हङकङको एक पब्लिक हाउजिङ निर्माणको क्रममा टावर क्रेन खसेर दुर्घटना भएसँगै निर्माण कम्पनीलाई सरकारी ठेक्कामा प्रतिबन्ध लगाइएको छ।
बुधबार हङकङको साउ माउ पिङस्थित एन्डरसन रोडमा रहेको पब्लिक हाउजिङ निर्माणस्थलमा टावर क्रेन खस्दा तीन जनाको मृत्यु भएको थियो।
यससँगै हङकङ सरकारले निर्माणको ठेक्का पाएको प्रमुख कम्पनीलाई सम्पूर्ण सरकारी ठेक्कामा प्रतिबन्धको निर्णय गरेको छ।
हङकङको डेभलपमेन्ट ब्युरोले बिहीबार यो घटनाको गाम्भीर्यलाई ध्यानमा राख्दै एग्रेसिभ कन्स्ट्रक्सन कम्पनीलाई आगामी वर्षको अन्तिमसम्मको लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
साथै आगामी दिनमा उक्त कम्पनीलाई सरकारले अनुमतिप्राप्त निर्माण कम्पनीको सूचीबाट पनि हटाउन सक्ने साउथ चाइना मर्निङ पोस्टले बताएको छ। यद्यपि त्यसको लागि भने यस विषयमा थप अनुसन्धान आवश्यक रहेको बताइएको छ।
ब्युरोका अधिकारीहरुले उक्त कम्पनीले निर्माण गरिरहेको अन्य चार प्रोजेक्टको पनि निरीक्षण गरेका थिए। यद्यपि अन्य आयोजनामा भने कुनै पनि किसिमको अनियमितता नपाइएको बताएका छन्।
त्यस्तै हङकङको हाउजिङ नियमनकारी निकायले कम्पनीलाई अहिले काम भइरहेका अन्य प्रोजेक्टमा पनि क्रेन प्रयोग नगर्न निर्देशन दिएको छ।
प्रतिक्रिया