नेपाल एयरलाइन्सले सीतालाई उडाएन, हङकङले सोध्यो

नेपाल एयरलाइन्सले सीतालाई उडाएन, हङकङले सोध्यो

नेपालखबर
मंसिर १५, २०७८ बुधबार १६:५४, काठमाडौँ

कोभिड खोपको क्यूआर कोड नभएको भन्दै नेपाल एयरलाइन्सबाट हङकङ उड्न रोकिएकी नेपाली महिलालाई हङकङ विमानस्थलका स्वास्थ्य अधिकारीले ‘कम्प्लेन’ गर्न सुझाव दिएका छन्। 

नेपाल एयरलाइन्सको २३ नोभेम्बरको आरए४०९ उडानबाट हङकङ उड्न लागेकी ६७ वर्षीया सीतादेवी गौतमलाई कोभिड खोपको क्यूआर कोड नभएको भन्दै काठमाडौँमै रोकिएको थियो। 

जबकी उनीसँग अमेरिकामा मोडेर्ना खोप लगाएको अंग्रेजी कार्ड सुरक्षित थियो, जसको आधारमा उनी अमेरिकाबाट नेपाल आएकी थिइन्।

टेकुस्थित जनस्वास्थ्य अस्पतालका अनुसार नेपालमा खोप लगाएकाको नाम र जन्ममिति नेपाली हुने भएकाले उनीहरूले यात्रा गर्दा क्यूआर कोड र प्रमाणपत्रको अंग्रेजी अनुवाद लिनुपर्छ। तर जोसँग विदेशमा खोप लगाएको अंग्रेजी कार्ड हुन्छ उनीहरूका लागि नेपालले क्यूआर कोड बनाउने व्यवस्था छैन। उनीहरू त्यही कार्डका आधारमा यात्रा गर्न सक्छन्। 

सीतादेवीका अनुसार उनीहरू त्यो दिन आमाछोरी हङकङ उड्दै थिए। तर आमा रोकिएपछि छोरी मात्र हङकङ उत्रिइन्। हङकङ विमानस्थलका अधिकारीले आमाछोरीको क्वारेन्टिनको लागि २१ दिनको होटल बुकिङ देखेपछि आमाबारे सोधपुछ गरे।

छोरीले सबै कागजातसहित विवरण बताएपछि विमानस्थलका ती अधिकारीको भनाइ उधृत गर्दै सीतादेवीले भनिन्, ‘हामी खोप कार्डका आधारमा पासपोर्टमा नाम र जन्ममिति हेर्छौँ, अरु कुरा चाहिँदैन। तपाईंलाई एयर टिकट, होटल बुकिङ र हङकङ आइडीको माया छ भने कम्प्लेन गर्नुहोस्।’

सीतादेवीका अनुसार १६ जनवरी २०२२ भित्र उनले हङकङ आइडीको भिसा थप्नु पर्ने छ। त्यसैका लागि पनि उनी हतारमा हङकङ उड्दै थिइन्। 

‘अब मेरो एयर टिकट, हङकङमा २१ दिन होटल बुकिङको पैसा र हङकङ आइडीको भिसाको भर्पाइको जिम्मेवारी कसले लिन्छ?’, सीतादेवीले प्रश्न गरिन्। 

नेपाल एयरलाइन्सले ३ घन्टा अगाडि चेकिङ काउन्टर खोलेको तर आफुलाई त्यसबारे कसैले सहयोग नगरेको र काठमाडौँको विमानस्थलको प्रस्थान कक्षमा हेल्प डेस्क पनि नभएको उनको गुनासो छ। 

साथै ४८ घन्टाअघि पीसीआर टेष्ट गरेको रिपोर्ट हुँदाहुँदै पनि एयरलाइन्सले बिहानै विमानस्थलमा बोलाएर ६ घन्टे पीसीआर टेष्ट गर्न लगाएको तर त्यो टेष्टको पैसा लिएर रिपोर्ट नदिएको उनले बताइन्। 

‘आफ्ना यात्रुलाई सहयोग गर्नुको सट्टा नेपाल एयरलाइन्सले अनावश्यक खर्च गराएर झन्झट दिएको छ, सायद हङकङ उडानमा नेपाल एयरलाइन्सको एकाधिकार भएर होला’, सीतादेवीले सुझाव दिइन्, ‘बरु एयरलाइन्सले यात्रुलाई यसरी कष्ट दिनुको साटो खोपको क्यूआर कोड बाहेक अन्य कुनै पनि कार्डले विदेश यात्रा गर्न पाइँदैन भनेर टिकट बिक्रि गर्दा नै सूचना दिने व्यवस्था गरोस्।’


 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .