पेसाले पूर्वडिमसम सेफ हङकङका एक पुरुष नाबालिग छोरीलाई पटक-पटक बलात्कार एवं दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर भएका छन्।
बुधबार उच्च अदालतमा सात जनाको जुरीले ६० वर्षीय ती पुरुषलाई १० वटा अभियोगमा दोषी ठहर गरेको हो।
केकेडब्लू नामबाट परिचय गराइएका ती व्यक्तिलाई बलात्कारको दुई वटा, अभद्र आक्रमणको तीन वटा, १६ वर्षमुनिको बालिकामाथि घोर अशोभनीय कार्य गरेको, व्यभिचार र अनाचारको प्रयास लगायतका १० वटा अभियोगमा दोषी ठहर्याइएको हो।
यस महिनाको सुरुमा भएको सुनुवाइमा प्रतिवादीले प्रथम पटक सन् २०१० मा एबरडीनस्थित घरमा १० वर्षीया छोरीसँग यौन सम्पर्क गर्ने प्रयास गरेको पीडित पक्षले बताएको छ।
अहिले २३ वर्ष पुगेकी पीडित युवतीले त्यतिबेला बुबाले कपडा फुकालेर ओछ्यानमा के गर्दै हुनुहुन्छ भन्ने आफूलाई थाहा नभएको बताइन्। यस्तै प्रकारको हर्कत उक्त वर्ष तीन पटक भएको उनले बताइन्। यी घटनामा आफ्नै घरमा भएका थिए।
यसको ३ वर्षपछि अर्थात् सन् २०१३ मा अन्य ६ वटा यौन दुर्व्यवहार भएको थियो, जतिबेला पीडित १३ वर्षकी थिइन्। महिनावारी सुरु भएको एक वर्षपछि मात्रै यसप्रकारका आक्रमण रोकिएको पीडितले बताइन्।
सुनुवाइका क्रममा पीडितले अदालतसमक्ष भनेकी छन्- माध्यमिक विद्यालयमा यौन शिक्षाबारे पढेपछि मात्र उनले बुबाले आफूलाई के गरेका थिए भन्ने महसुस गरेकी थिइन्।
थाहा भएपछि पनि उनी चुपचाप बसिन् किनभने उनलाई लाग्यो- यो कुरा आमाले थाहा पाइन् भने बुबासँग सम्बन्ध विच्छेद गर्नेछिन्।
तर, उनको यो डरले आफ्नो मनभित्रको उकुसमुकुससँग हार खायो। अन्ततः सन् २०२१ मा उनले मुख खोलिन् र आफूले भोगेको दुःखको फेहरिस्त आमालाई सुनाइन्। यसपछि प्रहरीमा उजुरी गरिएको थियो।
यता, प्रतिवादीको भने बच्चालाई आफूले चुम्बन गरेको र छोएको मात्र तर बलात्कारै भने नगरेको दाबी छ।
पीडकलाई सजाय तोक्न बाँकी छ। पीडित प्रभाव प्रतिवेदनका लागि मुद्दा सेप्टेम्बरसम्म स्थगित गरिएको छ। (एससीएमपी)
Shares

प्रतिक्रिया