सिटीबसले रुट १७० मा हङकङकै पहिलो हाइड्रोजन बस सुरु गर्न लागेको छ।
डबल डेकरको यो सेवा आइतबारबाट सुरु हुनेछ। सरकारको ‘हङकङमा हाइड्रोजन विकासको रणनीति’लाई पछ्याउँदै कम्पनीले आफ्नो ४५औँ वार्षिकोत्सवको अवसर पारेर सेवा सुरु गर्न लागेको हो।
‘हङकङ टापु र न्यु टेरिटोरिजका बासिन्दाले आफ्नो सडकमा सञ्चालन भइरहेको शून्य उत्सर्जन वाहनको रोमाञ्चक अनुभव पहिलो पटक गर्नेछन्,’ कम्पनीका प्रवक्तालाई उद्धृत गर्दै द स्ट्यान्डर्डमा उल्लेख छ।
हाइड्रोजनद्वारा सञ्चालन हुने उक्त डबल डेकर बस वाह फु बस टर्मिनसबाट आइतबार दिउँसो १:३० बजे सातिन स्टेसनका लागि प्रस्थान गर्नेछ।
रुट १७० हङकङको एक मात्र त्यस्तो फ्रेन्चाइज्ड बस मार्ग हो जसले सहरका तीन वटा सुरुङ एबरडीन टनेल, क्रस हार्बर टनेल र लायन रक टनेल पार गर्दछ।
यो रुटमा पूर्ण वातानुकुलित सुविधा उपलब्ध गराउने सिटीबस पहिलो कम्पनी बनेको छ।
सरकारको कार्बन तटस्थता लक्ष्यलाई पूर्ण समर्थन गर्दै आफ्नो शून्य उत्सर्जन अभियान ‘मिसन जिरो’मार्फत सन् २०४५ सम्ममा शून्य उत्सर्जन बस सञ्चालन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया