किराया हङकङले गर्‍यो १२औँ अधिवेशन, अध्यक्षमा गजेन्द्र बान्तवा

किराया हङकङले गर्‍यो १२औँ अधिवेशन, अध्यक्षमा गजेन्द्र बान्तवा

नवनिर्वाचित कार्यसमिति


नरजित राई
चैत १२, २०८० सोमबार १३:४६, हङकङ

किरात राई यायोक्खा (किराया), हङकङले १२औँ अधिवेशन सम्पन्न गरेको छ। सातिन जिल्लाको किलुङचुङमा अवस्थित सुप्तुलुङ खिमको, यलम्बर सभा हलमा हिजो (२४ मार्च) अधिवेशन गरिएको हो।

किराया हङकङका अध्यक्ष चन्द्रका थुलुङ राईको अध्यक्षता सप्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका सचिव तिलक सोमाइ मगर प्रमुख अतिथि, किरात याक्थुम चुम्लुङ, हङकङका अध्यक्ष शेरबहादुर लक्साम, किरात राई यायोक्खा, मकाउका अध्यक्ष मङ्‌गल राई विशेष अतिथिको आसनमा रहेका थिए।

त्यस्तै, किराया हङकङका कुबिमी नारायणप्रसाद राई, संरक्षकहरू हेजेन राई, रजिन राई, हरिसच्रन्द्र राई, शशिमदन राई, संस्थापक नरजित राई, सल्लाहकारहरु, भाषिक संस्थाका अध्यक्षहरूलाई अतिथिको रूपमा आसीन थिए।

संस्थाका उपाध्यक्ष  गजेन्द्रबहादुर राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रामली थुलुङ राई, सुवास पुमा राई, वसन्तकुमारी राई, शेरबहादुर लक्साम, मंगल राई, तिलक सोमाइ मगरले किराया हङकङको अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए।

अधिवेशनलाई खुला र बन्द सत्र गरी दुई भागमा विभाजन गरिएको थियो। किराया हङकङका सचिव राजेन्द्रकुमार राईले खुला सत्रको सञ्चालन गरेका थिए।

कोभिड १९ माहामारीका कारण संस्थाका निर्धारित कार्यक्रम बृहत् तथा भव्य रूपमा आयोजना गर्न नसकेता पनि साकेला उधौली/उभौली, चुल्हो पूजा, येलेदुङ, साउने सक्रान्ति सामूहिक देउसी-भैलो जस्ता कार्यक्रम सानै रूपमा भए पनि गरिएको सचिव राईले जानकारी गराए।

यसैगरी साहित्यकार तथा किराया हङकङका संस्थापक सदस्य नरजित राईद्वारा लिखित पुस्तक ‘किरात राई यायोक्खा, हङकङ : विगतदेखि वर्तमानसम्म (सन् १९९८ - २०२१)’ पुस्तक प्रकाशन गर्न सफल भएकोप्रति पनि संस्थाले गर्व महसूस गरेको उनले स्मरण गरे। यो पुस्तक किराया हङकङको दस्तावेजको रूपमा भावी पुस्तालाई अमूल्य सम्पत्ति भएकोले यसलाई महान् उपलब्धिको रूपमा लिनुपर्ने सचिव राईको भनाइ थियो।

खुला सत्र सकिएपछि कार्यक्रम बन्द सत्रमा प्रवेश गरेको थियो। बन्द सत्र सञ्चालनका लागि हेजेन राई अध्यक्ष तथा रजिन राई र हरिचन्द्र राई सदस्य रहेको तीन सदस्यीय समिति गठन भएको थियो।

कार्यक्रममा संस्थाका सचिव राजेन्द्रकुमार राईले तीन वर्षको कार्यप्रगतिका साथै सांगठनिक प्रतिवेदन पेस गरेका थिए।

यसैगरी कोषाध्याक्ष मनिकुमार राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले तीन वर्षमा चार लाख ६६ हजार पाँच सय ११ हङकङ डलर आम्दानी र चार लाख पाँच हजार पाँच सय ८ हङकङ डलर खर्च गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ। हाल संस्थासँग ६१ हजार ४ हङकङ डलर बचत रहेको छ।

कार्यक्रममा संस्थाको विधान संशोधन पनि एजेन्डाको रूपमा रहेको थियो। विधान संशोधनका मस्यौदाकार शशिमदन राईले लिखित रूपमा संशोधनको कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्त्यमा नयाँ कार्यसमिति गठन भएको थियो। आगामी तीन वर्षका लागि गजेन्द्र बान्तवा राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको गठन भएको थियो। जसको उपाध्यक्षमा गङ्गाराम साङ्पाङ, महासचिवमा राजेन्द्र चाम्लिङ, सचिवमा शिवकुमार बान्तवा, कोषाध्यक्षमा इमानशेर बान्तवा र सहसचिवमा दिपक केशर साङ्पाङ चुनिएका छन्।

त्यस्तै, सदस्यहरूमा रामचन्द्र राई, खामबहादुर राई, रेनुका राई, मेनुका बान्तवा, बालाजित राई र समीर राई चुनिएका छन्। बाँकी रहेका सहकोषाध्यक्ष र दुई जना सदस्य नयाँ कार्यसमितिले चयन गर्ने निर्वाचन मण्डलले निर्णय गरेको छ।

किरात राई यायोख्खा, हङकङको स्थापना २८ जनवरी १९९८ मा भएको हो। संस्थाले २० जनवरी २०१६ मा २५ लाख ५३ हजार हङकङ डलरमा सुप्तुलुङ खिम खरिद गरेको थियो। अहिले भने उक्त घरजग्गा हङकङ सरकारले पुन: आफ्नै स्वामित्वमा लिने भएको छ। सरकारले संस्थालाई उचित क्षतिपूर्ति सहित अर्को ठाउँमा स्थानान्तरण गर्नेमा उपस्थित सहभागीले आशा व्यक्त गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .