ad ad

म्यागेजिन


चुनावमा कसैले तोड्न नसकेको ‘शेरे धनुषा’ को त्यो रेकर्ड

चुनावमा कसैले तोड्न नसकेको ‘शेरे धनुषा’ को त्यो रेकर्ड

२०४३ मा राष्ट्रिय पञ्चायत निर्वाचनमा विजयी भएपछि हेमबहादुर–शारदा मल्ल दम्पती विजय जुलुसमा


सीताराम बराल
बैशाख २९, २०७९ बिहिबार ११:५८, काठमाडौँ

निर्वाचनमा देशभरिबाट सबैभन्दा धेरै मत ल्याउनेलाई त्यो चुनावको ‘नायक’ (म्यान अफ दि इलेक्सन) मान्ने चलन छ। 

पहिलो संविधान सभा निर्वाचनमा ४६ हजार २ सय ७२ मत ल्याएर तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई ‘म्यान अफ दि इलेक्सन’ बनेका थिए। २०७४ को आम निर्वाचनमा झापा–५ मा ५७ हजार १ सय ३९ मत ल्याएर एमाले अध्यक्ष केपी शर्मा ओली ‘म्यान अफ दि इलेक्सन’ बने। 

प्रत्येक निर्वाचनपिच्छे यस्ता ‘रेकर्ड’ बनिरहन्छन्। तर, २०४३ को आम (राष्ट्रिय पञ्चायत सदस्य) निर्वाचनमा धनुषाबाट निर्वाचित हेमबहादुर मल्लले जुन रेकर्ड बनाए, त्यो रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन। 

त्यो निर्वाचनमा मल्ल ९३ हजार १ सय ४९ मत प्राप्त गरी राष्ट्रिय पञ्चायत (पञ्चायतकालीन संसद) सदस्यमा विजयी भएका थिए। आफूमात्र अत्याधिक मतका साथ विजयी भएनन्, आफ्नी श्रीमती शारदा मल्ललाई पनि हेमबहादुरले विजयी बनाएर राष्ट्रिय पञ्चायतमा पुर्याए।    

त्यसयता ४ पटक ‘स्थानीय’ र ६ पटक ‘संसद’ (संविधान सभा समेत) १० पटक निर्वाचन भइसकेका छन्। जनसंख्या वृद्धिसँगै प्रत्येक निर्वाचनमा मतदाताको संख्या पनि बढेको छ। 

तर, हेमबहादुर मल्लले प्राप्त गरेको मतलाई कसैले माथ गर्न सकेका छैनन्। सम्भवतः ३० वैशाख (२०७९) मा हुने स्थानीय तहको दोस्रो निर्वाचनमा पनि कसैले त्यो रेकर्ड तोड्न सक्ने छैन। 

‘शेरे धनुषा’ 
पञ्चायतकालमा ‘वालिग मताधिकार’ का आधारमा पहिलो आम निर्वाचन २०३८ मा भएको थियो। त्यो निर्वाचनमा सर्वाधिक मत प्राप्त गरी विजयी हुने उम्मेदवार मल्ल नै थिए। २ लाख २७ हजार १३ मतदाता रहेको धनुषाबाट ७६ हजार २ सय ७० मत प्राप्त गरी उनी राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए।

त्यो निर्वाचनमा सर्वाधिक मत प्राप्त गरी विजयी बनेपछि उनको परिचय ‘शेरे धनुषा’ (धनुषाको शेर) बन्यो।  

‘धनुषाको शेर’ (सिंह) भन्ने यो परिचयलाई उनले २०४३ को निर्वाचनमा सर्वाधिक ९३ हजार १ सय ४९ मत प्राप्त गरी कायमै राखे।  

त्यो निर्वाचनमा दोस्रो सर्वाधिक मत प्राप्त गर्नेमा काठमाडौँबाट विजयी जनपक्षीय उम्मेदार पद्मरत्न तुलाधर थिए। तुलाधर ८६ हजार १ सय ५५ मत प्राप्त गरी विजयी भएका थिए।

‘२०४३ को निर्वाचनअघि उहाँ मन्त्री हुनुहुन्थ्यो, काठमाडौँमा रहेका बेला उहाँ धनुषाका सर्वसाधारणलाई पशुपति दर्शनका लागि आफैँले बसको व्यवस्था गरी काठमाडौँ बोलाउनुहुन्थ्यो’ पञ्चायतकालको उत्तरार्धमा कोशी अञ्चलाधीश समेत रहेका संविधान सभा (२०६४) सदस्य सूर्यबहादुर सेन (ओली) ले भने, ‘एकाध होइन, पाँच सय–हजारको संख्यामा धनुषाका गरिब मानिसहरु उहाँले व्यवस्था गरेको बस चढेर पशुपति दर्शनका लागि आउँथे। त्यसैले, उहाँ जिल्लामा निकै लोकप्रिय हुनुहुन्थ्यो।’ 

पशुपति दर्शनका लागि आएकाहरुलाई गाँसबासको व्यवस्था पनि मन्त्री निवासभित्रै हुने गर्थ्यो। बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि शक्तिमा नरहेका बेला पनि धनुषाबाट दैनिक आउने सर्वसाधारणहरु सानेपास्थित मल्लको निवासमा गाँसबासका लागि आश्रय लिइरहेको देखिन्थ्यो। 

‘मन्त्री हुँदा बुबाले तराईका गाउँ–गाउँमा ट्युबेल गाड्ने र इनार खन्ने काम गर्नुभयो, कृषिमा आधुनिकीकरणको सुरुवात पनि उहाँ कृषिमन्त्री छँदा नै भएको हो’, हाल राप्रपाको केन्द्रीय सदस्य रहेका हेमबहादुरपुत्र मनोजले नेपालखबरसँग भने, ‘त्यसैले, धनुषाका जनताले उहाँलाई सम्मान गरेर उहाँलाई ‘शेरे धनुषा’ भन्न थाले।’ 

 

पूर्वअञ्चलाधीश सेनको भनाइमा, ठकुरी समुदायको भए पनि धनुषामा मल्ल पहाडी समुदाय भन्दा मधेशी समुदायका मतदाताबीच लोकप्रिय थिए। 

‘ठकुरी समुदायको र जमिनदार भएकाले कतिपय मानिसहरु उहाँलाई शोषक पनि भन्थे। तर, धनुषाका ग्रामीण समुदायका मानिसहरुका लागि उहाँ ‘संरक्षक’ हुनुहुन्थ्यो,’ २०४३ ताका सप्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका सेनले थपे, ‘यही कारण पनि उहाँको परिचय ‘शेरे धनुषा’ को रुपमा बन्यो। धनुषामा उहाँको साथ पाएको व्यक्ति पनि शक्तिशाली मानिन्थ्यो।’ 

‘शेरे धनुषा’ अहिले यो संसारमा छैनन्। ११ वर्षअघि २०६८ जेठमा उनको निधन भयो। वृद्धावस्थामा रहेकी शारदा भने राजनीतिमा निष्क्रय छिन्। छोरा मनोज लगायत पारिवारिक सदस्यहरु धनुषामा ‘शेरे धनुषा’ कै विरासतको राजनीति गरिरहेका छन्। 

‘हामी परिवारका सदस्यहरु अहिले राजनीतिमा जहाँ–जहाँ छौँ, त्यो बुबाकै कारणले भएको हो,’ छोरा मनोज भन्छन्, ‘बुबाका कारण धनुषाका मानिसहरु अहिले पनि हामीलाई स्नेह गर्छन्। बुबाले जिल्लामा बलियो जग बसालिदिनु भएकाले हामीलाई पनि सहज भएको छ।’  

श्रीमान–श्रीमतीकै विजय  
२०३७ को जनमत संग्रहपछि संविधान संशोधन गरी वालिग मताधिकारका आधारमा राष्ट्रिय पञ्चायतको निर्वाचन हुने व्यवस्था गरियो।  

राजाबाट मनोनित २८ र ७५ जिल्लाबाट वालिग मताधिकारका आधारमा निर्वाचित १ सय १२ गरी राष्ट्रिय पञ्चायत १ सय ४० सदस्यीय थियो। ७५ जिल्लाबाट १ सय १२ निर्वाचित हुने भएकाले अलिक धेरै मतदाता कतिपय जिल्लाबाट २ जना निर्वाचित हुन्थे। यसमध्ये धनुषाले पनि दुई जनालाई निर्वाचित गरी राष्ट्रिय पञ्चायतमा पठाउँथ्यो।  

२०३८ को निर्वाचनमा पनि सर्वाधिक मत प्राप्त गरेका ‘शेरे धनुषा’ ले २०४३ को निर्वाचनमा धनुषाबाट आफूमात्र होइन, श्रीमती शारदा मल्ललाई पनि प्रतिस्पर्धामा उतार्ने निर्णय गरे। 

‘पञ्चायतकाल थियो, २–४ जना चाकडीबाजले तपाईं राजाजस्तै लोकप्रिय हुनुहुन्छ, चुनाव जित्न गाह्रो छैन, श्रीमान–श्रीमती नै निर्वाचित भएर जानुभयो भने राष्ट्रिय पञ्चायतमा तपाईंहरुको जोडी राजा–रानीको जोडीजस्तै हुन्छ भनिदिएछन्,’ नातामा हेमबहादुरका नाति पर्ने धनुषाका राप्रपा नेता सम्पत मल्लले भने, ‘त्यसपछि २०४३ मा उहाँहरु दुवै जना धनुषाबाट राष्ट्रिय पञ्चायतका लागि प्रतिस्पर्धामा उत्रनुभयो।’ 

हेमबहादुर–शारदापुत्र मनोज मल्ल भने धनुषामा धेरै राजनीतिक खिचातानीका कारण विकास निर्माणका काममै अवरोध हुन थालेपछि आफ्ना बुबाले आमा शारदाका साथ आफैँ निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय लिएको दाबी गर्छन्। 

‘बुबा कुनै विकासको योजना अघि सार्न खोज्नुहुन्थ्यो, उहाँका प्रतिस्पर्धीहरुले त्यसलाई असफल पार्न खोज्थे,’ मनोजले भने, ‘विकास निर्माणका काममा कतैबाट अवरोध नहोस् भनेर उहाँले मुमालाई पनि प्रतिस्पर्धामा उतार्नु भएको हो।’

हेमबहादुर मल्ल र शारदा मल्ल

त्यो निर्वाचनमा धनुषामा मल्ल परिवारबाट हेमबहादुर र शारदा मल्ल मात्र होइन, कृष्णप्रताप मल्ल पनि प्रतिस्पर्धामा उत्रिए। त्यसअघि कृष्णप्रताप धनुषा जिल्ला पञ्चायतको सभापति थिए। 

कृष्णप्रताप हेमबहादुरका जेठा दाजु दुर्गाबहादुरका पुत्र हुन्। व्यापार–व्यवसायमा संलग्न कृष्णप्रतापलाई राजनीतिमा ल्याउने काम हेमबहादुरले नै गरेका थिए। व्यापार–व्यवसाय छाडेर २०३४ मा राजनीतिमा संलग्न भएपछि उनी प्रधानपञ्च, जिल्ला पञ्चायत सदस्य र धनुषा जिल्ला पञ्चायतको सभापतिसम्म बने। 

जिल्ला पञ्चायत सदस्य हुँदासम्म ठीकै थियो। तर, भतिज कृष्णप्रतापले सभापति समेत बनेर सहज रुपमा राजनीतिको सिँढी चढ्न थालेपछि हेमबहादुरले उनलाई प्रतिस्पर्धीका रुपमा देख्न थाले। त्यसैले, २०४३ को आम निर्वाचनसम्म काका–भतिजबीच राजनीतिक फाटो आइसकेको थियो।  

मल्ल परिवारबाट हेमबहादुर–शारदा र उनीहरुलाई चुनौती दिँदै भतिज कृष्णप्रताप मल्लसमेत २०४३ को आम निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएपछि धनुषाको राजनीतिक थप रोचक र प्रतिस्पर्धापूर्ण भयो। 

कृष्णप्रताप काका हेमबहादुरको चाहनाविपरीत २०३९ मा जिल्ला पञ्चायत सभापतिमा विजयी भएका थिए। त्यसैले, भतिज कृष्णप्रताप पनि जिल्लामा कम शक्तिशाली र लोकप्रिय थिएनन्।

तर, ‘शेरे धनुषा’ को अगाडि कसको जोर चल्थ्यो! मतगणनापछि जिल्ला निर्वाचन कार्यालयले मल्ल दम्पत्ति विजयी भएको घोषणा गर्यो।  

अहिलेसम्म कसैले तोड्न नसकेको ‘रेकर्ड–मत’ सहित हेमबहादुर रापंसमा विजयी हुँदा पत्नी शारदा ५३ हजार ९ सय ९६ मतसहित पति हेमबहादुरलाई पछ्याउँदै रापंस निर्वाचित भइन्। 

त्यो निर्वाचनमा हेमबहादुरको चुनाव चिन्ह ‘हात्ती’ थियो भने शारदाको ‘डुङ्गा’। विजयी हेमबहादुर र दोस्रो बढी मत प्राप्त गरेकी शारदाको मतान्तर ३९ हजार १ सय ५० थियो। 

हेमबहादुर मल्ल र शारदा मल्ल

२०४३ को आम निर्वाचनमा शारदासहित ३ जना महिला रापंसमा निर्वाचित भएका थिए। बाँकी दुई महिला रापंसमा लक्ष्मी सिंह (सर्लाही) र चन्दा शाह (बारा) थिए। 

एक, ‘शेरे धनुषा’ को उपमा पाएपछिको निर्वाचनमा २०३८ को निर्वाचनमा आफूले पाएको सर्वाधिक मतको रेकर्ड हेमबहादुर आफैले तोडे। दुई, त्यो निर्वाचनमा उनी आफूमात्र विजयी भएनन्, श्रीमती शारदा मल्ललाई पनि रापंसमा विजयी बनाए।

सेनले भने, ‘आफूसँगै श्रीमती शारदालाई पनि रापंसमा जिताएपछि उनी साँच्चिकै ‘शेर’ रहेछन् भन्ने प्रमाणित भयो।’ 

विवादित विजय 
२९ वैशाख (२०४३) मा भएको निर्वाचनमध्ये धनुषाको मत परिणाम ४ जेठ (२०४३) मा भएको थियो। त्यसक्रममा हेमबहादुर मल्ल र शारदा मल्ल दुवै जना विजयी भएको घोषणा गरियो। 

तर, त्यो मत परिणाम विवादरहित हुन सकेन। ‘शेरे धनुषा’ माथि आतंक सिर्जना र धाँधली गरी लोग्ने–स्वास्नी नै विजयी हुने वातावरण सिर्जना गरेको आरोप लाग्यो। 

आरोप लगाउनेमा उनकै प्रतिस्पर्धी भतिज कृष्णप्रताप मल्ल पनि थिए। अन्य उम्मेदवारहरुले पनि धाँधली गरी मत परिणाम आफ्नो पक्षमा पारेको आरोप लगाए।

‘त्यो बेला जनकपुर अञ्चलको अञ्चलाधीश ललित बम थिए, निर्वाचनअघि मन्त्री रहेकाले हेमबहादुरले उनलाई प्रभावमा पारे,’ पराजित कृष्णप्रतापले नेपालखबरसँग भने, ‘मतदानपछि जनकपुरमा जम्मा भएका पतपेटिका साट्ने हर्कत गरियो। सत्ता र शक्तिको प्रयोग र आतंकमार्फत् श्रीमान्–श्रीमति नै विजयी भएको घोषणा गरियो।’ 

कृष्णप्रतापका भनाइमा, उनलाई त्यो निर्वाचनमा प्रतिस्पर्धाका लागि राजा वीरेन्द्रका कान्छा भाइ अधिराजकुमार धीरेन्द्रले प्रोत्साहित गरेका थिए। 

तर, हेमबहादुरलाई राजा–रानीकै साथ थियो। त्यसैले, दरबरकै शक्तिशाली समूह ‘शेरे धनुषा’ को पक्षमा उभिएपछि उनको केही जोर चलेन। 

राजपरिवारका सदस्यहरु उपस्थित कार्यक्रममा कृषि मन्त्री हेमबहादुर मल्ल  

२०३८ को आम निर्वाचनमा धनुषाबाट हेमबहादुरसँगै राष्ट्रिय पञ्चायतमा निर्वाचित देवनारायण यादव पनि २०४३ को त्यो विवादास्पद निर्वाचनमा हेमबहादुर–शारदाबाट पराजित भए।
अन्तिम पञ्चायती आम निर्वाचनमा आफ्नै काका–काकीबाट पराजित कृष्णप्रतापलाई संसदमा पुग्न बहुदलीय व्यवस्था नै कुर्नुपर्यो। २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई धनुषा–४ बाट पराजित गरी कृष्णप्रताप राप्रपाको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।  

हाल राप्रपा धनुषाको राजनीतिमा सक्रिय रहेका सरिनप्रताप मल्लका भनाइमा, उनका पिता कृष्णप्रतापले रापंस निर्वाचनमा आफूहरु (हेमबहादुर–शारदा) विरुद्ध प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि परिवार नै सिध्याइदिने षडयन्त्रसमेत गरेका थिए।  

निर्वाचन प्रचार–प्रसारको सिलसिलामा गएका कृष्णप्रताप २०४२ को चैत्रमा जलेश्वरबाट जनकपुर फर्कँदै थिए। उनी सवार जीपमा श्रीमती उषा मल्ल र अन्य सहयोगी थिए। त्यसैक्रममा विपरीत दिशाबाट आएको एउटा ट्रकले कृष्णप्रताप मल्लको परिवार सवार गाडीलाई जोडका साथ ठक्कर दियो।

‘गिदी नै छताछुल्ल हुने गरी मेरी श्रीमती उषाको ‘अन द स्पट’ निधन भयो, ड्राइभर र अर्काे एकजना सहयोगी पनि त्यो घटनामा परी मारिए, म बेहोस भएँ र उपचारका लागि काठमाडौँ ल्याइएँ’ कृष्णप्रतापले भने, ‘धेरै मानिसहरु मैले निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि हेमबहादुर मल्लले मविरुद्ध गरेको षडयन्त्रको रुपमा लिन्छन्। धनुषामा हेमबहादुरकै राज थियो। केही गर्न सक्ने स्थिति नै थिएन।’ 

‘त्यो भवितव्यवश भएको दुर्घटना थिएन, आफूविरुद्ध निर्वाचनमा खडा भएको रिसमा हेमबहादुर मल्ले रचेको षडयन्त्र थियो,’ नेपाली सेनाको सेनानी (मेजर) बाट अवकाशपछि राप्रपा राजनीतिमा संलग्न सरिनले भने, ‘आफू र श्रीमतीसहित राष्ट्रिय पञ्चायतमा पुग्ने हेमबहादुर मल्लको महत्वाकांक्षाले गर्दा हामीले मुमालाई गुमायौँ, हामी सानैमा टुहुरा भयौँ।’  

मनोज भने आफ्ना बुबा ‘शेरे धनुषा’ प्रतिको ईर्ष्यावश कृष्णप्रताप मल्लको परिवारले झुठो आरोप लगाएको दाबी गर्छन्।

‘त्यो घटना धनुषामा होइन, महोत्तरीमा भएको थियो,’ उनले भने, ‘निर्वाचनमा बुबा–आमालाई जित्न नसक्ने स्थिति सिर्जना भएपछि विपक्षीहरुले चुनावी मसला बनाउन मात्र त्यस्तो आरोप लगाएका हुन्।’ 

‘शेरे धनुषा’ जिल्लामा अवश्य पनि लोकप्रिय थिए। तर, पञ्चायती कालमा उनको आतंक पनि उत्तिकै थियो। विपक्षीहरुलाई उनी देखिसहँदैनथे। दरबार ‘दाहिना’ भएकाले गल्ती गर्दा पनि उनलाई कसैले छुन सक्दैनथ्यो। 

प्रधानमन्त्री मरिचमान सिंह (बायाँ) का साथ कृषिमन्त्री हेमबहादुर मल्ल 

यस्तो स्थितिमा त्यति धेरै मत उनको लोकप्रियताको आधारमा मात्र प्राप्त भएको थिएन। त्यसमा धाँधली र आतंकको पनि अवश्य भूमिका थियो। निर्वाचनको दिन, २९ वैशाख (२०४३) जिल्लाको बसैया निर्वाचन केन्द्रमा हुलदंगा सिर्जना गरिएपछि मतदान स्थगित गरी अर्काे दिन मतदान गरिएको थियो। त्यसैले, त्यसैले, ‘शेरे धनुषा’ का विरोधीहरुले लगाएको धाँधलीको आरोप पुरै असत्य थिएन। 

‘त्योबेला हेमबहादुर मल्लको जुन शक्ति र हैसियत थियो, उनले धनुषामा गर्न नसक्ने कुरा केही थिएन’ पूर्वअञ्चलाधीश सेनले भने, ‘निर्वाचनमा त्यो शक्ति र हैसियतको प्रयोग वा दुरुपयोग के गरे, त्यो चाहिँ म भन्न सक्दिनँ।’ 

जे होस्, निर्वाचन आयोगले त्यहाँको निर्वाचन र मत परिणामलाई मान्यता दियो। निर्वाचन अधिकृतले हेमबहादुर मल्ल ९३ हजार १ सय ४९ मत र शारदा मल्ल ५३ हजार ९ सय ९६ मत प्राप्त गरेको घोषणा गरे। 

त्यसयता यस्तो कुनै ‘माइका लाल’ नेपालमा जन्मेको छैन, जसले ‘शेरे धनुषा’ ले बनाएको त्यो मतको रेकर्ड तोड्न सकोस्। 
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .