नेपाल एयरलाइन्सको ठगी धन्दा : हङकङका यात्रुसँग घुस, जहाज नउडेको झुटो प्रमाणपत्र

नेपाल एयरलाइन्सको ठगी धन्दा : हङकङका यात्रुसँग घुस, जहाज नउडेको झुटो प्रमाणपत्र

नेपाल एयरलाइन्ससले दिएको अनेक सास्ती खाएर हङकङ आउन सफल दाबहादुर पुन र श्रीमती टकमाया तिलिजा (तस्बिर र भिडिओ: विशाल कार्की)


जेवी पुन मगर
साउन १९, २०७९ बिहिबार ५:५६, हङकङ

चीन स्वशासित क्षेत्र हङकङ प्रवेश गर्नु अन्य मुलुकको तुलनामा त्यसै पनि झञ्झटिलो छ। त्यसमाथि कोभिड महामारीले यसलाई झन् कठिन बनाइदिएको छ। एसियाको व्यापारिक केन्द्र हङकङले ‘बाहिरिया’हरुलाई लगभग प्रवेश निषेध गर्दै बाहिरिएका आफ्ना नागरिकलाई पनि फर्किंदा २१ दिनसम्म क्वारेन्टिनमा राख्ने गरेको थियो। अर्थतन्त्र डामाडोल भएपछि अहिले क्वारेन्टिन समय एक सातामा झारिएको छ। 

हङकङ–काठमाडौँ आवतजावत गर्ने हङकङ आईडीवाहक नेपालीजनले महामारीसिर्जित यो संकट तीन वर्षदेखि सामना गर्दै आइरहेका छन्। यसपालि म पनि हङकङमा बसोबास गर्ने करिब ४० हजार नेपालीले भोग्दै आइरहेको यस्तो कठिनाइको भुक्तभोगी हुन पुगेँ। नेपाल एयरलाइन्सले कोभिडको नाममा ‘लुट्नसम्म लुटिरहेकोले सत्यतथ्य तपाईंहरुले लेखिदिनुपर्यो’ भन्दै दिनहुँ आउने म्यासेजको जवाफ खोज्नका लागि पनि मेरो निम्ति यो उडान विशेष महत्वको रह्यो। 

१६ जेठको राति सवा ९ बजेको हङकङ उडान तालिका थियो काठमाडौँबाट। अत्यावश्यक कागजात, जस्तैः पूर्ण खोप लगाएको प्रमाणपत्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट गराइएको कोभिडमुक्त प्रमाणपत्र र त्यही संस्थाको आधिकारिक व्यक्तिद्वारा हस्ताक्षरित पत्र बोकी ४ बजे नै त्रिभुवन विमानस्थल परिसर छिर्दा नेपाल एयरलाइन्सबाट हङकङ उड्ने यात्रुहरुको लाम लागिसकेको थियो। सम्बन्धित ट्राभल एजेन्सीहरुले ‘नेपाल एयरलाइन्सले सिट क्षमताभन्दा बढी टिकट बेचेकोले सम्भव भएजति छिटो बोर्डिङ पास लिन’ भनेकोले धेरैजसो यात्रु चारपाँच घण्टाअगाडि नै लाम लाग्न पुगिसकेका थिए।

यसरी लाम लाग्नेमा शतप्रतिशत नेपाली थिए।

दुई घण्टाको पर्खाइपछि नेपाल एयरलाइन्सको त्रिभुवन विमानस्थल काउन्टर सम्मुख पुगेँ। काउन्टरमा आसीन ‘सिनियर असिस्टेन्ट’लाई राहदानी, हङकङ आईडी, टिकट र क्वारेन्टिन होटल रिजर्भेसनको प्रमाणलगायत आवश्यक कागजपत्रको पोको थमाएँ। त्यसपछि लगेज तौलन लाग्दा उनले रोक्दै भने, ‘तपाईं तीन वर्षसम्म हङकङ प्रवेश नगरेकोले जान मिल्दैन।’ 

उनले मभन्दा अगाडि रहेका इटहरीका दुई जना महिला (नाम उल्लेख गर्न नचाहने) लाई पनि दुरुस्त कारण देखाई लामबाट निकालिसकेका थिए। त्यसपछि ती अधिकारीले आफ्नो फुपू र बज्यैसँग बाबाआमा भेट्न हङकङ जान लागेकी पोखराकी पाँच वर्षीया बालिका प्राप्ती थापा (नाम परिवर्तन) लाई पनि ‘बा–आमाबिना पठाउन मिल्दैन’ भन्दै रोकिसकेका थिए। जबकि अभिभावकले लेखिदिएको पत्र देखाए नाबालकहरुलाई यात्रा गर्न दिइने नियम स्वंय नेपाल एयरलाइन्सले बनाएको छ। तर, उनीहरुलाई त्यस्ता नियमसँग कुनै सरोकार थिएन। यो सबै म उभिएको दुई नम्बर काउन्टरअगाडि भइरहेको लफडा थियो, बाँकी काउन्टरमा पनि यात्रुहरुमाथि विभिन्न बहानामा सास्ती दिने काम चलिरहेकै थियो।

मैले ती अधिकारीलाई हङकङको अध्यागमन नियम सम्झाउने प्रयत्न गरेँ। तर, उनी कुनै तर्क सुन्ने मुडमा थिएनन्। आफूलाई अध्यागमन अधिकारीभन्दा पनि शक्तिशाली ठानिरहेका उनले मलाई बारम्बार हङकङ प्रवेश गर्न नमिल्ने ‘उर्दी’ दोहोर्याइरहेका थिए।

मैले भन्दिएँ, ‘अध्यागमनसम्बन्धी सामान्य नियम नजान्ने मान्छे पनि किन काउन्टरमा बसेको?’

सायद उनलाई यही क्षणको प्रतीक्षा थियो। रातोपिरो हुँदै जंगिए, ‘मलाई थाहा भएन। लौ जानोस्, म पहिला बुझ्छु अनि बोलाउँछु।’  

यो विवादले एकछिन रमिता नै लागेकोले उनीसँग मुखामुख गर्न छोडेर किनारा लागेँ। ती अधिकारीको जिद्दी हेर्दा कतै कोभिडका कारण हङकङ अध्यागमनको नियम परिवर्तन भएको त होइन, भन्ने पनि लाग्यो र त्यहीँबाटै हङकङका कानुन व्यवसायी मित्रहरुलाई कल गरेँ। हङकङमा कानुन व्यवसाय गरिरहेका इन्द्र वनेमले ‘दस वर्षपछि फर्किए पनि फरक पर्दैन, प्रवेश पाइन्छ, यहाँ कुनै नियम परिवर्तन भएको छैन’ भनेपछि आफू ठिक ठाउँमा रहेछु भनी ढुक्क भएँ।

कामविशेषले हाल बेलायतमा रहेका हङकङका अधिवक्ता एकनारायण शर्माले अध्यागमन विभागको ‘आईडीसम्बन्धी प्रावधान’ को लिङ्क नै पठाइदिए। त्यसमा ‘स्थायी आईडी (पीआर) धारी हङकङबासी तीन वर्षसम्म हङकङ नछिरे उसको पीआर स्वतः राइट टु ल्यान्डमा झर्ने’ उल्लेख छ।

त्यहाँ भनिएको छ– ‘तर स्टाटस राइट टु ल्यान्डमा झरे पनि त्यस्ता व्यक्तिलाई हङकङ आवतजावत गर्न, बस्न, काम गर्न, अध्ययन गर्न कानुनले कुनै रोकटोक गर्ने छैन।’

मैले ती अधिकारीलाई त्यो प्रावधान बाचन गरी सुनाएँ। तर, उनले सुन्न चाहेनन्। उपेक्षा र व्यङ्ग्यभावले हेरिरहे।

अस्तित्वमै नभएको नियमको हवाला दिँदै बोर्डिङ पास नदिने नेपाल एयरलाइन्सको बदमासी र काउन्टरमा यात्रुहरुमाथि भइरहेका सास्तीबारे आफू सम्बद्ध नेपालखबरका प्रधानसम्पादक पूर्ण बस्नेतलाई सुनाएँ। उनले गृह मन्त्रालय र नागरिक उड्ययन मन्त्रालयका अधिकारीहरुसँग विमानस्थलमा भइरहेका बेथितिमाथि कुरा गरेछन्। केहीबेरमा नाम पुकार्दै आएका एयरलाइन्सका अधिकृतहरुले सिफ्ट इन्चार्ज चिरन श्रेष्ठसँग भेटाइदिए। उनीकहाँ पनि फोन गइसकेको रहेछ। यतिञ्जेल थप डेढ घन्टा बितिसकेको थियो। नेपाल एयरलाइन्सका विमानस्थल इन्चार्ज चिरनको कार्यकक्षमा गरिएको बैठकमा हङकङ अध्यागमन विभागको वेबसाइटमा राखिएको आईडीसम्बन्धी प्रावधान पुनः दोहोर्याएर देखाइदिएँ।

केही समयपछि इन्चार्ज श्रेष्ठले ‘तपाईं सही हुनु हुँदोरहेछ’ भन्दै क्षमायाचना सहित ‘कुनै पनि हालतमा तँलाई​ आज हङकङ उड्न दिन्नँ’ भनेझैँ गरिरहेका अघिकै अधिकारीलाई बोर्डिङ पास बनाइदिन निर्देशन दिए। बल्ल बोर्डिङ पास हातमा पर्यो। एक जना कर्मचारीको सनकमा मैले अनावश्यक दुई घण्टा व्यय गर्नुपरेको थियो। कयौँ यात्रुलाई घण्टौँ काउन्टरअगाडि राखेर पैसाको मोलमोलाई गरिएको थियो भने कयौँलाई घर फर्काइएको थियो। 

सुरक्षाजाँच गराई भित्र छिरेकी प्राप्तीकी फुपू कोपिला थापाले आफू र बज्यैलाई अन्तिम समयसम्म काउन्टरमा राखी पैसाको मोलतोल गरिएको बताइन्। एयरलाइन्सका कर्मचारीलाई सत्तोसराप गर्दै सुरक्षाजाँच गराई भित्र छिरेकी उनले भनिन्, ‘जहाज उड्ने बेला भइसक्यो के गर्ने? त्यो बदमासको हातमा १२ हजार राखिदिएपछि मात्र बोर्डिङ पास दियो।’

यसरी आफ्नै यात्रुसँग नेपाल एयरलाइन्सका कर्मचारीले विभिन्न बाहनामा घुस खाएर मात्रै उडाएका गुनासो प्रायः सबै उडानका यात्रुले गर्ने गरेका छन्।

नेपाल एयरलाइन्सका कर्मचारीको सास्ती यतिमै सकिएको थिएन। हङकङ विमानस्थलमा पुगिसकेपछि थाहा भयो, बिना जानकारी तिनले मलगायत केही यात्रुको लगेज नै ‘अफलोड’ गरिदिएका रहेछन्। करिब दुई घण्टासम्म खोजतलास गर्दा पनि लगेज नभेटिएपछि विमानस्थलमा ब्यागेज व्यवस्थापन गर्ने कम्पनी ‘एचएएस’ को बुथमा रहेका इन्चार्ज समक्ष गई लगेज हराएको रिपोर्ट लेखाएर हामी क्वारेन्टिन होटलतर्फ लाग्यौँ।

दिनहुँ फोन गर्दा पनि लगेजको अत्तोपत्तो थिएन। ‘एचएएस’ का अधिकारीले नेपाल एयरलाइन्सको कार्यालयमा पत्राचार गरे पनि कुनै रेस्पोन्स नगरिएको जवाफ दिइरहे। क्वारेन्टिन बसेको पाँचौँ दिनमा बल्ल ‘एचएएस’ का अधिकारीले कल गरी ‘तिम्रो लगेज काठमाडौँ विमानस्थलमै छुटेको रहेछ, नेपाल एयरलाइन्सले अर्काे उडानमा पठाइदिने कुरा गरेको छ’ भनेपछि मात्र लगेज झिकिएको औपचारिक जानकारी प्राप्त भयो। एयरलाइन्सका कर्मचारीेहरुले हुण्डी कारोबारी र हङकङका नेपाली ग्रोसरी पसल सञ्चालकहरुका सामान (सागसब्जी, सुकुटी, अचारलगायत) पठाउन यात्रुहरुको लगेज नै हटाइदिने गरेको र त्यसबापत तिनले राम्रो आयआर्जन गरिरहेको जानकारी पहिल्यै थियो। नेपाल एयरलाइन्सका एक पूर्वअधिकारीले यो धन्दाबारे मलाई राम्ररी सम्झाएका थिए। यसपटक आफैँ भुक्तभोगी भइएको थियो।

हप्तौँको प्रयासमा चार्टर्ड विमानको भन्दा बढी मूल्यको टिकट किनेर होटल क्वारेन्टिनको जोहो गरिवरी हङकङ उड्न विमानस्थल पुगेका यात्रुहरुलाई नेपाल एयरलाइन्सका कर्मचारीले बिनाकारण काउन्टरबाटै फर्काउने तिकडमको पर्दा खोलिदिने पर्याप्त प्रमाण अझै जुटेको थिएन। काठमाडौँ–हङकङ–काठमाडौँ यात्रामा नेपाल एयरलाइन्सको बेथिति प्रत्यक्ष देख्न भोग्न पाइए पनि नेपाल एयरलाइन्सका कर्मचारीहरुले चलाइरहेको संगठित ठगी धन्दाको प्रमाण बटुल्न मलाई करिब २ महिना अर्थात् साउन ३ गतेसम्म कुर्नु पर्यो।​

नेपाल एयरलाइन्ससले दिएको अनेक सास्ती खाएर हङकङ आउन सफल दाबहादुर पुन र श्रीमती टकमाया तिलिजा (तस्बिर र भिडिओ: विशाल कार्की)

ठगीधन्दाको नाङ्गो अभ्यास
कोभिड महामारीले हङकङको कारोबार घटेपछि यहाँ रेस्टुरेन्ट व्यवसाय गरिरहेका दाबहादुर पुन र उनकी श्रीमती टकमाया तिलिजा केही समयका लागि रेस्टुरेन्ट बन्द गरी जन्मभूमि म्याग्दी गएका थिए। ११ वर्षपछि मे १७ (जेठ ३) का दिन नेपाल गएका उनीहरु २ साउन (१८ जुलाई) का दिन हङकङ फर्किंदै थिए। यो दम्पतीलाई पनि अन्य यात्रुलाई झैँ चार बजे नै विमानस्थल पुगी ‘चेक–इन’ गर्न भनिएको थियो। सदाझैँ हङकङ उड्ने नेपालीहरुको लाम निकै लामो भएकोले चार वटा काउन्टरबाट ‘चेक–इन’ गराइँदै थियो।

चार बजे नै विमानस्थल पुगेका पुन दम्पती काउन्टर नम्बर–२ को अग्रभागमा लाम लागेर बसेका थिए। तिनका अगाडि म्याग्दीकै सोनी पुन र उनका सासूससुरा उभिएका थिए।

नेपाल एयरलाइन्सको काउन्टरमा बसेकी ‘सिनियर असिस्टेन्ट’ ले सोनीको पासपोर्टको म्याद सकिन दुई महिना मात्र बाँकी रहेको कारण देखाउँदै उनलाई बोर्डिङ पास दिन नमिल्ने बताइन्।

म्याग्दीकी सोनी पुनलाई पासपोर्टको म्याद दुई महिना बाँकी हुँदा पनि हङकङ उड्न अवरोध गरियो 

त्यसपछि सुरु भयो सदाझैँ ‘मान्छे फर्काउने र पैसाको मोलमोलाई’ गर्ने एयरलाइन्सका कर्मचारीको उपक्रम। एयरलाइन्सकी ती कर्मचारी सोनीलाई जसरी पनि घर फर्काउन जोड गरिरहेकी थिइन् भने सोनी र उनको पछाडि रहेका पुन दम्पतीले हङकङस्थित नेपाली महावाणिज्यदूतावासमार्फत पासपोर्ट बनाउन मिल्ने हुँदा पासपोर्टकै कारण बोर्डिङ पास दिन नमिल्ने एयरलाइन्सको जिकिर वाहियात रहेको तर्क गरिरहेका थिए। साथै, सोनीले टिकट लिएकी मिग अल्फा ट्राभल्स हङकङले नेपाल एयरलाइन्सको हङकङस्थित कन्ट्री म्यानेजर नवराज उपाध्यायलाई दबाब पनि दिइरहेको थियो। यो सबैको परिणाम सोनी र उनका सासूससुरा त उड्न पाउने भए, तर तिनका लागि बोलिदिने पुन दम्पतीले भने त्यसको ठूलो मूल्य चुकाउनु पर्यो।

पुन दम्पतीलाई ‘सिट प्याक भइसकेकोले बोर्डिङ पास दिन नसकिने’ भन्दै केही गुनासो भए नेपाल एयरलाइन्सको न्यूरोडस्थित केन्द्रीय कार्यालयमा गई कुरा राख्न भनेर फर्काइदिए।

कर्मचारीको ठाडो जवाफले रन्थनिएका पुन भन्छन्, ‘एयरलाइन्सका कर्मचारीले फर्काएको गैरजिम्मेवारपूर्ण जवाफले म त स्तब्ध भएँ। आफ्नै देशमा असाध्यै हेपिएको महसुस गरेँ। अपमानबोध भयो।’ 

त्यसपछि सुरु भयो बेथितिविरुद्ध बोल्न नडराउने पुन दम्पती र एयरलाइन्सका कर्मचारीबीचको ‘तँ तँ र म म।’ हङकङको क्वारेन्टिन होटल जोहो गर्नै ‘फलामको च्युरा चपाए सरह’ मेहनत गर्नुपरेकोले पुन दम्पतीको आक्रोश स्वाभाविक थियो। साताको एकचोटि मात्र नेपाल एयरलाइन्सको उडानका कारण टिकट र क्वारेन्टिनको समय–तालिका मिलाउने काम आफैँमा निकै झन्झटिलो भएकोले पुन दम्पती अत्तालिएका थिए। त्यसदिन उड्न नपाए अगस्टसम्म क्वारेन्टिन होटल सबै बुक भइसकेकाले पाउन कठिन थियो।

हङकङमा बन्द रेस्टुरेन्टको भाडाबापत मासिक ६० हजार हङकङ डलर (करिब १० लाख रुपैयाँ) तिर्नुपरिरहेको थियो।  

‘हामी नेपाल आउने बेलासम्म हङकङमा क्वारेन्टिन रुम पाउन समस्या थिएन। त्यसैले दुईतर्फी हवाई टिकट बुकिङ गराए पनि क्वारेन्टिन रुम चाहिँ बुक गराएका थिएनौँ,’ टकमाया भन्छिन्, ‘गाउँघरमा घुम्दा समय गएको पत्तै भएन। एजेन्टले पनि होटल बुक गराउनेबारे म्यासेज गरेनन्। गाउँबाट पोखरा आई होटल खोज्दा मरिगए भेटिएन।’  

उनीहरुले २१ जुनमा हङकङ फर्किने गरी दुईतर्फी टिकट लिएका थिए। त्यसैले तिनले १३ जुनमा पोखरा आई हङकङ सरकारले निर्धारण गरेको ६२ वटा क्वारेन्टिन होटलहरुमा कोठा खोजेका थिए, तर ती सबै भरिभराऊ थिए।

‘मैले चिनेका फ्रन्ट अफिस, जेनरल म्यानेजर, फुड एन्ड वेभरेज म्यानेजर लगायतका सबै साथीभाइहरुसँग सहयोग मागेँ तर केहि सिप लागेन। एक महिनासम्म सबै होटल बुक भइसकेका थिए’,  लामो समयदेखि फुड एन्ड वेभरेज व्यवसायमा संलग्न पुन भन्छन्, ‘त्यसपछि १९ जुलाईको लागि क्वारेन्टिन होटल बुक गराइयो र त्यसै दिनका लागि टिकट एक्सटेन्सन गर्न भनियो।’

नेपाल एयरलाइन्सले १९ जुलाईमा उडाउने भन्दै टिकट जारी गरे पनि ट्राभल एजेन्टहरुले आफ्ना यात्रुहरुलाई १८ जुलाईमै जहाज उड्ने जानकारी दिएका थिए। तर यसबारेमा नेपाल एयरलाइन्सले कतै सूचना टाँस गर्न आवश्यक ठानेको थिएन। पुन दम्पतीले पनि यो जानकारी हङकङका साथीहरुबाट थाहा पाई एयरलाइन्समा कल गरि ‘कन्फर्म’ गरेका थिए। पुनको भनाइमा यो जानकारी नपाएका कतिपय यात्रु १९ जुलाईका दिन न्यूरोड कार्यालयमै आई झगडा गरिरहेका थिए।

१९ जुलाईको टिकट काटी एकदिन अगाडि नै एयरलाइन्सले किन जहाज उडायो त? 

इन्चार्जको कार्यकक्षमै ‘सेटिङ’ 
त्यस दिन कर्मचारीद्वारा हङकङ उड्न ‘अयोग्य’ ठहर्याइएका पुन दम्पतीसहित १४ जना यात्रु आफ्ना सरसामान गुडाउँदै यता र उता दौडिरहेका थिए। तर एयरलाइन्सको कम्प्युटर सिस्टममा भने यी सबै यात्रु ‘नभेटिएका सूची’ मा सूचीबद्ध थिए।

अचम्म, नेपाल एयरलाइन्सको कम्प्युटर सिस्टमले हङकङ उड्ने एउटै जहाजका १४ जना यात्रु ‘नभेटिएको सूची’ मा कसरी देखायो? 

यो हेर्दा टिकट बुकिङ भए पनि नेपाल एयरलाइन्सले यी यात्रुलाई हङकङ नउडाउने पहिले नै तय गरिसकेको देखिन्छ। उनीहरू सबै पुन उड्न रोकिएका सबैलाई एयरलाइन्सको बदमासीविरुद्ध एक भई लड्न अनुरोध गर्दै माथिल्लो तला उक्लिरहेका सिफ्ट इन्चार्ज सितेशलाल कर्णको पछाडि दौडिए।

शुरुमा कर्णले आफूले समस्या समाधान गर्न नसक्ने भन्दै नेपाल एयरलाइन्सको केन्द्रीय कार्यालय न्यूरोड गई ‘रिजर्भेसन म्यानेजर शिशिर ज्ञवालीलाई भेट्न’ अह्राए र आफू ‘सेक्युरिटी जोन’ भित्र छिरे। 

यतिन्जेल ८ बजिसकेको हुन्छ। तैपनि पुन हार नमानी त्यहीँ धर्ना बस्छन्। ९ बजे जहाज (आरए ४०९) उडिसकेपछि अरु सबै लाखापाखा लागे पनि प्रवीण गुरुङ र उनकी श्रीमती अरुणा गुरुङ पुन दम्पतीसँगै हुन्छन्। करिब १० बजे ती चारैजना सिधै इन्चार्ज​ कर्णको कार्यकक्षमै घुस्छन्। त्यहाँ पनि उनले सुरुमा ‘मैले सबै कुरा हेडक्वार्टरमा पठाइदिएको छु, त्यहीँ गएर कुरा गर्नाेस्’ भन्दै टार्न खोज्छन्। तर चारै जनाले कार्यकक्ष नछाड्ने छाँटकाँट देखाएपछि उनले एयरलाइन्सको गल्ती स्वीकार्दै क्षतिपूर्तिवापत हवाई टिकट, पीसीआर परीक्षण, खानेबस्ने व्यवस्था र हङकङको क्वारेन्टिन खर्च सबै बेहोरिदिने आश्वासन दिन्छन्। 

बिहान १० बजे ज्ञवालीलाई भेटे उनले दिल्ली हुँदै हङकङ पठाइदिनसक्ने हुँदा त्यसरी नै जान कर्णले सल्लाह दिन्छन्। कर्णले उड्न नपाएका आठ यात्रुको नाम लिन्छन् जसमध्ये एयरलाइन्सले चार जनालाई पहिल्यै होटलमा लगेर राखिसकेको देखिन्छ। यी सबै कुराकानी पुन दम्पतीले लुकाएर खिचिरहेको मोबाइलमा कैद भइरहेको हुन्छ। 

तर, यी चार जनाले इन्चार्ज कर्णलाई हङकङ पुग्न उनले सोचेजस्तो सहज नभएको भन्दै त्यसका अप्ठ्यारा बुझाउने प्रयत्न गर्छन्। पहिलो, एयरलाइन्सले टिकटको व्यवस्था गरिदिए पनि हङकङका सबै होटल भरिभराउ भएकोले क्वारेन्टिन पाउन सकिँदैन। दोश्रो, दिल्ली हुँदै हङकङ उड्दा जनस्वास्थ्य प्रयोगशाला टेकुबाट जाँच गराइएको पीसीआर रिपोर्टलाई मात्र मान्यता दिने हङकङ अध्यागमनले अघिल्लो दिन गरिएको (७२ घण्टा मात्र मान्यता रहने) रिपोर्टलाई स्वीकार्ला? तेस्रो, बुकिङ गरिएको क्वारेन्टिन होटलका कोठाको पैसा दुई कारणले मात्र फिर्ता हुन्छ– या त यात्रुलाई कोभिड पोजिटिभ देखिनुपर्यो या उडान नै रद्द भएको हुनुपर्यो। तिनको प्रश्न थियो– हाम्रो हकमा यी दुवै कुरा नभएकोले होटलले कसरी गर्ला पैसा फिर्ता?

जवाफमा कर्ण एयरलाइन्सले सिट क्षमताभन्दा बढी टिकट जारी गरेको कारण समस्या उत्पन्न भएको स्विकार्दै भन्छन्, ‘यो सबै नेपाल एयरलाइन्सको गल्तीका कारण भएकाले तपाईंहरुको सबै खर्च एयरलाइन्सले नै बेहोर्छ। तपाईंहरुको उडान किन छुट्यो भन्ने चिठीपत्र पनि एयरलाइन्सले नै बनाइदिन्छ।’ 

भोलिपल्ट बिहान ८ बजे दिल्लीका लागि उड्ने नेपाल एयरलाइन्सको उडानबाट हङकङ पुर्याइदिने भन्दै विमानस्थलमा रहेको स्टार अस्पतालको बुथमा लगी चार जनालाई पीसीआर जाँच गराइन्छ। त्यसपछि उनीहरुलाई करिब साढे एघार बजे एयरलाइन्सले व्यवस्था गरेको ज्ञानेश्वरस्थित कावेरी–इन होटलमा पुर्याइन्छ। गुरुङ दम्पतीलाई तिनको ट्राभल एजेन्टले ५ बजे नै विमानस्थल पुग्न भने पनि पुन दम्पतीलाई कसैले केही भन्दैनन्। उनीहरुलाई होटलसम्म पुर्याउने जीवन भन्ने व्यक्तिले ‘भोलि बिहानै लिन आउँछु’ भन्दै गए पनि रुम नम्बर २०७ मा राखिएका पुन दम्पती रातभर सुत्न सक्दैनन्।

आफूहरुसँगै राखिएका गुरुङ दम्पतीलाई एकाबिहानै दिल्ली हुँदै हङकङ उडाउन विमानस्थल बोलाइएको थाहा पाएपछि उनीहरु झन् अत्तालिन्छन्। फोन गर्छन्, तर कसैले चित्तबुझ्दो जवाफ फर्काउँदैनन्। बिहानको आठ बजेर आठ मिनट जाँदा आफूलाई नेपाल एयरलाइन्सको कर्मचारी बताउने व्यक्तिले ९८५१२७३४५९ नम्बरबाट ‘दिल्ली जाने आठ बजेको फ्लाइट उड्न लाग्यो तपाईंहरु जेजस्तो हालतमा हुनुहुन्छ एयरपोर्ट आइहाल्नोस्’ भन्दै फोन गर्छ।

उनीहरु हतारहतार एयरपोर्ट निस्कन तयार हुँदै गर्दा फेरि त्यही नम्बरबाट कल आउँछ– ‘तपाईंहरुको फ्लाईट भरे हुने भो, तपाईंहरु नआउनोस्।’

के गर्ने, कसो गर्ने भइरहेका बेला सवा १० बजे ‘भोलि बिहान लिन आउँछु’ भन्दै छुटेका जीवनले फोन गर्दै ‘सेल्स अफिसले तपाईंहरुलाई होटलबाट चेक–आउट गरी घर जान भनेको छ’ भनेपछि उनीहरु छाँगाबाट खसेझैँ भए। 

बिहान ८ बजे दिल्ली हुँदै हङकङ पुर्याइदिने भनिएको जहाज उडिसकेको थियो। बेलुकी उडान हुने भनेर फोन आएकोमा ‘होटल छाडेर घर जा’ भनेपछि दुवै जना ‘चेक–आउट’ नगरी एयरलाइन्सको केन्द्रीय कार्यालय न्यूरोड पुग्छन् र सेल्स म्यानेजर शिशिर ज्ञवालीसँग आफ्नो बह पोख्छन्।

सोमबार (१८ जुलाई) साँझदेखि निरन्तर नेपालखबरको सम्पर्कमा रहेका पुनले एयरलाइन्सको कार्यालयबाट निस्किएपछि भने, ‘हाम्रो सिटमा अरुलाई उडाइयो। हामीले हुनुहुनामी भइगयो भनि पख्र्यौ। तर घर फर्किएर जा भनेपछि रिस थाम्न नसकी कार्यालयमै गई घेर्यौँ।’ 

त्यसरी मर्कामा परी आक्रोश पोख्नेहरु त्यहाँ पुन दम्पती मात्र थिएनन्। ज्ञवालीको कार्यकक्षमा कयौँ यात्रुहरुले एयरलाइन्सले दिएको सास्ती बयान गरिरहेका थिए। ज्ञवालीले उनीहरुलाई अन्तर्राष्ट्रिय उडानको सेल्स इन्चार्ज सिर्जना खड्का कुँवरसँग भेट्न पठाए। त्यहाँ सिर्जनाले हङकङको क्वारेन्टिन होटल रिजर्भेसनमा लागेको १० हजार पाँच सय हङकङ डलर फर्काउन निकालेको ‘आइडिया’ ले पुन दम्पती तीनछक परे। 

‘तपाईंहरु ढुक्क हुनुहोस्, हङकङको क्वारेन्टिन होटलको पैसा फिर्ता गर्ने आइडिया हामीसँग छ। हामीले पहिला पनि फर्काएका छौँ,’ सिर्जनाले उनीहरुलाई भनिन्, ‘म तपाईंहहरुको उडान नै नभएको चिठी बनाइदिन्छु। त्यसले काम गर्छ।’ 

नभन्दै केहीबेरमै उनले एउटा चिठी बनाइदिन्छिन् जसमा १९ जुलाईको आरए ४०९ नम्बरको उडान नै नभएको लेखिएको छ। चिठीमा पुन दम्पतीको टिकट नम्बर पनि संलग्न गरिएको छ।

१९ जुलाईमा आरए ४०९ नम्बरको उडान हङकङ आएर काठमाडौँ फर्कियो तर त्यो मितिमा उडान नै नभएको झुटो प्रमाणपत्र नेपाल एयरलाइन्सले यसरी दियो

यो पत्र खडकाले अफिसियल मेल (सेल्सएटएनएसीडटकमडटएनपी) बाटै चार ठाउँ– हङकङको क्वारेन्टिन होटल, नेपाल एयरलाइन्स हङकङको सेल्स शाखा, ट्राभल एजेन्ट र पुनको मेलमा पठाइदिन्छिन्। उडानसम्बन्धी सामान्य जानकारी राख्नेले यो नम्बरको जहाज १८ जुलाईको राति ​(नेपाली समय ८ः५५ बजे) नै त्रिभुवन विमानस्थलबाट उडेर १९ जुलाई (स्थानीय समय ३ः२८) मा हङकङ विमानस्थल अवतरण गरेको देख्न सक्छ भन्ने जान्दाजान्दै पनि उनले यस्तो पत्र लेखिदिइन्। खड्काले जहाज उडेन भनी पत्र लेखेको दिन १९ जुलाईमा ​यो नम्बरको जहाज हङकङबाट काठमाडौँ फर्किसकेको हुन्छ। 

जहाज नउडेको कागज त बन्यो तर हङकङ पुगिसकेको जहाज उडेकै छैन भनेर लेखिएको चिठीले होटलले मान्ला त भन्ने चिन्ताले पुन दम्पती ग्रस्त थियो। अर्काेतर्फ हङकङमा एक महिनासम्म कुनै पनि क्वारेन्टिन होटल खाली थिएनन्।

अत्तालिएका पुनले नेपालखबरसँग भने, ‘टिकट त एयरलाइन्सले मिलाइदिन्छु भनेकोले समस्या थिएन। तर मूल कुरा क्वारेन्टिन रुम कसरी पाउने भन्ने थियो।’ 

तैपनी तिनले एउटा क्याफेमा बसी सबै होटलमा सम्पर्क गर्न थाले। कतै खाली भेटिएन।  

‘एयरलाइन्सको झूठो चिठीले काम गरेछ। करिब दुई घन्टापछि तेरो रुम आउने साता (२५ जुलाई ) का लागि एक्सटेन्सन गरिदिएका छौँ भनेर होटलबाट खबर आयो,’ पुन भन्छन्, ‘त्यसपछि सिर्जनालाई फोन गर्यौँ र टिकट बनाई २५ जुलाईको फ्लाइटमा हङकङ उड्यौँ।’

यता राति होटलमा सँगै लगिएको गुरुङ दम्पतीलाई भने दिल्ली हुँदै हङकङ पुर्याउने भन्दै सखारै विमानस्थल लगिएकोे थियो। उनीहरु दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा चार घण्टा ट्रान्जिट बसी हङकङ पुगे। तर, भिन्न जहाजबाट आएको भन्दै बुक गरिएको क्वारेन्टिन होटलले प्रवेश नदिएपछि ट्राभल एजेन्टले रातारात अर्को क्वारेन्टिनको व्यवस्था गरिदियो। र, जसोतसो तिनले हङकङ प्रवेश पाए। डेढ महिनाअघि नै एजेन्टमार्फत काटिएको गुरुङ दम्पतीको टिकटमा ‘नम्बर‘ नै थिएन।

एजेन्ट मार्फत काटिएको नम्बर बिनाको नेपाल एयरलाइन्सको टिकट 

१८ जुलाईको राति इन्जार्च कर्णले पनि त्यो त्रुटि औँल्याइदिएका थिए।

यसले पनि निगम कर्मचारीले कसरी दलालहरुसँग मिली वायुसेवा निगम सञ्चालन गरिरहेका छन् भन्ने देखाउँछ।​

चार्टर्डभन्दा महँगो भाडा
१७ असारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको ६४औँ वार्षिकोत्सव समारोहमा ‘घरबाटै टिकट काट्न मिल्नेगरी बनाइएको निगमको नयाँ वेबसाइट’ भन्दै वेबपेजको उद्घाटन गरे। तर, निगमको उहिल्यैदेखि सञ्चालनमा रहेको वेबसाइटमा न यात्रुले टिकट काट्न सक्छन्, न पहुँच नपुग्ने ट्राभल एजेन्सीले नै टिकट बुकिङ गर्न सक्छन्। अन्तर्राष्ट्रिय उडान भर्ने विमानको अनलाइन टिकटको पहुँचमा त्यहाँका कर्मचारीले सर्वसाधारणलाई घुस्न नदिनुका कारण तिनले त्यहाँबाट चलाउने ठगीधन्दा नै हो भन्ने माथिका दृष्टान्टहरुले नै प्रमाणित गर्छन्।

हङकङका ट्राभल व्यवसायीहरुका भनाइमा निगमको बुकिङ कहिले खुल्छ, कहिले बन्द हुन्छ, कसैले पत्तो पाउँदैनन्। काठमाडौँस्थित निगमसँग ‘सेटिङ’ भएका निश्चित दलालहरुलाई टिकट दिन मध्यराततिर केहिबेर खोलिन्छ र ती सबै दलालद्वारा बुकिङ गराइन्छ।

हङकङका एक ट्राभल व्यवसायी भन्छन्, ‘यो सबै निगमको सेटिङमा हुन्छ। हामीले पनि ती दलालहरुबाटै टिकट किन्नुपर्ने बाध्यता छ।’

एयरलाइन्सका अधिकारीहरुले थुप्रा दलालसँगको मिलेमतोमा टिकट जारी गर्ने हुनाले तिनले सिट क्षमताभन्दा बढी टिकट बिक्री गरेका हुन्छन्। हङकङ स्टेसनमा काम गरेका नेपाल एयरलाइन्सका एक पूर्वअधिकारी भन्छन्, ‘त्यसैले तपाईंले उल्लेख गरेका १४ जनाले टिकट बुक गराएर पनि सिट नपाई फर्कनुपर्यो।’ 

सिट क्षमताभन्दा बढी टिकट जारी गरेपछि काउन्टरमा खटिएका कर्मचारीलाई कसलाई फर्काउने, कसलाई उडाउने छनोट गर्नै गाह्रो हुने ती अधिकारीको अनुभव छ। 

‘किनकी सबै एजेन्ट कुनै न कुनै कर्मचारीसँग जोडिएका हुन्छन्। तिनको दबाब हुन्छ। त्यसैले काउन्टरका कर्मचारी मान्छे हेरिकन केही न केही बहाना बनाई यात्रु फर्काउन बाध्य छन्,’ उनी भन्छन्।

यसबारेमा नेपालखबरका नागरिक उड्ययन मामिला संवाददाता बसन्त अर्यालले नेपाल वायुसेवा निगमका ‘कर्पाेरेट हेड’ तथा प्रवक्ता अर्चना खड्कासँग कुरा गरेका थिए। उनको दाबी थियो, ‘अन्य कुनै कारणले उड्न नपाएको होला। हामीले कहिल्यै बढी टिकट जारी गरेका छैनौँ।’ 

खासगरी हङकङ रुटमा यात्रुलाई सास्ती दिने र महंगो भाडा असुल्ने नेपाल एयरलाइन्सको भाडा दर विश्वकै महँगोमा गनिन्छ। कोभिडअघि ८० हजार रुपैयाँमा काठमाडौँ–हङकङ दुईतर्फी टिकट पाइन्थ्यो। अहिले त्यसले एकतर्फी यात्रा मात्र गर्न सकिन्छ। अहिले नेपाल एयरलाइन्सको दुईतर्फी यात्रा गर्न ९५०० हङकङ डलर (१ लाख ५२ हजार रुपैयाँभन्दा बढी) तिर्नुपर्छ। जबकि एक वर्षअघिको कोभिडकालमा काठमाडौँ–हङकङ चार्टर्ड उडानको टिकट नै ६५ सय हङकङ डलरमा उपलब्ध थियो।

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको १५ घन्टा (१२१३९ किलोमिटर) लामो दुईतर्फी यात्रा गर्न एक हजार अमेरिकी डलर (१ लाख २६ हजार) लाग्छ भने काठमाडौँदेखि हङकङको ४ घन्टा लामो (२९५९ किलोमिटर) उडान भर्न १ लाख ५२ हजारभन्दा बढी मूल्य तिर्नु परिरहेको छ।

कयौँ वर्षदेखि नेपाल एयरलाइन्सलाई सबैभन्दा राम्रो विजनेश दिँदै आएका हङकङका नेपालीप्रति गरिएको यो अमानवीय ठगी नभए के हो त?  

नेपाल–हङकङ यात्रामा नेपाल एयरलाइन्सका कर्मचारीबाट हरेकचोटि केही न केही अप्ठेरो भोग्दै आइरहेको बताउने पोलिटेक्निक युनिभर्सिटी हङकङबाट नर्सिङमा पीएचडी गरिरहेकी टीका राना भन्छिन्, ‘राष्ट्रिय​ ध्वजाबाहकको नाममा लुट्नसम्म लुट्छन् तर सेवा दिँदा भिखमा दिएजस्तो व्यवहार गर्छन्।’ 

एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का भने ‘काठमाडौँ–हङकङ एउटा मात्र उडान रहेकोले त्यहाँ माग उच्च भएका कारण टिकट महँगो गरिएको’ हास्यास्पद जवाफ फर्काउँछिन्। 

निगमले १९ वैशाख २०७९ मा सार्वजनिक गरेको प्रगति रिपोर्ट अनुसार उसले वैशाखसम्म कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण ​मात्र ४७ अर्ब ४४ करोड बक्यौता छ। सार्वजनिक संस्थानको समीक्षा रिपोर्ट २०७९ अनुसार हाल निगममा स्थायी ९१४ र अस्थायी ४२४ कर्मचारीले काम गरिरहेका छन्।

निगम धराशायी हुनुमा अन्य धेरै कारणहरु होलान् तर माथि चर्चा गरिएका केही प्रतिनिधिमूलक दृष्टान्तहरुलाई हेर्दा निगमका कर्मचारीहरुद्वार सिर्जित बेथितिका कारण राष्ट्रिय​ ध्वजाबाहकले न यात्रुको मन जित्न सकेको छ, न व्यावसायिक सफलता नै प्राप्त गर्न सकेको छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .