हङकङस्थित अमेरिकन चेम्बर अफ कमर्स (एमचाम)का नयाँ अध्यक्ष इडेन वून यि–टेङले अहले हङकङको अन्तर्राष्ट्रिय सीमा खोल्नुपर्ने जरुरी रहेको बताएका छन्।
उनले पछिल्लो समय प्रतिस्पर्धात्मक बजारबाट हङकङ पछि परेको भन्दै उनले आर्थिक सुधार र नयाँ प्रतिभालाई कायम राख्न अन्तर्राष्ट्रिय सीमा खोल्नु जरुरी रहेको बताएक हुन्।
साउथ चाइना मर्निङ पोस्टसँगको अन्तर्वार्तामा उनले कोभिड–१९ नियन्त्रणको लागि लगाइएको कडा प्रतिबन्ध हट्नुपर्ने बताएका छन्।
‘हङकङ अन्य एसियाली सहरभन्दा अगाडि हुनुपर्ने हो तर अहिले हामी उनीहरुभन्दा पछि परेको र एक्लिएको महसुस भइरहेको छ’, उनले भने। यसले मानिसहरुमा निराशा बढेको र प्रतिभावान मानिसहरु बाहिरिने क्रम बढेको उनले बताए। यी सबै समस्यालाई विचार गरेर सरकारले कदम चाल्नु आवश्यक भइसकेको वूनले बताए।
गत जनवरीमा एमचामले गरेको सर्वेक्षणमा २६२ सदस्यमध्ये ५३ प्रतिशत हङकङ छाड्न चाहनेले आफ्नो व्यक्तिगत समस्या कोभिड–१९ नियन्त्रणका लागि सरकारले लगाएको प्रतिबन्ध रहेको उल्लेख गरेका थिए। १० प्रतिशतले मात्र आफूहरु हङकङ छाड्न नचाहेको उल्लेख गरेका थिए भने बाँकीले आफ्नो व्यवसाय अन्यत्र सर्ने विषयमा कुनै पनि प्रतिक्रिया नदिने बताएका थिए।
हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका इन्स्टिच्युसनल एडभान्समेन्टका पूर्व उपाध्यक्षसमेत रहेका वूनले भ्रमणमा लगाइएको प्रतिबन्धकै कारण धेरै मानिसहरु बाहिरिएको बताए।
वूनले हङकङ सरकारले बेइजिङसँगको ‘एक राष्ट्र, दुई प्रणाली’मा मानिसहरुको विश्वास बढाउनु जरुरी रहेको बताए। त्यस्तै पछिल्लो समय हङकङको व्यवसायप्रतिको सोचमा पनि सुधारको लागि कदम चाल्नु आवश्यक रहेको उनको भनाइ छ।
प्रतिक्रिया