हङकङवासी नेपालीहरूद्वारा स्थापित हङकङ नेप्लिज ब्याडमिन्टन संघले आयोजना गरेको एक दिवसीय चेयरम्यानको उपाधि बिरेन थापा र किरण बुढाथोकीको जोडीले जितेको छ।
हङकङको चुन वानस्थित येङ युक रोड स्पोर्ट्स सेन्टरमा गत शनिबार सम्पन्न प्रतियोगिताअन्तर्गत मिन्स डबल्स समूह ‘क’तर्फ सनसनीपूर्ण फाइनल खेलमा बिरेन र किरणको जोडीले रवि राई र प्रेम थापाको जोडीलाई २१–१४, २०–२२, २१–१५ को अन्तरले कठिन जित हासिल गर्दै उपाधि हात पारेको हो।
त्यसैगरी समूह ‘ख’तर्फ चन्द्र लिम्बू र राजकुमार राईको जोडीले किरण राई र उत्तम गुरुङको जोडीलाई हराएको छ। जितसँगै दुवै समूहका विजेता जोडीले ट्रफी, पदकसहित ५ हजार हङकङ डलर पुरस्कार पाएका छन्। यसैगरी दुवैतर्फका उपविजेता जोडीले ट्रफी, पदकसहित ३ हजार हङकङ डलर हात पारेका छन्।
समूह ‘क’मा पुराना तथा अनुभवी खेलाडी समावेश थिए भने ‘ख’मा नयाँ तथा कम अनुभवी खेलाडी थिए।
मिन्स डबल्स बेस्ट अफ थ्री नक आउट फर्म्याटमा खेलाइएको प्रतियोगितामा कूल २२ जोडी खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
विजेता खेलाडीहरूलाई हङकङका महावाणिज्यदूत उदयबहादुर राना मगरले पुरस्कार प्रदान गरेका थिए।
करिब एक दशकअघि स्थापना भएको उक्त संघमा १२१ जना सक्रिय सदस्य रहेको अध्यक्ष हेमराज राईले नेपालखबरलाई जानकारी दिए।
पछिल्लो समय हङकङवासी नेपाली समुदायबीच ब्याडमिन्टन खेल निकै रुचिकर भइरहेको छ।
प्रतिक्रिया