१० हजार डलर नगद पाउने भएपछि हङकङका नेपालीमा यस्तो खुशी

१० हजार डलर नगद पाउने भएपछि हङकङका नेपालीमा यस्तो खुशी

मगेन्द्र राई
फागुन १८, २०७६ आइतबार ५:१५,

हङकङ सरकारले आफ्ना प्रत्येक स्थायी बासिन्दालाई १० हजार हङकङ डलर नगद बाँड्ने खबरले यहाँका नेपालीमा खुशी छाएको छ।

लामो समय चलेको सरकार विरोधी आन्दोलन र हाल कोरोनाभाइरस प्रकोपको प्रभावले आर्थिक क्षेत्र निकै कमजोर भएका बेला सरकारले प्रत्येक नागरिकको बैंक खातामा १० हजार पठाइदिने घोषणाले स्थानीयसँगै नेपालीमा उत्साह छाएको हो।

यसअघि पनि सरकारले बेला बेला यसरी नगद वितरण गर्दै आएपनि यति ठूलो मात्रामा रकम दिइएको थिइएन भने विभिन्न शर्तले गर्दा सबैले पाएका पनि थिएनन्। सन् २०११ मा तत्कालीन अर्थ सचिव जोन चाङको कार्यकालमा हङकङका सबै स्थायी बासिन्दालाई नगद ६ हजार डलर प्रदान गरिएको थियो। त्यस्तै सन् २०१८ मा सेयरिङ एन्ड केयरिङ परियोजना अन्तर्गत प्रतिव्यक्ति ४ हजार डलर वितरण गरिएको थियो।

यसपाली सरकारले स्थायी आइडी बाहक सबैलाई उनीहरूको बैंक खातामा नगद पठाइदिने भएको छ। हङकङको स्थायी आइडी लिएर हाल नेपाल, बेलायत र अन्य देशमा बसिरहेका नागरिकले पनि यो नगद पाउने छन्।

हङकङमा अहिले करिब ३० हजार नेपाली बसोबास गर्छन्। हङकङको स्थायी आइडी लिएर हाल नेपाल, बेलायत र अन्य देशमा बसिरहेका नेपालीको संख्या यकिन छैन।

हङकङ सरकारबाट १० डलर (करिब डेढ लाख रुपैयाँ) नगद हात पर्ने भएपछि हङकङ आइडी बाहक नेपाली के सोच्दैछन् त? नेपालखबर हङकङले केही नेपालीसँग गरेको संवादः

हिमाल थापा (अध्यक्ष, जुन्स हङकङ)
विश्वविद्यालयको अध्ययन सकेर म अहिले आफ्नो काममा व्यस्त हुन थालेको छु। जोइन्ट्स युनिभर्सिटी नेप्लिज स्टुडेन्टस (जुन्स) को अध्यक्ष पनि हुँ। अहिले राहतस्वरुप सरकारले जसरी १० हजार डलर वितरण गर्ने योजना ल्याएको छ, त्यो स्वागतयोग्य छ। तर त्यो रकम हाम्रो खातामा आउन केही ढिलो पनि हुन सक्छ। मैले चाहिँ यो पैसा स्टक मार्केटमा लगानी गर्ने सोचेको छु। विद्यार्थीहरुका लागि पनि सरकारले छुट्टै राहत प्याकेज ल्याएको छ तर त्यो पर्याप्त छैन।

शारदा गुरुङ (शिक्षिका)
म हङकङको युनलोङस्थित बेथल हाइस्कुलको शिक्षिका हुँ। सरकारले अहिले दिन लागेको पैसाले केही राहत मिल्ने मैले देखेको छु। कोरोना भाइरसको प्रकोपले गर्दा अहिले हङकङमा धेरै मानिस बेरोजगार बनेका छन्। महंगी बढेको छ। यस्तो अवस्थामा सरकारले जनताप्रति देखाएको जिम्मेवारीलाई धन्यवाद दिनै पर्छ। मैले त्यो १० हजार घरायसी व्यवस्थापनमा खर्च गर्ने सोचेको छु।

धनबहादुर दुरा (निर्माण क्षेत्रका कामदार)
मैले हङकङमा लामो समय बार बेन्डिङमा काम गरें। तलव पनि आकर्षक नै थियो। सरकारले १० हजार डलर दिने भनेको छ तर, मलाई व्यक्तिगत रुपमा त्यसमा धेरै लोभ छैन। मेरो परिवारका ६ जनाले यो रकम पाउने छौं। र, मैले यो पैसा बचत गर्ने सोचेको छु।

सोनु सुब्बा (सेल्स सुपरभाईजर)
म बराह ज्वेलरी जोर्डमा सेल्स सुपरभाईजरको काम गर्छु। सरकारले दिने १० हजार डलरको राम्रै सदुपयोग गर्नेछु। मेरो छोरी अष्ट्रेलियामा पाइलट कोर्ष गर्न जाँदैछिन्, त्यो पैसा पनि छोरीको अध्ययनका लागि थपथाप गर्न जोहो गर्ने सोचेको छु।

आकाश गुरुङ (सेक्युरिटी कामदार)
म हङकङमा सेक्युरिटी क्षेत्रमा काम गर्छु। मेरो आइडी स्थायी हुन अझै २ बर्ष बाँकी छ। सरकारले तोकेको मापदण्ड अनुसार मैले त्यो १० हजार पाउँदिन। तर हामीजस्ता नागरिकको ठूलो जमातलाई पनि सरकारले केही गर्छ कि भन्ने आशा छ। हङकङ सरकार वास्तवमै जनताप्रति उत्तरदायी छ भन्ने यो राहत घोषणाले देखाउँछ। त्यसैले सरकारप्रति मेरो सोच पनि सधैं सकारात्मक छ।

माया राई (सामाजिक कार्यकर्ता)
म एचकेसिटीयु अन्तर्गत जातीय अल्पसंख्यकहरुको व्यवसायिक सीप विकास व्यवस्थापकीय सचिवका रुपमा कार्यरत छु। सरकारले घोषणा गरेको यो राहत योजनालाई मैले काटेको घाउमा मलमपट्टि लगाउने कार्यको रुपमा लिएको छु। सरकारविरुद्ध आन्दोलन र कोरोनाभाइरस प्रकोपले आर्थिक क्षेत्र तहसनहस भएको बेला सरकारले आफ्ना नागरिकप्रति गरेको यो व्यवहार प्रशंसनीय छ। त्यो पैस मैले घर खर्चमा लगाउने सोचेको छु।

निवेश घले (व्यावसायिक बक्सर, प्रशिक्षक)
ताइपेइ युनिभर्सिटीबाट बिजनेशमा स्नातक गरेपछि म हङकङमा व्यवसायिक बक्सर तथा प्रशिक्षकका रुपमा काम गर्दै आएको छु। सरकारले दिन लागेको १० हजार राहत रकम बचत गर्ने मनसाय बनाएको छु। यो पैसा जमघटमा सिध्याउने मेरो सोच छैन। जमघटका लागि खासै समय हुँदैन, एथलेट भएपछि अनुशासनको ख्याल पनि राख्नु पर्छ। फोकटमा पैसा आयो भन्दैमा जथाभावी खर्च गर्नु पनि मुर्खता हो। भविष्यमा थप संकट आउन सक्छ, त्यसैले म यो पैसा बचत गर्ने पक्षमा छु।

बालिका राई (रेस्टुरेन्ट व्यवसायी)
आन्दोलन र कोरोनाभाइरस प्रकोपले व्यापार चौपट भएको बेला सरकारले राहतस्वरुप १० हजार दिने घोषणा गर्दा सन्जिवनी पाएजस्तै भएको छ। हङकङमा दिन प्रतिदिन रोजगार गुम्दै गएको छ। महंगी बढ्दै छ। यस्तो अवस्थामा सरकारले दिन लागेको राहत स्वागतयोग्य छ। मैले यो पैसा पारिवारिक भरथेगकै लागि खर्चिने सोचेको छु।

करम गुरुङ (व्यावसायी, हाल बेलायत)
म लामो समय हङकङमा रहेर सन् २००६ मा बेलायत बसाई सरें। हङकङ सरकारको अहिलेको कदम प्रशंसायोग्य छ। लामो समयदेखि हङकङ छाडेपनि बेलाबखत जानेआउने भइरहेको छ। हङकङ सरकारले हङकङ बाहिर रहेका आफ्ना नागरिकलाई समेत राहत कार्यक्रममा समावेश गरेर हामीसँग भावनात्मक सम्बन्ध थप दरिलो बनाएको छ। त्यो १० हजार पैस म हङकङ आउँदा ‘गोल्डेन हलिडे’ मा खर्च गर्नेछु।

दिल पालुङ्वा (साहित्यकार, हाल बेलायत)
करिब २० वर्ष हङकङमा बसेपछि अढाई वर्षअघि म बेलायत बसाई सरें। हङकङ सरकारको अहिलेको कदमबाट गदगद भएको छु। मेरो परिवारका ३ जनाले १० हजारका दरले उक्त राहत पाउने छौं। त्यो पैसाले धेरै थोक गर्न सकिन्छ। अहिले बेलायत बसे पनि हङकङको झझल्को आइरहन्छ। बैंक खाता, बिमा लगायतका कुराहरु हङकङमा अझै छ। मैले बिमाका विभिन्न प्रिमियमहरु तिर्न त्यो पैसा खर्च गर्ने सोचेको छु।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .