ad ad

Nepal Khabar TV


कोशी नामकरणले सल्किएको आगो निभ्ने छाँट देखिँदैन


जेवी पुन मगर
बैशाख ११ , काठमाडौँ

धेरैको ध्यान चितवन, तनहुँ र बाराको चुनावी माहोलमा भुलेको बेला हिँजो ९ वैशाखमा पूर्वाञ्चलको प्रमुख शहर विराटनगर चाहिँ पूरै अशान्त र त्रासमा थियो। प्रहरी र प्रदर्शनकारीहरुबीच भएको झडपले निकै तनाव सिर्जना गर्यो। 

हुन त सम्पूर्ण राजनीतिक शक्ति केन्द्रित उपनिर्वाचनको तापलाई यो भीडन्तले केही असर पुर्याएको देखिँदैन, न त्यो घटनाले संघीय राजधानी काठमाडौंलाई नै केही प्रभाव पारेको देखिन्छ। तर घटना चाहिँ नेपाली समाजको स्वास्थ्यका निम्ति दुरगामी प्रभाव पार्ने प्रकृत्तिको देखिन्छ।

कुनै न कुनै रुपमा पूर्वाञ्चलका १४ जिल्लाको जनजीवन अस्तब्यस्त बनाउने गरी स्थानीय सरकार र आन्दोलनकारीहरुबीच चलिरहेको अहिलेको द्वन्द्वको जड पुरानै भएपनि शुरुआत चाहिँ फागुन १७ बाट भएको देखिन्छ। 

सबै प्रदेशले आफ्नो न्वारान गरिसक्दा पनि पाँच वर्षसम्म नामकरणको लफडामा फसेको प्रदेश नम्बर १ प्रदेशसभाले फागुन १७ गते दुई तिहाई बहुमतबाट कोशी प्रदेश नामकरण गर्यो। नमकरण मात्र गरेन, त्यसको भोलिपल्ट नामकरणको खुशीयाली सेलिब्रेट गर्न सार्वजनिक बिदा दिई विजयोत्सव मनाउने काम पनि गर्यो।

प्रदेश सरकारको यस्तो निर्णयले आफूहरुले माग गर्दै आएको सामुदायिक पहिचानको आधारमा नामकरण नगरी कोशी प्रदेश राखिएको भन्दै रिसाइरहेका पहिचानवादीहरुलाई झन् उत्तेजित बनाउने काम गर्यो। ति सडकमा ओर्लिए। तिनले कोशी नाम खारेज र पहिचानमा आधारित नाम राख्न‘‘प्रदेश नम्बर एक नामाङ्कन संयुक्त संघर्ष समिति’ बनाएर आन्दोलन नै थाले।

पहिचानको रापले तातिएको आन्दोलनमाथि बल प्रयोग गरी साम्य पार्ने प्रयत्न गरियो। चैत ५ गते विराटनगरमा चलिरहेको त्यस्तै आन्दोलनको अग्रभागमा पदम कुमार लिम्बु पनि थिए। नारावाजी गरिरहेका आन्दोलनकारीहरुमाथि लाठीचार्ज गरियो।  पदमको टाउकोमाथि पनि लाठीचार्ज भो।  उनी ढले। ५ दिनपछि उनको उपचारकै क्रममा धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा निधन भयो। त्यसले आगोमा घ्यू थप्ने काम गर्यो। आन्दोलन झन चर्कंदै गयो।

मृतकलाई शहिद घोषणाको माग गरियो। संघीय सरकारले चैत २४ गते पदमलाई शहिद घोषणा गर्यो। तर आन्दोलन थामिनुको साटो झन चर्कंदै गयो। आन्दोलनकारीहरुले प्रदेशसभा ठप्प बनाइदिएका मात्र होइन सांसदहरुले विराटनगरको होटलमा बैठक गर्दा उनीहरु त्यहीँ पुगी ढुङ्गामुढा गरे। मुख्यमन्त्री हिक्मत कार्कीकै सवारीमाथि ढुङ्गा बर्साएर उनलाई पहाडी भेगमा उक्लिन दिएनन्।

आन्दोलनकारीले प्रदेससभाका मन्त्रीका घर समेत छाडेनन्। त्यहाँ पनि ढुङ्गामुढा गरे। सांसदहरुले डेढ महिनादेखि मुख लुकाएर हिँड्नु परिरहेको छ। कोशी नाम राख्न मतदान गर्ने जनजाति मूलका सांसदहरुलाई ‘वंश गद्दार’ भन्दै कालोमोसो समेत गर्न थालिएपछि द्वन्द्व घट्नुको साटो झन् बढ्दै गयो। खोटाङबाट निर्वाचित कांग्रेसका सांसद पीके राईलाई अनुहारमा कालोमोसो दलेपछि सांसदहरु बाहिर निस्कनै डराउन थाले। 

एमालेको नेतृत्वमा रहेको प्रदेशसभाका सांसद रामबहादुर रानामगरले प्रस्ताव गरेको ‘कोशी’ नाममा कांग्रेस र माओवादी केन्द्रका सांसद सहितको मतदानले दुई तिहाई बहुमतबाट कोशी नाम पारित गरिएको थियो। कोशी प्रदेशको पक्षमा ८२ मत र  बिपक्षमा ४ मत मात्र परेको थियो। ६ जना सांसद चाहिँ मतदान प्रक्रियामै सहभागी थिएनन्। तर यो मतदानलाई आन्दोलनकारीहरुले जालझेल भन्दै विरोध गरिरहेका थिए। समितिले वैशाख १० गतेभित्र ‘कोशी नाम फिर्ता लिई पुनः नामाकरणका निम्ति पहलकदमी लिन प्रदेश सरकारलाई अल्टिमेटम दिएको थियो। 

तर प्रदेश सरकारको ब्यवहार हेर्दा उ पनि आफ्नो हठबाट पछाडि फर्कने छाँटकाट देखिएको थिएन। उसले आन्दोलनकारीहरुको माग सुन्या नसुन्यै गरिरहेको थियो। संघर्ष समितिको अवरोधका कारण डेढ महिनादेखि ठप्प प्रदेश सरकारले वैशाख ५ गते प्रदेश नामकरणलाई आफ्नो प्रमुख उपलब्धिको रुपमा सार्वजनिक गर्दै आफुहरु निर्णयबाट पछाडि नफर्कने संकेत दियो। यसले चलिरहेको द्वन्द्व तत्काल नहट्ने सम्भावनालाई नै बल गरिरहेको थियो। दुई पक्षको हठको कहिँ मिलनबिन्दु नै देखिँदैनथ्यो। 

अनि भयो के? 
हिजो वैशाख ९ गते एक महिनादेखि शवगृहमा राखिएको शहिद पदमको शवलाई परिक्रमा गराउँदै धरान, इटहरी हुँदै प्रदेश राजधानी विराटनगर लगि त्यहाँ कोणसभा गरी अन्त्येष्टि गर्ने कार्यक्रम आयोजना गरिएको थियो। त्यही बमोजिम शनिवार बिहान धरानबाट शुरु गरिएको पदमको शवयात्रा इटहरी हुँदै प्रदेश राजधानी विराटनगर पुग्दा प्रहरीले बाटो छेकेपछि दुई पक्षबीच चर्काे भीडन्त भयो। आन्दोलनकारीहरु घाइते भए। 

संघर्ष समितिले प्रदेश सरकारलाई कोशी नाम खारेजी र पुनः नामाकरण प्रक्रियाका निम्ति दिएको वैशाख १० गतेसम्मको अल्टिमेटम आज आइतवार पूरा हुँदै छ। त्यसको ठिक एक दिन अगाडि हिँजो शनिवार वार्ताको वातावरण बिगार्ने गरि प्रहरी हस्तक्षेप भएपछि पूर्वमा सल्किएको आक्रोसको आगो तत्काल निभ्ने संकेत देखिँदैन। किनभने हिँजो शान्तिपूर्ण रुपमा गरिएको शवयात्रामाथि प्रहरी हस्तक्षेप गरिएको विरोधमा आन्दोलनकारीहरुले आज इटहरीमा विरोधसभाको आयोजना गरे। 

मैले अस्ति ८ वैशाखमा प्रदेश नामाकरणको विरोधमा चलिरहेको आन्दोलनको बिषयमा कुरा गर्न  संघर्ष समितिका एकजना नेतालाई स्टूडियोमा डाकेको थिएँ। पेशाले प्राज्ञ त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र प्राध्यापन गरिरहेका किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन जसले आन्दोलनको कमान पनि सम्हालिरहेका छन्। स्टूडियोमा हामीसँग कुरा गरेर शवयात्राका निम्ति विराटनगर लागेका येक्तेन पनि हिजोको प्रहरी चुटाइबाट घाइते भए।

घाइते हुनुअघि लिइएको येक्तेनसँगको अन्तर्वार्तामा उनले नेपालखबरसँग के बोलेका थिए? आउनोस्, सुनौँ उनका कुरा –

भिडिओ :

बैशाख १०, २०८० आइतबार २२:९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .