हङकङवासी नेपाली पत्रकार तथा सामाजिक अगुवा किसन राईको रहस्यमय मृत्युबारे छानबिन गर्न परिवारले नेपाल प्रहरीमा (मंसिर २० गते) निवेदन दिएपछि हङकङबाट पनि निष्पक्ष छानबिनको आवाज उठेको छ।
किरात राई यायोख्खा (हङकङ) को अग्रसरतामा मंगलबार उक्त विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै एक प्रतिनिधिमण्डलले हङकङस्थित नेपाली महावाणिज्यदूतको कार्यलयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र पठाएको हो।
प्रतिनिधिमण्डलमा यायोख्खा (हङकङ) का कार्यकारी, नेपाली समाज (हङकङ) का अध्यक्ष इन्द्र वनेम, पत्रकार युवा राईलगायतको सहभागिता थियो।
यायोख्खाका अध्यक्ष चन्द्रका राई र महासचिव गंगाराम राई तथा अन्य १५ संस्थाका अध्यक्षहरूद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पत्रकार राईको मृत्यु घटना निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरिएको छ।
पत्र बुझ्दै महावाणिज्यदूत उदयबहादुर राना मगरले उक्त माग परराष्ट्र, गृह मन्त्रालयलगायत सम्बन्धित निकायसम्म पुग्ने विश्वास दिलाएका छन्।
महावाणिज्यदूत रानाले राईको मृत्युले अपूरणीय क्षति भएको बताउँदै छानबिनको मागप्रति ऐक्यबद्धता जनाएका छन्। साथै उनले आफूबाट हुन सक्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
नेपाल भ्रमणका क्रममा गत कात्तिक ७ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको पंखुखोला नजिकै भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको प्रहरीले जनाएको थियो।
तर घटनास्थलको अवस्था, सँगै गाडीमा सवार व्यक्तिक्तिहरूको भनाइ, शवको प्रकृति र पोस्टमार्टम रिपोर्ट शंकास्पद देखिएको भन्दै मृतक राईका छोरा अरिम राईले थप अनुसन्धान गर्न माग गरेर नेपाल प्रहरीमा निवेदन दिएका हुन्।
स्वर्गीय राई किरात राई यायोक्खा (हङकङ) का पूर्वअध्यक्ष, संरक्षक तथा पूर्वउपकुलपति थिए।
ओखलढुंगाबाट धरान नगरपालिका–१५ मा बसाइँ सरेका पत्रकार राई अढाई दशकदेखि हङकङमा कार्यरत थिए। उनले गत वर्ष हङकङ सरकारबाट ‘चिफ एक्ज्युकेटिब कमेन्डेसन फर कम्युनिटी सर्भिस’ तथा पत्रकारितामा योगदान पुर्याएबापत नेपाल सररकाले यसै वर्ष ‘जनसेवाश्री’ पदकले सम्मान गरेको थियो।
प्रतिक्रिया