हङकङको बसाइ : खुट्टा पसार्न नपुग्ने फ्ल्याट, रातभर लामखुट्टेको टोकाइ

हङकङको बसाइ : खुट्टा पसार्न नपुग्ने फ्ल्याट, रातभर लामखुट्टेको टोकाइ

नेपालखबर
असोज १२ , हङकङ

रातभरको लामो ड्युटी सकेर लेउङ हङकङको शाम शुई पोस्थित पुरानो आवासीय भवनमा रहेको साँघुरो फ्ल्याटमा फर्किन्छन्।

उनको फ्ल्याट ५० वर्गफिटको छ। त्यो भवनमा उनकै जस्तो १२ ओटा युनिट छन्। जसमा मुस्किलले एकजना अटाउँछन्।

उनको कोठा यति सानो छ कि उनले आफ्ना सामानहरु सबै बाकसमा पोको पारेर आफ्नै खाटमा राख्ने गर्छन्। जसका कारण उनी राति पनि खुट्टा पसारेर सुत्न सक्दैनन्। उनको फ्ल्याटमा एउटा सिंक छ र एउटा ढोका नभएको बाथरुम छ तर किचन छैन। 

उनको फ्ल्याटमा झ्यालसमेत छैन। गर्मीमा पनि उनको फ्ल्याट गुम्मा हुन्छ। त्यसमाथि फ्ल्याटमा लामखुट्टेका कारण रातभर राम्रोसँग निदाउन नसकेको लेउङ बताउँछन्। 

‘हङकङमा नयाँ आएका मानिसलाई मेरो हालत सुनाउँदा उनीहरु विश्वास नै गर्न सक्दैनन्’, ५८ वर्षीय लेउङले भने। 

आफ्नो वयस्क छोरासँग छुट्टिएर गत वर्षको अप्रिलमा उक्त युनिटमा आएका उनीसँग त्योभन्दा ठूलो फ्ल्याट खरिद गर्न नसक्ने बाध्यता छ। उनले अहिले उक्त फ्ल्याटका लागि मासिक २८ सय हङकङ डलर बुझाउँदै आएका छन्। 

हङकङमा लेउङजस्ता २ लाख २० हजारभन्दा धेरै मानिस छन्, जो निकै सानो फ्ल्याटमा जसोतसो जीवन धान्न बाध्य छन्। हङकङमा करिब १ लाख १० हजार त्यस्ता साना फ्ल्याटहरु छन्। यस्ता फ्ल्याट एकल वा जोडी मात्र भएको परिवारले लिने गरेका छन्। कुनै कुनैमा त झन् तीन पुस्ते परिवार पनि बस्ने गरेका छन्। 

हङकङमा हाउजिङको गम्भीर अभावका कारण पनि धेरैले निकै सानो फ्ल्याटमा चित्त बुझाउनुपरेको हो। केही केही फ्ल्याट त पिँजाराजस्तै छन् भन्दा फरक नपर्ला। 

लेउङ अहिलेको आफ्नो अवस्था हेर्दा आफ्नो बाल्यकाल सम्झिन्छन्। त्यतिबेला पनि उनी आफ्नो भाइहरुसँग साँघुरो फ्ल्याटमा बस्थे। पछि उनीहरुको अभिभाकले शाम शुई पोमा नै भाडाको घर लिएका थिए। विवाह गरेपछि उनी घर छाडेर हिँडे र आफ्नै फ्ल्याट लिए। अहिले पत्नीसँग सम्बन्धविच्छेद गरेपछि उक्त फ्ल्याट पनि पूर्वपत्नी र छोरालाई दिएर एक्लै बस्दै आएका छन्। 

सन् २०१९ सम्म उनी मेनल्यान्ड चीनस्थित एक कम्पनीमा काम गर्थे तर त्यो कम्पनी टाट पल्टियो र उनी हङकङ फर्किए। गत वर्ष सुरक्षा गार्डका काम पाउनुभन्दा पहिला उनी बेरोजगार थिए। उनी बस्नलाई राम्रो ठाउँ होस् भन्ने चाहन्छन्। उनी भन्छन्,‘जतिसुकै नराम्रो भए पनि अहिले मैले धान्न सक्ने भनेको यही फ्ल्याट मात्र हो।’ 

धेरैजसो मानिससँग छैन विकल्प
हङकङका साँधुरा फ्ल्याण्टमध्ये धेरैमा झ्याल छैन र फोहोर र माकुरा तथा माउसुलीजस्ता किराको बिगबिगी हुन्छ। यस्ता फ्ल्याट बसोबासको लागि उचित नभएको भन्दै मानिसहरुले आलोचना पनि गर्दै आएका छन्। 

उनीहरुको अवस्था जस्तो भए पनि सरकारले भने उनीहरुले सुरक्षाको लागि विभिन्न किसिमको नीति लागू गर्दै आएको छ। हङकङमा सबैभन्दा गरीबले यस्तो फ्ल्याट लिन्छन् भन्ने सोच छ। 

गत जुलाई महिनामा स्टेट काउन्सिलको हङकङ र मकाउ कार्यालयका निर्देशक सिया बाओलोङले सरकारको भित्री समस्या पूर्णरुपमा समाधानको लागि सन् २०४९ सम्मको सीमा निर्धारण गरेका थिए। उनले विशेषगरी यो अवधिमा साँघुरा युनिट र पिँजरा जस्ता घर हटाउनुपर्ने बताएका थिए। 

हङकङकी पूर्व प्रमुख क्यारी लामले पनि आफ्नो अन्तिम भाषणमा सबै हङकङवासीले राम्रो व्यवस्था भएको आवास पाउनुपर्ने बताएकी थिइन्। अहिलेका हङकङ प्रमुख जोन लीले पनि आफ्नो कार्यकालमा हाउजिङको समस्या समाधान हुने बताएका थिए। 

गत वर्षको मार्चमा प्रकाशित विवरणअनुसार हङकङका करिब तीन प्रतिशत अर्थात २ लाख २६ हजार ३४० मानिस साँघुरो फ्ल्याटमा बस्न बाध्य छन्। यस्ता फ्ल्याटहरु औसतमा १२४ वर्गफिटको हुने गरेका छन्। अझ केही फ्ल्याट त २० वर्गफिटसम्मका पनि छन्। 

हङकङको लेगकोले गत जुलाईमा पारित गरेको नयाँ नियमअनुसार अबको दिनमा त्यस्ता फ्ल्याट नवीकरण गर्दा भाडा बढाउन पाइँदैन। हङकङमा हाउजिङको भाउ आकाश छोएको छ।

उनीहरुलाई पब्लिक रेन्टल फ्ल्याट पाउने आशा छ तर यसको पालो आउन अर्झ कति वर्ष लाग्ने हो टङ्गो छैन। हङकङमा फ्ल्याट पनि प्रति वर्गफिटको आधारमा लिने गरिन्छ। त्यसैले हङकङका सबैभन्दा गरीब मानिसले साँघुरो फ्ल्याटको भन्दा धेरै पैसा तिर्न सक्दैनन्। 

यस्ता साघुँरो फ्ल्याटमा बस्ने मानिसले पनि आफ्नो आम्दानीको एकतिहाइसम्म रकम भाडामा खर्च गर्छन्। 

आशामै सीमित सार्वजनिक आवास
पछिल्लो सात वर्षदेखि ४६ वर्षीया सिङ ऐझेन र उनका दुई छोरा मोङ कोकस्थित एक सय वर्गफिटको फ्ल्याटमा बस्दै आएका छन्। हेनान प्रान्तकी उनी सन् २०१५ मा हङकङका नागरिकसँग पुनः विवाह गरेर छोराहरुसहित आएकी थिइन्। तर, उनको दोस्रो विवाह पनि सफल हुन सकेन र सम्बन्धविच्छेद भयो। 

मासिक करिब १० हजार हङकङ डलर कमाउने उनले भाडाको लागि मात्र करिब ४ हजार डलर खर्च गर्छिन्। उनका दुई छोराहरु एउटै खाटमा सुत्छन् उनीहरुको बाथरुम र किचन पनि जोडिएको छ। सधैं खाना बनाउन शौचालयको गन्ध आउने गरेको उनको अनुभव छ। साना दुईवटा मात्र झ्याल भएकाले उनको फ्ल्याटमा राम्रोसँग हावा पनि छिर्दैन। 

कोरोना महामारीको समयमा सबैजना घरमा बस्नुपर्दा यो फ्ल्याट उनीहरुका लागि झनै साघुँरो लाग्यो। उनले पब्लिक रेन्टल फ्ल्याटका लागि कुरेको पाँच वर्ष भइसक्यो। उनलाई अझै पनि उक्त फ्ल्याट पाउने आशा छ। 

‘स्थायी र सुरक्षित जीवनको लागि हामीलाई बसोवासको राम्रो स्थान आवश्यक छ’, उनले भनिन्। उनीजस्ता धेरैको लागि पाब्लिक रेन्टल होम आशा मात्र हो, पाउन धेरै गाह्रो छ। 

असोज १२, २०७९, बुधबार

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .