मकाउमा दुई नेपालीबीच पैसा लेनदेनको विवाद हुँदा आफ्नै सहकर्मीलाई छुरा प्रहार

मकाउमा दुई नेपालीबीच पैसा लेनदेनको विवाद हुँदा आफ्नै सहकर्मीलाई छुरा प्रहार

पीएसपीले उपलब्ध गराएको यो तस्बिरमा ताइपाको प्रहरी चौकीमा लगिएका अभियुक्त, बीचमा (द मकाउ पोस्ट)


नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १२:२, मकाउ

मकाउमा कार्यरत दुई नेपालीबीच पैसा लेनदेनमा कुरा नमिलेपछि स्थिति छुरा प्रहारसम्म पुगेको छ।

बिहीबारको नियमित पत्रकार सम्मेलनका क्रममा मकाउको पब्लिक सेक्युरिटी पोलिस (पीएसपी)ले पैसा लेनदेनको विषयमा कुरा नमिलेपछि चक्कु आक्रमण भएको जानकारी दिएको हो।

प्रहरीले जनाएअनुसार एक नेपालीले आफ्नो साथीलाई गतवर्ष चार हजार ऋण दिएका थिए। तर, उक्त रकम उनले फिर्ता त पाएनन् नै, उल्टै थप दुई हजार पटाका पनि मागे। उक्त रकम पीडितले दिन नमान्दा उनीमाथि चक्कु आक्रमण भएको हो।

घटना ताइपास्थित नामसान गार्डेन र हाइपोड्रोमो गार्डेन नजिकैको सडकमा घटेको हो।

घटना घटेको राति प्रहरीले जारी गरेको विज्ञप्तिमा पीडकले आफ्नो ऋण उठाउन नसकेपछि आक्रमण गरेको बयान दिएका थिए।

पीडकको दाबीअनुसार उनले गतवर्ष पीडितलाई ५० हजार हङकङ डलर सापटी दिएको तर उक्त रकम फिर्ता नगरेको झोकमा आफूले छुरा प्रहार गरेको दाबी गरेका थिए।

तर, हिजोको पत्रकार सम्मेलनमा प्रहरीले उल्टै पीडितले नै आफ्नो पैसा फिर्ता नपाएको पाइएको बताएको छ।

पीडितको स्मार्टफोन जाँच गर्दा उनको मोबाइलमा भएका टेक्स्ट म्यासेजबाट पीडितले पैसा पाउनुपर्ने देखिएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको हो।

चक्कु आक्रमणबाट ४० वर्षीय पीडितको निधार, छाती, बायाँ कुहिनो र दाहिने औँलामा चोट लागेको छ।

बिहीबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा प्रहरी अधिकारीले पीडित साँझसम्म अस्पतालबाट डिस्चार्ज हुने बताएका थिए।

पीडक र पीडित दुवै जना गैरआवासीय कामदार भएको र उनीहरू नेपाली रहेको प्रहरीलाई उद्धृत गर्दै द मकाउ पोस्टले जनाएको छ।

चक्कु आक्रमण गर्ने ३० वर्षीय पुरुष पक्राउ परिसकेका छन्। पीडक र पीडित दुवै जना मकाउस्थित एक रिसोर्टमा कार्यरत रहेको प्रहरीले जनाएको छ। यद्यपि, उनीहरूको पूर्ण विवरण भने खुलाइएको छैन।

मकाउमा कार्यरत नेपालीहरूसँग नेपालखबरले बुझ्दा उनीहरू ताइपास्थित एक कम्पनीमा कार्यरत रहेको बुझिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .