हङकङबाट यसरी जारी हुन्छ नेपालीलाई एकतर्फी ‘ट्राभल डकुमेन्ट’*

हङकङबाट यसरी जारी हुन्छ नेपालीलाई एकतर्फी ‘ट्राभल डकुमेन्ट’*

पृष्ठभूमि तस्बिर : अनस्प्लास


विपेन्द्र घिमिरे
पुस २०, २०८० शुक्रबार १८:४७,

विश्वका धेरै मुलुकले आफ्ना नागरिक विभिन्न कारणवश विदेशमा रहेका तर उनीहरूसँग राहदानी नभएको र आफ्नो मुलुक फर्कनुपर्ने बाध्यता रहेको अवस्थामा एकतर्फी यात्रा अनुमति पत्र (अन वे ट्राभल डकुमेन्ट) जारी गर्ने गरेका छन्।

यस्तो प्रावधान नेपालको हकमा पनि छ। राहदानी ऐन २०७६ र राहदानी नियमावली २०७७ मा यस्तो व्यवस्था रहेको छ।

यसै व्यवस्थालाई टेकेर हङकङस्थित नेपाली महावाणिज्यदूतावासले पनि राहदानी नभएका वा राहदानीको म्याद सकिएका आफ्ना नगारिकलाई नेपाल पठाउनको लागि यस्तो कागजात जारी गर्ने गरेको छ।

यस्तो कागजात नेपालीमूलको हुनेबित्तिकै भने पाइँदैन। यसको लागि राज्यले केही सर्त तोकेको छ। हङकङ महावाणिज्यदूतावासका अनुसार हङकङमा बस्ने नेपाली यो विषयमा झुक्किने गरेका छन्। उनीहरू नझुक्किउन् भनेर दूतावासले शुक्रबार फेसबुक लाइभ गरी कस्ता व्यक्तिले यस्तो कागजात पाउँछन् र कस्ताले पाउँदैनन् भनेर बताएको छ।

कस्ता व्यक्तिले पाउँछन् एकतर्फी यात्रा अनुमति पत्र?
एकतर्फी यात्रा अनुमति पत्र (अन वे ट्राभल डकुमेन्ट) भनेको विदेशमा रहेका आफ्ना नगारिकलाई सम्बन्धित देशले आफ्नो देशसम्म पुग्न जारी गर्ने एक प्रकारको कागजात हो।

यसको एक मात्र उद्देश्य भनेको विदेशमा रहेका आफ्ना नागरिकलाई आफ्नो देशसम्म पुग्ने कागजात तयार पारिदिनु हो।

महावाणिज्यदूतावासले जानकारी गराएअनुसार मुख्यतया यी तीन अवस्थामा एकतर्फी यात्रा अनुमति पत्र जारी गर्ने गरिएको छ–

१. राहदानीको म्याद सकिएको, हराएको, च्यातिएको वा नष्ट भएको
कुनै नेपाली नागरिक हङकङ वा मकाउमा बसोबास गर्दछ र उसको राहदानीको म्याद सकिएको, हराएको, च्यातिएको वा नष्ट भएको छ भने उसलाई नेपाल जानको लागि एकतर्फी यात्रा अनुमति पत्र जारी हुन्छ। हुनतः हाल हङकङबाटै पनि राहदानी नवीकरण गर्न सकिन्छ, जुन मकाउमा बस्ने नेपालीको हकमा भइरहेको पनि छ। तर, यहाँबाट प्रक्रिया गर्दा ढिलो हुने र उक्त व्यक्तिलाई तत्काल नेपाल जानुपर्ने छ भने उसले वन वे ट्राभल डकुमेन्ट बनाई नेपाल जान सक्दछ।

२. विदेशमा अलपत्र परेको नागरिकलाई उद्धार गरी नेपाल पठाउनुपरेमा
कोही नेपाली नागरिक हङकङमा अलपत्र परेको छ भने उसलाई एकतर्फी यात्रा अनुमति पत्रमार्फत नेपाल पठाउन सकिन्छ। यसको लागि ऊ नेपाली हो भन्ने प्रमाण भने पुग्नु पर्दछ। सबैभन्दा बलियो प्रमाण ऊसँग नेपालको नागरिकता वा राहदानी हुनु पर्दछ।

३. नेपाली बाबुआमाका विदेशमा जन्मिएका सन्तान
नेपाली बाबुआमाका विदेशमा जन्म भएका सन्तान, जसको राहदानी छैन, उनीहरू नेपाल जानुपरेमा एकतर्फी यात्रा अनुमति पत्र जारी हुन्छ। यसको लागि बाबुआमाको नागरिकता, राहदानी, हङकङ आईडी लगायतका कागजात पेस गर्नु पर्दछ।

त्यस्तै, मकाउको हकमा पनि एकतर्फी यात्रा अनुमति पत्र प्राप्त गर्नको लागि नेपालको नागरिकता, नेपालको राहदानी, मकाउको ब्लुकार्ड वा त्यहाँ बस्न प्राप्त भएको अनुमति पत्र चाहिन्छ र बच्चाको हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नु पर्दछ।

भिडिओ :

हङकङमा रहेका करिब ३५ हजार नेपालीमध्ये अधिकांश नेपाली नागरिक नै हुन्, जसको साथमा नेपाली नागरिकता र पासपोर्ट रहेको छ। अस्थाई वा स्थायी आईडी लिएर हङकङमा बस्न नेपालको नागरिकता परित्याग गर्नु पर्दैन। तर हङकङको पासपोर्ट लिन चाहिँ नेपालको नागरिकता परित्याग गर्नुपर्छ, नेपालको पासपोर्ट र नागरिकता त्यागेर हङकङको पासपोर्ट लिने नेपालीको संख्या एक हजार पनि छैन।

हङकङ आईडीबाटै हङकङको पासपोर्ट जत्तिकै अधिकार पाइने भएपछि यहाँका अधिकांश नेपाली नेपालको नागरिकता परित्याग गरेर हङकङको पासपोर्ट लिन रुपचाउँदैनन्।

महावाणिज्यदूतावासले भिडिओमा नेपाली नागरिकता त्यागेर विदेशको नागरिक बनेका नेपाली भनेर यहाँ खासगरी हङकङबाट बेलायत गएका नेपालीलाई भन्न खोजेको देखिन्छ, जसले बेलायतको नागरिक बनेर पासपोर्ट लिन नेपाली नागरिकता त्यागेका हुन्छन्।

विदेशी नागरिकता लिइसकेको व्यक्तिका सन्तानले एकतर्फी यात्रा अनुमति पत्र पाउँछन्?
‘नेपाली मुलको तर विदेशको नागरिकता लिइसकेका धेरै बाबु आमाले पनि आफ्ना बालबालिकाका लागि एकतर्फी यात्रा अनुमतिपत्रका लागि अनुरोध गर्ने गर्नु भएको छ। यस्तो अवस्थामा ती बालबालिकाका बाबुले विदेशको नागरिकता लिइसकेको अवस्थामा आमाको मात्र नेपाली नागरिकता वा पासपोर्ट भएपनि हामीले यात्रा अनुमतिपत्र जारी गर्ने गरेका छैनौँ,’ दूतावासले भनेको छ, ‘बच्चा जन्मिएको बेला बाबु नेपाली नागरिक नै थिए र पछि मात्र विदेशको नागरिकता लिएको हो भने ‘बाबुको कागजातका आधारमा विदेशी मुलुकको कुनै पनि कागजात नलिएको भन्ने स्वघोषणा गराएर’ एकतर्फी यात्रा अनुमति पत्र जारी गर्न सकिन्छ।’

बच्चाको आमा नेपाली हो र बाबुको पहिचान खुलेको छैन भने चाहिँ एकतर्फी यात्रा अनुमति पत्र जारी गर्न सकिने महावाणिज्यदूतावसले जनाएको छ।

दूतावासको फेसबुक लाइभमा भनिएको छ, ‘यो व्यवस्था धेरैलाई थाहा नभएको जस्तो देखिन्छ। हाम्रो कानुनी प्रावधान अनुसार यस्तो पत्र जारी गर्नका लागि यदि आमा नेपाली हो र बाबुको पहिचान खुलेको छैन भने आमाको नागरिकताको आधारमा जारी गर्न सकिन्छ।’

नेपाली बुवा र विदेशी आमाको हकमा के हुन्छ?
नेपाली बाबु र विदेशी आमाको हकमा बच्चालाई एकतर्फी यात्रा अनुमति पत्र जारी हुन्छ। यसको लागि बाबुको नागरिकता, राहदानी र आईडी तथा आमाको राहदानी, बच्चाको जन्मदर्ता र ‘आमाको कागजातको आधारमा विदेशी मुलुकको कुनै पनि कागजात नलिएको भन्ने स्वघोषणा गराएर’ एकतर्फी यात्रा अनुमति पत्र जारी गर्न सकिने महावाणिज्यदूतावासले जनाएको छ।

सम्पादन गरिएको* 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .