कोरोना भाइरस : हङकङमा मास्कका लागि मारामार, बिक्रेताहरु मालामाल

कोरोना भाइरस : हङकङमा मास्कका लागि मारामार, बिक्रेताहरु मालामाल

मगेन्द्र राई
माघ २६, २०७६ आइतबार ७:३३,

नोबल कोरोना भाइरस महामारीको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तले शनिबार मात्रै यस रोगबाट मृत्यु हुनेको संख्या ८९ पुगेको जनाएको छ।

यस रोगबाट शुक्रबार ८६ बिरामीहरुको मृत्यु भएको थियो। उक्त महामारी बाट कुल ज्यान गुमाउनेहरुको संख्या ७८८ पुगेको छ। हुबेई प्रान्तीय स्वास्थ्य अधिकारीहरूले पछिल्लो २४ घण्टामा २७ हजार १०० नयाँ बिमारी थपिएको पुष्टि गरेका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले चीनमा शुक्रबार ३ हजार ३८५ संक्रमित भएका थिए भने शनिबार २ हजार ६५६ संक्रमित भएको पुष्टि गरेको छ।

विश्वभर उक्त महामारी बाट मर्नेहरुको कुल संख्या ८१३ पुगेको छ। यो संख्या सन् २००३ को घातक सार्स महामारीबाट मृत्यु हुने संख्याको बराबरीको हो। कोरोना भाइरस सार्सको तुलनामा कम घातक भए पनि मृत्यु हुनेहरुको संख्या सार्स महामारीलाई उछिन्ने पक्कापक्की भएको पछिल्लो तथ्यांकले देखाएको छ।

अहिलेसम्मको तथ्यांक अनुसार विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३ हजार ७५२ पुगेको छ भने मृत्यु हुनेहरुको सङ्ख्या ८१३ पुगेको छ। साथै उपचारद्वारा स्वस्थ लाभ गर्नेहरुको संख्या २१५२ रहेको छ।

चीनबाहेक फिलिपिन्स र हङकङमा पनि यस भाइरसका कारण १–१ व्यक्तिले ज्यान गुमाएका छन्। हङकङमा उक्त भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या २६ पुगेको छ।

हङकङमा हाहाकार
सन् २००३ को सार्स महामारीको चपेटामा परेको हङकङ कोरोनाबाट थप त्रसित बनेका छन्। गत मंलबार ३९ वर्षीय चिनियाँ एक पुरुषको भाइरसको संक्रमण बाट मृत्यु भए पछि हङकङमा थप त्रास सिर्जना भएको हो।

उक्त घटनापछि डिपार्टमेन्ट स्टोसहरुमा खाद्य पदार्थ, ट्वाइलेट पेपर, अन्डा, लगायतका पदार्थहरु माग बढेपछि कृत्रिम अभावको सिर्जना भएको थियो।
मास्कका लागि मारामार, बिक्रेताहरु मालामाल
कोरोना भाइरसको संक्रमणबाट बच्न मास्कको प्रयोग अनिवार्य भएको कारण बजारमा यसको अभाव सिर्जना भएको छ। कुनै स्टोरले मास्क वितरण गरेको थाहा हुनासाथ बिहानैदेखि हजारौंको संख्यामा मास्क किन्नहरुको लाम लाग्ने गरेको छ। लामो समयसम्म लाइन बस्दा समेत मास्क किन्न नपाउदा ग्राहकहरु निराशा तथा क्रोधितसम्म हुनेगरेको र कतै–कतै झगडा समेत हुने गरेको छ।

बजारमा मास्कको अभाव भएपछि व्यापारीहरुले मूल्य बढाएर बिक्री वितरण गरिरहेका छन्। एक÷दुई सय डलरमा पाइने मास्कको मूल्य भाइरसको प्रकोप सुरु भएपछि ५ सय डलर कटेको छ। नेपाली खुद्रा पसलहरुमा समेत नेपालमा खुद्रा मूल्य रु १० पर्ने मास्क रु ७५ भन्दा बढी मूल्यमा बिक्री गरिरहेका छन्। एक नेपाली बिक्रेताका अनुसार नेपालीभन्दा स्थानीय चिनियाँहरुले धेरै मात्रामा मास्क किन्ने बताइन्।

निर्माण क्षेत्रहरुमा समेत भाइरस संक्रमित, साइट बन्द, कामदारहरु घाटामा
कोरोनाको संक्रमणबाट निर्माण क्षेत्र पनि प्रभावित भएको छ। ड्रागेज कम्पनीका चुन–मुन–चेपलाप कोक लिंक सुरुङ मार्गमा कार्यरत एक चिनियाँ महिलामा भाइरस संक्रमित भए पछि गत ५ तारिक बाट आगामी १९ तारिकासम्म पुरै साइट बन्द गरि क्वारेन्टाइन बनाइएको छ।

झन्डै ५ सयको हाराहारीमा कामदार रहेको उक्त परियोजनामा ८० प्रतिशत नेपालीहरु कार्यरत रहेको एक कामदारले नेपालखबरलाई बताए। उनले भने, ‘उत्तरी साइटतर्फको कार्यालयमा कार्यरत चिनियाँ महिलालाई संक्रमण भएको पत्ता लागेपछि पुरै साइट बन्द भएको हो, हामी दक्षिणी साईटमा कार्यरत थियौ, उनिहरु त्यता सकेर यता आउने वाला थियो। अहिले कोठा मै बसेका छौँ।’ उनका अनुसार हरेक दिन कम्पनीलाई आफ्नो स्थितिबारे फोनमार्फत जानकारी गराउनु पर्ने बताए। साथै कम्पनीले भिडभाडबाट अलग्गै रहन, हरेक समय मास्कको प्रयोग गर्न समेत सल्लाह दिएको बताए। ‘छुट्टी बसेपछि पारिश्रमिक पाइएला त?’ भनी सोधिएको प्रश्नमा उनले भने, ‘हामी मेन कन्ट्राक्टर तथा बेसिक पे भएको ले ज्याला पाउनेमा आशावादी छौँ। तर, दैनिकी ज्यालामा काम गर्ने तथा सब कन्ट्राक्टरमार्फत काम गर्नेहरुले ज्याला नपाउन पनि सक्छन्।’ उनका अनुसार अन्य कतिपय निर्माण क्षेत्रमा काम गर्नेहरुले बेतलवी समेत बसिरहेका छन्।

सार्वजनिक भेला तथा खेलकुद प्रतियोगिताहरु बन्द
सरकारले हङकङबासीहरुलाई भिडभाडबाट परै रहन आग्रह गरेको छ। भाइरस कै त्रासका कारण सार्वजनिक, सामुदायिक भेलाहरु रद्द हुन थालेका छन् भने विभिन्न खेलकुद प्रतियोगिताहरु स्थगित गरिएको छ।

नेपालीद्वारा आयोजित लोकप्रिय गोर्खा ट्रैल ब्लेजर दौड प्रतियोगिता समेत यसैको कारण स्थगित भएको छ। त्यसैगरी नेपालीहरुले आयोजना गर्दै आएको व्यवसायिक सांगीतिक तथा सास्कृतिक प्रस्तुतिहरु पनि धमाधम रद्द हुन थालेका छन्।

सरकारद्वारा घरेलु कामदारलाई छुट्टीमा बाहिर नजान आग्रह
हङकङमा कार्यरत झन्डै ४ लाख विदेशी घरेलु कामदारहरुलाई बिदाको दिन पनि रोजगार दाताकै घरमा बस्न आग्रह गरेको छ। श्रम विभागले एक विज्ञप्तिमार्फत सरकारले घरेलु कामदारलाई सकेसम्म उनीहरूको छुट्टीको दिन रोजगारदाताकै घरमा आराम गर्न र सार्वजनिक यातायात तथा सार्वजनिक स्थानमा भिडबाट टाढा रहन अपिल गरेको छ। साथै रोजगारदाताहरूले उनीहरूको छुट्टीका दिनमा काम लगाउन नपाईने समेत उल्लेख गरेको छ। विज्ञप्तिमा रोजगार दाताहरूले आफ्ना घरेलु कामदारलाई छुट्टीका दिन काम गर्न बाध्य बनाए रोजगार दातालाई हङकङ डलर ५० हजार जरिवाना हुन सक्ने समेत चेतावनी दिएको छ।
बिशेष गरि आईतवार का दिन घरेलु कामदारहरुको जताततै भिड हुने गर्दछ।

के हो नोबल कोरोना भाइरस?
नोबल कोरोना नयाँ किसिमको भाइरस हो। यो यसभन्दा अगाडि मानवमा देखिएको थिएन। सन २०१९ मा पत्ता लागेकाले यसलाई २०१९ –एन कोभ भनिएको छ। यो गत गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखा परेको हो। उक्त भाइरस सन् २००३ को सार्स भाइरस परिवार कै भए पनि एकै भने नभएको चिकित्सकहरुले बताएका छन्।

यो कतिको घातक छ?
अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरू जस्तै, कोरोना भाइरसको संक्रमणले हल्का लक्षणहरू निम्त्याउन सक्छ। जस्तो रुघा लाग्ने, नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी, ज्वरो आउने आदि हुने गर्दछ।

केही व्यक्तिका लागि निमोनिया वा सास फेर्न गाह्रो भइ गम्भीर अवस्था समेत सिर्जना हुन सक्छ। तर, विरलै मात्र घातक हुन सक्ने चिकित्सकहरु बताउछन्। पाको उमेरका मानिसहरु, मधुमेह र हृदय रोग पीडितहरुमा भने भाइरस संक्रमणले बढी जोखिमपूर्ण स्थिति निम्त्याउन सक्ने बताइएको छ। तर रोग प्रतिरोधात्मक शक्ति भएका जवान समूहमा भने उक्त भाइरस घातक नहुने बताइएको छ।

भाइरस संक्रमण हुनबाट कसरी जोगिने?
प्रकोपको बारेमा नवीनतम् जानकारीका बारे सचेत रहने। उक्त सचेतता विश्व स्वस्थ संगठनको वेवसाइटमा समेत उपलब्ध छ। भाइरस संक्रमणबाट बच्न लिखित बुँदाहरुको अनुशरण गर्न सकिन्छ।

– साबुन पानीले बारम्बार हात धुने। हात त्यति मैला नदेखिए अल्कोहल झोलले हात माड्ने। त्यसो गर्दा भाइरसहरु निर्मुल हुन्छन्।

–भिडभाडबाट टाढै रहने । अर्को व्यक्तिबाट कम्तिमा १ मिटर वा ३ फिट टाढाको दूरीमा रहने। विशेष गरी जो रुघाखोकी र ज्वरो लागेका व्यक्तिहरुको नजिक रहे त्यस्ता बिरामीहरुको सासबाट भाइरस सर्ने डर रहन्छ।

–आँखा, मुख छुने तथा नाक कोट्याउने जस्ता गतिविधिहरु नगर्ने। किनकि हातले धेरै वस्तुलाई छोएको हून्छ र हात नधोइ आँखा, नाक वा मुखलाई छुँदा भाइरस हातको माध्यमबाट आफैंमा सार्न सक्छ।

–यदि आफूलाई ज्वरो, खोकी र सास फेर्न गाह्रो भएको छ भने, जतिसक्दो चाडो क्लिनिक, अस्पताल वा डाक्टर कहाँ जाने। स्वास्थ्य सेवा प्रदायक कहाँ पुग्दा आफू प्रकोप फैलिएको स्थान चीनको कुनै क्षेत्रमा यात्रा गरेको भए सोको बारेमा र श्वासप्रश्वासका लक्षणहरू भएको कुनै ब्यक्ति सँग हिमचिम भए नभएको स्पष्ट रुपमा बताउने।

–आफूलाई ज्वरो आउनुका साथै खोकी लाग्ने र सास फेर्न गाह्रो हुन बित्तिकै चिकित्सकको परामर्श लिने। ज्वरोको साथ श्वासप्रश्वासको लक्षणमा धेरै कारणहरू हुन सक्छन्। तसर्थ त्यस्तो समस्या आफ्नो व्यक्तिगत विगतको यात्रा र परिस्थितिहरूमा निर्भर रहन्छ।

यदि आफूलाई हल्का श्वासप्रश्वासका लक्षणहरू देखापरेका छन् तर हालै चीनमा यात्रा गरिएको छैन भने सावधानीपूर्वक आधारभूत श्वासप्रश्वासका अभ्यास गर्ने तथा पूर्ण आराम नभएसम्म व्यक्तिगत सरसफाइमा ध्यान दिइ घरमै बस्नु वा आराम गर्न उपयुक्त हुनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .