हङकङका गीतकार विशु समको दोस्रो कृति ‘परदेशी भूमि’ गीत सङ्ग्रह लोकार्पण भएको छ। शुक्रबार याउमा तेइस्थित हिन्सको सभाकक्षमा पुस्तक लोकार्पण गरिएको हो। कार्यक्रम घान्द्रुक समाजको आयोजनामा सम्पन्न भएको हो।
सङ्ग्रहमा करिब सात दर्जन गीत समेटिएका छन्। गीतमा गाउँघर, मायापिरती, जीवन भोगाइको अनुभव, मातृवात्शाल्य, देश प्रेम झल्किएका छन्। समले गीत लेखन हङकङमै आएर सुरु गरेका हुन्।
कार्यक्रम साहित्यकार तथा हङकङ साहित्यिक साझा श्रृङ्खलाका संरक्षक टंक सम्बाहाम्फेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सभापतित्व आयोजक समाजका अध्यक्ष आशा गुरुङको थियो भने, आयोजक संस्थाकै पूर्व अध्यक्ष दुर्गा गुरुङ, हङकङ साहित्यिक साझा श्रृङ्खलाका संयोजक रमण गुरुङ, सहसंयोजक रोशन याक्सो, सदस्य अरुणा शर्मालगायतका साहित्यिक व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो।
उक्त गीति सङ्ग्रहको समीक्षा साहित्यकार बज्रकुमार थुलुङले गरेका थिए। स्थायी घर कास्कीको घान्द्रुक भएका विशु घान्द्रुक समाज हङकङका सचिवसमेत हुन्।


Shares

प्रतिक्रिया