हङकङ म्याराथनमा मृत्यु हुने धावक ‘प्रतिभा योजना’ मार्फत आएका चिनियाँ इन्जिनियर

हङकङ म्याराथनमा मृत्यु हुने धावक ‘प्रतिभा योजना’ मार्फत आएका चिनियाँ इन्जिनियर

भिक्टोरिया पार्क, कजवे बेको अन्तिम रेखामा आइपुगेका धावक (एससीएमपी)


नेपालखबर
माघ ९, २०८० मंगलबार १६:२७, हङकङ

हङकङमा आइतबार भएको स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथनमा मृत्यु भएका धावक चिनियाँ इन्जिनियर भएको खुलेको छ।

उनी ‘प्रतिभा भर्ना योजना (ट्यालेन्ट एडमिसन स्किम)’ अन्तर्गत हङकङ आएको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।

स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएअनुसार उनी दुई वर्षअघि हङकङ आएका थिए।

आइतबारको प्रतियोगितामा हाफ म्याराथन सकेपछि उनी एमटीआर तिनहाउ स्टेसन नजिकै बेहोस भई ढलेका थिए। जुन भिक्टोरिया पार्कको अन्तिम रेखा (दौडको अन्तिम गन्तव्य) नजिकै पर्दछ।

अकस्मात् ढलेका उनलाई दौड समितिको प्रारम्भिक उपचारपश्चात् रुट्टोन्जी अस्पताल पुर्‍याइएको थियो। पछि अस्पतालले उनलाई मृत घोषित गर्‍यो।

म्याराथनको सहआयोजक द हङकङ, चाइना एसोसिएसन अफ एथलेटिक्स एफिलियट्सले मृत्यु हुने व्यक्तिले म्याराथनमा भाग लिएको पुष्टि गरिसकेको छ। तर, सहभागीले आफ्नो पहिचान भने नखुलाएको एसोसिएसनले बतायो।

यद्यपि, मृत्यु हुने ३० वर्षीय धावकको पहिचान खुलिसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएअनुसार उनी दौड सकिएपछि याउमा तेइ गएर साथी भेट्ने र त्यहीँ खाना खाने योजनामा थिए।

हङकङको एजुकेसन युनिभर्सिटीका स्वास्थ्य तथा शारीरिक शिक्षा विभागका उपप्रमुख लोबो लुईलाई उद्धृत गर्दै लेखिएअनुसार पहिले पहिलेका म्याराथनमा एक लाख सहभागीमध्ये १ जनाको मृत्यु हुने सम्भावना रहन्थ्यो। धेरैजसो मृत्युका घटना जन्मजात मुटुको समस्या हुनेहरूमा देखिथ्यो। यसैले दौडअघि धावकले मुटुको पूर्ण जाँच गराउनुपर्ने उनी सुझाउँछन्।

सन् १९७७ बाट सुरु भएको स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथनको इतिहासमा आइतबारको मृत्यु छैटौँ घटना हो।

यसअघि सन् २०१८, २०१७, २०१५, २०१२ र २००६ मा पनि धावकको मृत्यु भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .