बाँदरको आक्रमणबाट गम्भीर बिरामीमा दुर्लभ भाइरसको पुष्टि, जुन हङकङकै पहिलो केस

बाँदरको आक्रमणबाट गम्भीर बिरामीमा दुर्लभ भाइरसको पुष्टि, जुन हङकङकै पहिलो केस

अधिकारीका अनुसार बाँदरको अगाडि खानेकुरा खाँदा वा आँखा जुधाउँदा आक्रमणका लागि उनीहरूलाई उक्साउन सक्छ (एससीएमपी)


नेपालखबर
चैत २३, २०८० शुक्रबार १२:१६, हङकङ

हङकङमा बाँदरले आक्रमण गरेका व्यक्तिमा हुमन बी भाइरस भेटिएपछि कृषि, मत्स्यपालन तथा संरक्षण विभागका अधिकारीले बाँदरबाट सतर्क रहन सर्वसाधारणलाई अपिल गरेका छन्।

३७ वर्षीय पुरुषलाई बी भाइरसको संक्रमण पुष्टि भएको दुई दिनपछि विभागका अधिकारीले बाँदरलाई नजिस्क्याउन चेतावनी दिएका हुन्।

हङकङमा यो भाइरस पहिलो पटक पुष्टि भएको हो। स्वास्थ्य विज्ञहरूका अनुसार बाँदरले बोक्ने यस्तो भाइरस दुर्लभ मानिन्छ भने यसको संक्रमणले मानिसको मेरुदण्ड र स्नायु प्रणालीलाई असर गर्दछ।

बाँदरको आक्रमणपछि संक्रमित बिरामीको अवस्था चिन्ताजनकबाट सुधार भएर शुक्रबार बिहानसम्म गम्भीर रहेको अस्पतालले जनाएको छ, जसलाई ज्वरो र चेतनास्तर कमीको समस्या देखिएपछि मार्च २१ मा चुनवानस्थित यानचाइ हस्पिटलमा भर्ना गरिएको थियो।

हुमन सिमिया भाइरस भनेर पनि चिनिने यो भाइरस हङकङका जंगली बाँदरमा पाइने गरेको छ। बाँदरको ¥याल, दिसा र पिसाबमा यी भाइरस पाइने स्वास्थ्य विज्ञहरूले बताए।

हङकङ सोसाइटी अफ इन्फेक्सियस डिजिजका अध्यक्ष डा. विल्सन लामले शुक्रबार एक रेडियो कार्यक्रममा बताएअनुसार यो भाइरस निकै दुर्लभ मानिन्छ।

सन् १९३२ मा पत्ता लागेदेखि हालसम्म यो भाइरसबाट करिब ५० जना मानिस संक्रमित भएका छन् भने २९ जनाको ज्यान गएको छ।

हङकङमा संक्रमित भएका व्यक्ति फेब्रुअरीको अन्त्यमा कामसान कन्ट्री पार्कमा यात्राको क्रममा आक्रमणमा परेका थिए।

लामका अनुसार बाँदरले टोके वा चिथोरेपछि जतिसक्दो चाँडो (पाँच मिनेटभित्र) कीटाणुरहित हुनुपर्छ। अनि मात्र मानिसको शरीरमा भाइरस फैलिन पाउँदैन। यो तत्काल सम्भव नभएमा बगेको सफा पानीले १५ मिनेटसम्म चोट लागेको ठाउँमा सफा गर्नु पर्छ।

यो एकदम छोटो समय भएकोले भाइरसबाट बच्ने सर्वोत्तम उपाय नै बाँदरबाट सतर्क रहनु रहेको विभागका अधिकारी बताउँछन्।

बाँदरसँग आँखा जुधाउँदा उनीहरू उत्तेजित हुने हुँदा त्यसो नगर्न अधिकारीहरूले सुझाएका छन्।

साथै, बाँदरलाई खानेकुरा दिने बासिन्दाको बानीले गर्दा पनि आक्रमणमा परिन सक्ने खतरा रहेकोले सावधानी अपनाउन भनिएको छ। स्मरण रहोस्, वन्यजन्तु संरक्षण कानुनअनुसार हङकङमा कुनै पनि जंगली जनावरलाई खानेकुरा दिन प्रतिबन्ध गरिएको छ, जसका कारण उनीहरूले जंगलमा चर्ने क्षमता नगुमाउन्।

यो नियमको उल्लंघन गरेको खण्डमा हङकङ डलर १० हजारसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान समेत रहेको छ।

अतः कानुन उल्लंघन गरिकन आफू असुरक्षित हुनेगरी जंगली जनावरलाई खानेकुरा नदिन विभागले सर्वसाधारणलाई अपिल गरेको हो। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .