हङकङमा आइतबार भएको सवारी दुर्घटनाका मृतकमध्ये एक जना प्लास्टिक सर्जन

हङकङमा आइतबार भएको सवारी दुर्घटनाका मृतकमध्ये एक जना प्लास्टिक सर्जन

वानचाइस्थित हार्बर रोड र फ्लेमिङ रोडको चोकमा दुर्घटनापछिको अवस्था (ह्यान्डआउट/एससीएमपी)


नेपालखबर
माघ २, २०८० मंगलबार २३:६, हङकङ

आइतबार राति वानचाइमा भएको सवारी दुर्घटनामा मृत्यु भएकामध्ये एक जना हङकङका प्लास्टिक सर्जन भएको खुलेको छ।

आइतबार राति करिब साढे ९ बजे फ्लेमिङ रोडबाट उत्तरतर्फ जाँदै गरेको ट्याक्सी र हार्बर रोडको चोकबाट पूर्वतर्फ माडिँदै गरेको सिटीबसको डबल डेकर बस एकापसमा ठोकिएका थिए।

यो दुर्घटनामा घाइते हुनेहरूमध्ये दुई जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो।

जसमा ४७ वर्षीया महिलालाई रुट्टोन्जी अस्पताल लगिएकोमा उनलाई राति १० बजे अस्पतालले मृत घोषित गर्‍यो।

त्यस्तै, ५९ वर्षीय पुरुषलाई पोकफु लाममा रहेको क्विनमेरी अस्पताल लगिएको थियो। उनलाई राति सवा ११ बजे अस्पतालले मृत घोषित गरेको थियो।

मृत्यु हुने महिला मुख्यभूमि चीनको रहेको र पुरुष चाहिँ हङकङका प्लास्टिक सर्जन डा. विल्सन हो वाइ–सन रहेको एससीएमपीले जनाएको छ।

डा. हो प्लास्टिक सर्जनको क्षेत्रमा चर्चित नाम हुन्। उनले सन् १९९६ मा भएको दुःखद् आगलागीको घटनाका पीडितलाई उपलब्ध गराएको शल्यक्रिया सेवाले त्यतिबेला निकै प्रशंसा पाएको थियो।

पातसिन लेङको पहाडमा भएको उक्त आगलागीमा पाँच जनाको ज्यान गएको थियो भने १३ जना घाइते भएका थिए।

आइतबारको दुर्घटनामा मृत्यु हुने दुवै जना ट्याक्सीमा सवार थिए। बसमा भने दुर्घटनाको समयमा कुनै यात्रु नरहेको बुझिएको छ।

प्रहरीले ट्याक्सी चालकलाई खतरनाक तरिकाले सवारी चलाएको आरोपमा पक्राउ गरेको छ। उनीमाथि लागेको आरोप पुष्टि भएमा १० वर्षसम्म जेल सजाय हुनसक्ने कानुनी प्रावधान छ।

३३ वर्षीय ट्याक्सी चालकलाई पनि चोटपटक लागेको र उनलाई रुट्टोन्जी अस्पताल लगिएको थियो।

३० वर्षीय बस चालकलाई भने कुनै चोटपटक लागेको छैन।

सिटीबसले दुर्घटनाको उक्त समयमा बस रुटमा नचलेको र ट्राफिक संकेतको पालना गर्दै हार्बर रोड एवं फ्लेमिङ रोडको चोक पार गर्दै गरेको जनाएको छ।

यस घटनालाई हङकङ आइल्यान्ड क्षेत्रीय मुख्यालयका अधिकारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

यसैगरी, फेडरेसन अफ मेडिकल सोसाइटीले होको मृत्युमा गहिरो शोक व्यक्त गर्दै प्लास्टिक सर्जनको क्षेत्रमा उनले गरेको योगदानको उच्च मूल्यांकन गरेको छ।

‘डा. हो साथीहरूबीच मिलनसार र कस्मेटिक सर्जरी संघका महत्त्वपूर्ण सदस्य थिए,’ सोसाइटीको भनाइ उद्धृत गर्दै एससीएमपीले लेखेको छ, ‘उनको निधन हङकङको चिकित्सा क्षेत्रको लागि ठूलो क्षति हो।’

त्यस्तै, ताइवान, थाइल्यान्ड, सिंगापुर लगायत ठाउँका डाक्टरले पनि होको निष्ठा र लोकप्रियताको प्रशंसा गर्दै सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन्।

सिटीबसले पनि घटनाबाट दुःखी भएको भन्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ।

कम्पनीका प्रवक्ताको भनाइ उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘सिटीबस यस घटनाप्रति निकै दुःखी भएको छ र मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ।’

प्रवक्ताले थपेका छन्, ‘हामी प्रहरीको अनुसन्धानमा पूर्ण सहयोग गर्नेछौँ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .