चीनले हङकङका नेपालीलाई भिसा नीतिमा खुकुलो गरेपछि मुख्यभूमि चीनको राजधानी बेइजिङलगायत अन्य स्थानमा भ्रमण गर्ने नेपालीको संख्या बढेको छ।
त्यसो त पछिल्लो समय विभिन्न ठाउँको भ्रमण गर्ने हङकङवासी नेपालीमा लहर नै चलेको छ। हङकङको दौडधुपबाट समय निकालेर नेपालीहरू नजिकै रहेको मुख्यभूमि चीनका आकर्षक स्थानमा परिवार, साथीभाइसँग खुसीयाली साटिरहेका हुन्छन्।
हङकङमा निर्माण क्षेत्रमा काम गर्ने नेपालीले मासिक नेरु १० लाखसम्म कमाउँछन्। यही आकर्षक कमाइका कारण पनि यस्ता भ्रमण सम्भव भएको हो।
गत शनिबार मात्रै पनि २८ जना नेपालीको जम्बो टोलीले चार दिन बेइजिङ घुमेर आएको छ। मिग अल्फा ट्राभल्सको समन्वयमा उक्त भ्रमण सम्पन्न भएको हो।

हङकङेली नेपाली समुदायको लागि चीन भ्रमण उत्कृष्ट गन्तव्य बनेको छ। चीन सरकारले हङकङका स्थानीय नेपाली बासिन्दाका लागि विनाझन्झट पाँच वर्षे मल्टिपल भिसा खुला गरेपछि हङकङवासी नेपालीलाई चीन भ्रमण सहज बनेको हो। यसलाई नेपाल-चीन कूटनीतिक सम्बन्धको सकारात्मक सङ्केतको रूपमा पनि बुझ्न सकिन्छ।
मिग अल्फा ट्राभल्सको प्याकेजअन्तर्गत बेइजिङको ग्रेटवाल, तियानमेन स्क्वायर, फर्बिडन सिटी, समर प्यालेस, बर्ड नेस्ट, टेम्पल अफ हेबिन लगायतका स्थानमा टोलीले भ्रमण गरेको थियो।
‘सानो बजेटमार्फत सजिलो यात्रा गरी सुरक्षित तवरले बासस्थान फर्किन सकिने भएकाले पनि नेपालीहरू बेइजिङ, ग्रेटवाल घुम्न उत्साहित देखिन्छन्,’ ३/४ पटकसम्म चीन भ्रमण गरिसकेका भ्रमण दलका एक सदस्य साहित्यकार डोम राना भन्छन्, ‘चीनका हरेक स्थान उदेकलाग्दो र अद्वितीय छन्। अझ बेइजिङको भ्रमणले त मेरो मथिङ्गल घुम्यो। चीनबाट संसारले धेरै कुरा सिक्न जरुरी छ।’
फराकिला सडक किनारमा रोपिएका वृक्षले चिनियाँहरू वातावरण र पर्यावरणमा कति सचेत रहेछन् भन्ने छर्लङ्ग हुने राना बताउँछन्।

‘हामीले सोचेभन्दा बेइजिङ बिल्कुल फरक रहेछ,’ भ्रमण दलका अर्का सदस्य किन्दर राई भन्छन्, ‘भारतसँग खुला सीमा र सांस्कृतिक एवं धार्मिक समानताका कारण भारतको धेरै कुराप्रति हामी ज्ञात छौँ। तर, चीनसँग त्यस्तो निकटता नभएकोले चीनले गरेका आश्चर्यजनक प्रगतिबारे हामी अनभिज्ञ छौँ। भेनेजुएलाका पूर्वराष्ट्रपति स्व. ह्युगो चाभेजले चीनले गरेको प्रगतिलाई संसारको आठौँ आश्चर्यको संज्ञा दिएका थिए। साँच्चै चीनको प्रगति हेर्न एकपटक बेइजिङ जानैपर्ने रहेछ।’
‘इतिहास र पुरातत्त्वमा चाख राख्नेहरूको लागि त बेइजिङ मक्का मदिना नै रहेछ,’ राई थप्छन्।
गत महिना मात्रै हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसिएसनका आधा दर्जन सदस्यले ग्रेटवाल ट्रेल म्याराथनमा सहभागी भई उत्कृष्ट नतिजा हात पारेका थिए ।
त्यसो त, चीन भ्रमण गर्ने हङकङवासी नेपालीमा ट्राभल्स कम्पनीको प्याकेज अन्तर्गत बाहेक व्यक्तिगत तवरले भ्रमण गर्ने पनि धेरै नै हुन्छन्।

बेइजिङको प्रमुख आकर्षण ‘ग्रेटवाल’ अर्थात् विशाल पर्खाल हो। ईसापूर्व तेस्रो शताब्दीबाट निर्माण सुरु भएको २१,१९६ किलोमिटर लामो उक्त पर्खाल मध्ययुगीन सप्त आश्चर्यमध्ये एक हो। चन्द्रमाबाट समेत देख्न सकिने उक्त विशाल पर्खाल हेर्न वार्षिक एक करोड मानिस त्यहाँ पुग्ने गरेको तथ्यांक बाहिर आएका छन्।
यसैगरी, आगामी जुन १५ देखि उच्च गतिका रात्रिकालीन रेल सेवाले हङकङबाट चीनको राजधानी बेइजिङ र सांघाईसम्मको सिधा यात्रा सुरु गर्दैछन्। सुत्ने समेत व्यवस्था भएको उक्त सेवाले भ्रमण खर्च समेत बचत हुने भएको छ। यो सुविधाले हङकङवासी नेपालीको चीन भ्रमण अझै बढाउने आशा गर्न सकिन्छ।









Shares

प्रतिक्रिया