिक कमसेकम १२–१४ घण्टा काम गर्थेँ,’ तालीका बीच हमालले सुनाए, ‘एकैपटक दुई तीन वटा चलचित्रमा पनि काम गरेँ।’

त्यसपछिका उनका फिल्महरु कसम, देउता, एक नम्बरको पाखे, हामी तीन भाइ, अजम्बरी नाता, आदि सालैपिच्छे रिलिज भए। उनले दुई सयभन्दा बढी चलचित्रमा खेले। फिल्मको गुणस्तरमा प्रश्न उठिरहे पनि उनले किन बढीभन्दा बढी फिल्ममा अभिनय गरे त?

‘धेरै चलचित्र बनेपछि यो क्षेत्रको विस्तार हुन्छ र फस्टाउने अवसर पाउँछ भन्ने ठानेँ,’ उनी भन्छन्, ‘पहिलो चलचित्र गर्दा हामीसँग क्यामेराम्यान, मेकअप म्यानकै अभाव थियो। तर, चलचित्रको संख्या बढ्दै जाँदा यससँग सम्बन्धित मान्छे पनि बढ्दै गए। धेरै लगानीकर्ताहरु मसँगै चलचित्र बनाउन चाहन्थे। उनीहरुलाई पनि मैले निराश पारिनँ।’

देउता (१९९३) चलचित्र बनाउँदा भारतबाट प्राविधिकहरु ल्याएर ९० दिनसम्म राख्नुपरेको अनुभव उनले सुनाए।

‘चलचित्रले समाजसँग जोड्यो’
उनका बुबा चुडाबहादुरले २२ वर्षको उमेरमा बनारसबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका थिए। आमा रेणुपनि लखनउमा पढ्थिन्।

‘संयोगवश बुबा र मुमा दुवैको घर पाल्पा रहेछ। उहाँहरुको आउँदा जाँदा भेट हुने रहेछ। सम्बन्ध विस्तार हुँदै गर्दा बिहे गर्ने निर्णयमा पुग्नुभएछ,’ हमालले भने।

बनारसमा अध्ययन सकेर पाल्पा आएका चुडा स्थानीय पद्मोदय हाइ स्कुलमा प्राध्यानाध्यापक बने। त्यहीबेला पाल्पामै उनको जन्म भयो। तर, उनी एक वर्ष नपुग्दै परिवार काठमाडौँ आयो।

बुबाले परराष्ट्र मन्त्रालयमा नाम निकाले। त्यसपछि बुबा जहाँ पुगे, उनी पनि त्यहीँ पुगे। हमालले पाकिस्तान, दिल्ली, रुस, थाइल्याण्डमा गर्दै हाइस्कुल सक्दासम्म चारपाँच राष्ट्रमा स्कुले जीवन बिताइसकेका थिए। उनले उच्च शिक्षा चाहिँ चण्डिगढबाट पूरा गरे।

यसरी बाल्यकालको अधिकांश समय विदेशमा गुजारेको आफूलाई चलचित्रले नेपालमा ल्याएको र यहाँको समाजमा जोडेको उनको अनुभव छ।

‘मैले नेपाली सामाजकै पात्रका रुपमा आफूलाई प्रस्तुत गरेँ। कहिले पाले दाइ, कहिले एक नम्बरको पाखेजस्ता भूमिकामा देखिएँ,’ उनले भने, ‘नेपालीहरुले तिनै भूमिकामा आफूलाई देख्न थालेपछि समाजसँग मेरो सम्बन्ध गहिरो बन्यो।’

rajesh_hamal_8.jpg

परिवारले नरुचाएको क्षेत्र
बुबाको पहिलो पोस्टिङ पाकिस्तानमा भएको थियो। अन्तिम पोस्टिङपनि पाकिस्तानमै भयो। पाकिस्तानी राष्ट्रपतिलाई भेटेर फर्कने क्रममा गाडीमै श्वास फुलेर ५६ वर्षको उमेरमा चुडाको निधन भयो।

भारतमा मोडलिङको अनुभव लिएका उनले त्यसबेला नेपाली चलचित्रमा काम गर्ने निर्णय गरिसकेका थिए। युगदेखि युगसम्म प्रदर्शनका लागि तयार थियो।

तर चलचित्रमा कुनै भविष्य नभएको भन्दै यसप्रतिको हमालको लगावलाई परिवारले पटक्कै मन पराएको थिए। ‘बुबाले पटकपटक अन्य काममा लाग्न सुझाव दिनुभएको थियो,’ उनले भने। तर, हमालले मन बदलेनन्।

पाकिस्तान पोस्टिङ भएर बुबा विदा हुँदा चिसिएकै सम्बन्धका कारण बुबाछोराबीच विदाबारी समेत हुन पाएन। उनले अचानक बुबाको मृत्युको खबर मात्रै सुने। यसले उनलाई अझै पनि पोल्ने गर्छ।

‘म त्यसबेला गोपीकृष्ण चलचित्रको छायांकन गर्दै थिएँ। बुबालाई त्यसबारे थाहै थिएन। बुबा गुडबाई नै नभनीकन पाकिस्तान जानु भयो,’ हमालले आँखा रसिला बनाउँदै सुनाए, ‘म राम्रै गर्दै थिएँ। पछि राम्रो गरेर बुबा आमालाई खुसी पार्छु भन्ने सपना थियो। तर, बुबालाई एक्कासि गुमाउँदा धेरै कुरा अधुरा रहे। धेरै कुरा मनमै रहे।’

rajesh_hamal_3.jpg

‘छोरालाई देशविदेश घुमाए। यस्तो बनाए। अहिले यस्तो क्षेत्रमा लाग्दैछ जसको भविष्यपनि छैन। भनेर अभिभावकको हिसाबले उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो,’ उनले थपे, ‘तर तपाईमा जुन प्यासन छ। एकचोटी त्यसमा ट्राइ गर्नुपर्छ। यसअघि त्यस क्षेत्रमा कोही सफल नभएको भएपनि त्यसमा लाग्दा तपाईं आफैँ सफल हुन सक्नुहुन्छ भन्ने मनसायले म यसैमा लागेँ।’

परिवार साथीभाइको साथ नभएपछि त्यसबेला उनी एक्लै अघि बढे। सबै विषयमा एक्लै निर्णय गर्थे। सुखदुःख साट्ने पनि कोही थिएन। घरमा छायांकन गरेर फर्किंदा कुन चलचित्रमा काम गरेर आएको भनेर चासो दिने मान्छे पनि थिएनन्। उनको पहिलो चलचित्र युगदेखि युगसम्मको प्रिमियरमा समेत परिवारका कोही सदस्य गएका थिएनन्।

‘त्यति हुँदा पनि मेरो कलाप्रतिको विश्वास दरो थियो। आफ्नो हौसला आफैँ बुलन्द गर्ने क्षमता अद्भूत थियो। म हतोत्साहित भइनँ,’ हमालले भने।

अझै पनि चलचित्रमा अभिनयको उनको भोक मरेको छैन।

‘चलिचत्र गर्ने धोको अझै मरेको छैन। नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्ने सोचिरहेको छु। तीनवर्ष चलचित्र नगरेपनि मेरो उमेर त अहिले पनि २१ नै हो,’ मजाक गर्दै राजेशले संवाद टुंग्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad