अक्सफाम ट्रेल दौडमा हङकङका स्थानीय नेपालीले जगाए आशा

अक्सफाम ट्रेल दौडमा हङकङका स्थानीय नेपालीले जगाए आशा

तस्बिर सौजन्य : वसन्त आङबुहाङ


मगेन्द्र राई
मंसिर १०, २०८० आइतबार १७:४४, हङकङ

हङकङमा आयोजित प्रसिद्ध ‘अक्सफाम ट्रेल रन’ मा हङकङका नेपाली टिमले राम्रो प्रदर्शन गरेका छन्।

१०० किलोमिटर लामो दुरीको उक्त दौड शुक्रबार साइकुङस्थित पाकताम चुङ कन्ट्री पार्कबाट बिहान ८ बजे सुरु भई क्रसरोडस् फाउन्डेसन, चुनमुनमा समाप्त भएको थियो। चार जनाको सामूहिक दौडमा दुई स्थानीय नेपाली टिमले प्रतियोगितामा भाग लिएका थिए।

हङकङ नेप्लिज अल्ट्रा ट्रेल एसोसिएसनको प्रतिनिधित्व गर्दै दुई समूहमध्ये टिम ए पुरुषतर्फ वेदराज लिम्बू, विनोद गुरुङ, ईश्वर गुरुङ र यामनाथ लिम्बूको टिमले निर्धारित दुरी १५ घन्टा ४४ मिनेटमा पार गरी ८५० टिममध्ये समग्रमा नवौँ तथा पुरुष समूहमा छैटौँ स्थान हासिल गरेका थिए। स्थानीय नेपालीहरूको सहभागितामा यो नै  पहिलो उत्कृष्ट प्रदर्शन हो।

त्यसैगरी मिक्स समूहमा भेषराज भट्टराई, दिलकुमारी लिम्बू, लबिन गुरुङ र खर्कराज लिम्बूले १९ घण्टा ४१ मिनेटमा पार गरी मिक्सतर्फ १७औँ स्थानमा आएको जानकारी संस्थाका सचिव वसन्त आङबुहाङले नेपालखबरलाई जानकारी गराए। उक्त दौडको कटअफ टाइम ४८ घन्टा रहेको छ।

प्रतियोगितामा सहभागी प्रतिटिमले १२० हङकङ डलर निवेदन शुल्क र १६ सय हङकङ डलर दर्ता शुल्कसहित प्रत्येक टिमले आयोजकलाई कम्तीमा ८ हजार हङकङ डलर उपलब्ध गराउनुपर्छ। ठूला कम्पनीले भने ७२ हजार डलर बुझाउनुपर्छ।

‘१०० किलोमिटर दौडिन चानचुने कुरा होइन, त्यसमाथि माना खाएर मुरी उब्जाउनुपर्ने हङकङ जस्तो व्यस्त ठाउँ, प्रतियोगिताको लागि शारीरिक र मानसिक रूपमा तयार हुनुपर्‍यो। अझ यत्रो ठूलो खर्च पनि रहेछ, कसरी जुटाउनु भो?’ भन्ने नेपालखबरको जिज्ञासामा सचिव आङ्बुहाङ भन्छन्, ‘यो संस्थामा सबैजना ट्रेल रनिङसम्बन्धी अनुभवी र परिपक्व व्यक्ति आबद्ध छन्। त्यस्ता अनुभवी र जोसिला व्यक्तिहरू मिलेर नै यो संस्था खोलेका हौँ। त्यसैले हामीमा अनुभव र आत्मविश्वास दुवै छ। जहाँसम्म अर्थको कुरा छ, त्यो हामी व्यक्तिगत रूपमै जोहो गर्छौं। त्यतिले नपुगे ब्याकअपका लागि व्यावसायिक संस्थाहरू छन्।’

गत जुनमा हङकङकै स्थानीय ट्रेल रनरहरूको समूहले स्थापना गरेको उक्त संस्थाले हङकङमा रहेका स्थानीय नेपाली प्रतिभाहरूलाई प्लेटफर्म दिने तथा नेपालमा रहेका प्रतिभालाई समेत सहयोग गर्ने उद्देश्य राखेको छ।

‘हङकङमा नेपाली समुदायमा हुने विभिन्न खेलमा दशौँ हजार डलर पुरस्कार राशी दिइने गरेको छ। हामी ट्रेल रनमा त्यो व्यवस्था किन नगर्ने?’ भविष्यमा आकर्षक नगद पुरस्कार सहितको दौड प्रतियोगिता आयोजना गर्ने बताउँदै आङ्बुहाङले भने, ‘फेरि हङकङमा वार्षिक सयौँ ट्रेल रनिङ प्रतियोगिता सम्पन्न हुन्छन् तर त्यहाँ नगद पुरस्कार हुँदैन। हामीले पुरस्कारको व्यवस्था गर्न सके विश्वका एलिट रनरहरूलाई आकर्षित गर्न सक्छौँ, जसले हामीलाई नेपालको चिनारी गराउन थप मद्दत गर्नेछ।’

आगामी वर्षको अक्सफाम ट्रेल प्रतियोगितामा अझ राम्रो प्रदर्शन गर्ने संस्थाको लक्ष्य रहेको सचिव आङबुहाङ बताउँछन्।

अक्सफाम ट्रेवाकर प्रतियोगिता सन् १९८१ मा हङकङमा कार्यरत क्विन गोर्खा सिग्नल रेजिमेन्टका लागि सैन्य प्रशिक्षण र अभ्यासको रूपमा सुरु भएको थियो। सन् १९८६ मा अक्सफाम हङकङलाई सह-आयोजकको रूपमा भित्र्याइएको थियो। सन् १९९७ मा गोर्खा सैनिक बेलायतमा स्थानान्तरण गरेपश्चात् अक्सफामले एक्लै सञ्चालन गर्दै आएको  छ।

यो प्रतियोगितामार्फत हालसम्म लाखौँले सहभागिता जनाइसकेका छन्। नेपालका पूर्ण तामाङ, तीर्थ तामाङ, समिर तामाङ, वेद सुनुवारलगायत अन्य नेपाली धावकले कीर्तिमानसहित उक्त दौड जितिसकेको इतिहास छ भने आयोजकले ६०० मिलियनभन्दा बढी रकम सङ्कलन गरिसकेका छन्। संस्थाले उक्त रकमबाट एसिया र अफ्रिकी देशहरूमा गरिबी निवारण तथा आपत्‌कालीन राहत परियोजनाहरू सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .