नेपालको सन्दर्भमा बिदा लामो हुने पर्वमा पर्छ दसैँ। तर हङकङका नेपालीको सवालमा भने त्यो लागु हुँदैन। देश गुनाको भेष भनेझैँ यहाँ नेपाली मन छ, संस्कार-संस्कृति छ तर नेपाल देश छैन। तर पनि नेपालीहरूले लामो समय मनाउने पर्व हो भनेर धेरै विदेशी कम्पनीले बुझ्दा रहेछन्। नेपालीहरू पुगेका मुलुकका अधिकांश कम्पनी यसको जानकार हुँदारहेछन्।
हङकङमा पनि ठूलठूला परियोजनाका निर्माण कम्पनीमा कार्यरत नेपालीहरूलाई महान् पर्व दसैँको छुट्टी मिलाउन त्यति ठूलो बहाना बनाउन पर्दैन। रमझमको शुभकामनासहित कम्पनीहरूले दुई दिनदेखि एक हप्तासम्मको बिदा दिने गरेको साथीभाइहरूबाट सुनिन्छ।
उसो त हङकङका नेपालीहरूको दसैँ मान्ने शैली आ-आफ्नै प्रकारको देखिन्छ। कसैले भ्रमणको योजना बनाएका हुन्छन्, कसैले केही। दसैँमा पारिवारिक भेटघाटपछिको सबैभन्दा रमाइलो र बिदाको सदुपयोग भनेको घुमफिर नै हो भन्ने मान्यता धेरेमा देखिन्छ। यो संस्कृति पछिल्लो समय हङकङका नेपालीमा प्रचलित बन्दै गएको पनि छ।
लामो बिदा बस्ने बहाना पाइने त्यसमाथि अक्टोबर महिना त्यसै पनि ओरालोलाग्दो तापक्रमको समय। मौसम पनि अनुकूल हुने भएकाले अधिकांशको योजना घुमघाम हुने गरेको पाइन्छ। घरपरिवार वा साथीभाइ मिलेर घुम्नुमा आनन्दै अर्कै।
यस्तै बिदा सदुपयोग गर्दै संखुवासभा समाज हङकङले पनि यस पटकको दसैँमा जिल्लावासीलाई लिएर ४ दिने चीन भ्रमणमा निस्कियो। मिग अल्फा ट्राभलसँगको समन्वयमा भइरहेको यो भ्रमणमा ४४ जनाको जम्बो टोली छ।

समाजका अध्यक्ष लिला गुरुङको नेतृत्वले निस्केको टोलीले चीनका मुख्य आकर्षक केन्द्र तियानमेन स्क्वायर, ग्रेटवाललगायतका रमणीय र पर्याटकीय स्थलहरूको भ्रमण गर्नेछन्।
यस्तै, हङकङका चर्चित अल्ट्रा धावक दिनानाथ बगाले दसैँको छेको पारेर दक्षिण कोरियाको सात दिने भ्रमणमा छन्। उनले भ्रमणसँगै त्यहाँ यूटीएमबी दौडमा पनि भाग लिँदैछन्।
हङकङमा सेन्ट्रल काउलुन रुट जसले पश्चिम काउलुनको याउमा तेइ इन्टरचेन्जलाई काइतक विकास क्षेत्र र काउलुन सुरुङको सडक सञ्जालसँग जोड्ने काम गर्दछ। मध्यमार्गी ट्रंक सडक खण्ड छाक्वोलिङ सडक, काउलुनअन्तरगत ट्रंक रोड टी२ र पूर्व दक्षिण एप्रोनमा विकासका लागि पूर्वाधार कार्यमा फ्रान्सेली कम्पनी बीटीपीले सम्हाल्दै आइरहेको परियोजना निर्माणाधीन सुरुङ मार्गमा नेपालीहरू सयौँको संख्यामा कार्यरत छन्।
सोही क्षेत्रमा कार्यरत गुल्मीको मुसिकोट नगरपालिकाका भीमबहादुर गुरुङ यस पटक चार दिनको छुट्टी लिएर दसैँ मनाइरहेका छन्। दसैँकै लागि उनी चीनसम्मको सिमानामा गएर लोकल खसी ल्याउने योजनामा देखिन्थे।
‘गोराहरूले दसैँ हाम्रो ठूलो चाड हो भनेर बुझ्छन्। नेपालीहरू यो पर्वलाई लामो बिदामा बसी मनाउँछन् भन्ने उनीहरूलाई जानकारी छ,’ दसैँ सुरु हुनुअघि नेपालखबरसँगको कुराकानीमा गुरुङले भनेका थिए, ‘गतहप्ता नै छुट्टीबारे कुरा भइसकेको छ। महान पर्व खुसी साथ मनाउनू र खुसी भएर काममा फर्किनू भन्दै शुभकामना आदानप्रदान भइसकेको छ।’
यही बेला नै उनले चार दिनको छुट्टी स्वीकृत गरिसकेका थिए। ‘दसैँ नजिकिन थालेपछि हामी नेपाली अघिल्लो महिनाबाटै उत्साहित थियौँ। धेरै साथीले दुई दिनको छुट्टी लिएका छन्। मैले चाहिँ ४ दिनको छुट्टी लिएको छु,’ उनको थप कथन थियो, ‘लोकल खसी, कुखुरा र बङ्गुरको परिकार बनाएर खाने हाम्रो पारिवारिक सल्लाह छ। चाइना सिमानामा गएर लोकल खसी ल्याउने तयारीमा छु।’
लेखक तथा पूर्व व्यवसायी कमल पौडेल लामो समयदेखि सपरिवार हङकङ बस्छन्। उनी प्रवासमा जन्मिने दोस्रो पुस्तालाई नेपाली कला र संस्कृति सिकाउनुपर्छ भन्नेमा सतर्क देखिन्छन्।
‘सन्ततिलाई नेपाली संस्कृति र भाषा सिकाउने उद्देश्य दर्शाउँदै संस्था स्थापना गर्नेहरू अनगिन्ती छन्,’ उनी भन्छन्, ‘तर शिक्षामूलक कार्यक्रमको अभाव छ।’
यस पटक परिवारका सबै सदस्य एक ठाउँमा बसेर मनाउन नपाएको दसैँ उनलाई अलि खल्लो पनि भयो। छोरा संयुक्त अरब इमिरेट्स (दुबई)मा भएकोले यस पटकको दसैँमा श्रीमती, छोरी र उनी मात्रै भए। प्राय: दसैँमा उनी पनि घुमफिर गर्न रमाउँछन्। तर, यस पटक छोरीको अध्ययन चलिरहेकोले उनले भ्रमण योजना थाती राखे।

अर्का एक समाजसेवी तथा हङकङ एकीकृत नेपाली समाजका पूर्वअध्यक्ष सिताराम ढुंगानाले पनि पहिलेका वर्षजस्तै यसपालिको दसैँ पनि घरपरिवारसँग बसेर दसैँ मनाए।
तीन वर्षदेखि हङकङको याउमा तेइमा बस्दै आएका मोरङ उर्लाबारी नगरपालिकाका राजेन्द्र वाइबालाई हरेक चाडपर्वले नेपालको याद दिलाइदिन्छ। हङकङको व्यस्त दैनिकीमा १२ घण्टा काम गरेर पनि उनी नेपाली चाडपर्वका लागि समय छुट्याउँछन्।
चाडपर्वका बेला नेपाली समुदाय भेला भएर चाडलक्षित कार्यक्रम गरी मनाउने गरेको सुनाउँछन्। ‘कार्यक्रममा नेपाली परिकार बनाएर खान्छौँ, नेपाली पोसाक लाउँछौँ,’ वाइबा भन्छन्, ‘यो हाम्रो पुरानै चलन हो। देशको सम्झना गर्दै प्रदेशमा पनि चाडपर्व मनाउँछौं।’ हङकङ आएपछि दसैँमा आमाको हातबाट टीका लगाउन नपाएकोमा भने उनी अलि खिन्न छन्।
हङकङको याउमा तेइमा बस्दै आएकी काठमाडौँको रानिबनकी गीता पाख्रिनलाई भने यस वर्षको दसैँले गाउँ नै उचालेर ल्याइदियो। गतसाल नेपाल जाने र बुवाआमाको हातबाट टीका थाप्ने उनको मनोकांक्षा पूरा हुन सकेन। यसपाली भने बुवाआमा नै हङकङ आइदिनुभयो।

‘बुबाआमा यहीँ आउनुभएकोले यस पटकको दसैँ हङकङमै विशेष बनिदियो,’ पाख्रिन भन्छिन्। तर यतिले मात्र पनि पूर्ण भने नभएको उनको ठहर छ। छोराबुहारी अस्ट्रेलियामा छन्, छोरीज्वाइँ लन्डनमा। सासुससुरा नेपालमा। यी सबै एक ठाउँमा हुन पाएको भए चाहिँ पूर्ण हुने उनी सुनाउँछिन्।
‘विदेश आएपछि पर्वको महत्त्व अझ बढ्दो रहेछ। यहाँ पनि जमारा राख्ने टीका लगाउने त गरिन्छ तर आफ्नो देशमा जस्तो कहाँ हुन्छ र!’ उनी भन्छिन्, ‘तर पनि यो साल जन्म दिने बुबाआमा यहीँ हुनुभयो। साह्रै खुसी छु।’
२३ वर्षदेखि हङकङमा बस्दै आएका धनकुटाका नवीन देवानलाई भने दसैँले छोएन। ‘म हप्तामा ६ दिन काम गर्छु। आइतबार बिदा हो। बिदाको दिन दसैँ परेन। यहाँ पहिलो प्राथमिकता कामलाई दिइन्छ,’ देवान भन्छन्, ‘दसैँ भनेको मासु खाने, रमझम गर्ने पर्व मात्रै हो जस्तो लाग्छ। हङकङमा मासु नखाएको कुन दिन पो छ र! रमझम कहिले पो छैन र! रातदिन एउटै लाग्छ।’

त्यस्तै, जोर्डनवासी सुजन तामाङ भन्छन्, ‘काम र नयाँ ठाउँको घुमफिरले चाडपर्वतिर खासै ध्यान जाँदैन। विदेशका सहरहरूमा पनि दसैँका दिन त आउँछन् तर आफ्नै देशमा भएजसरी चाहिँ दसैँ आउँदैन।’ नेपालमा रहेका बुबाआमालाई चाहिँ पर्व मनाउने खर्च पठाइदिएको उनी सुनाउँछन्।
युनलङमा बस्ने खोटाङ, ऐंसेलुखर्कका कृष्णराज भण्डारी तीन दशकदेखि हङकङमै दसैँ मनाइरहेका छन्। पहिले पहिले जस्तो यस वर्ष पनि उनले साथीहरूसँग मिलेर रेस्टुरेन्ट गई दसैँ मनाए- नेपाली परिकार खाए, टीका लगाए।

‘चाडपर्वले नेपालको सम्झना दिलाउँछ। आफ्नो देशतर्फ मन फर्किन्छ। स्वदेशमा दसैँको जुन माहोल हुन्छ, यसले गाउँघरको निकै याद आउँछ, भण्डारी भन्छन्।’
यद्यपि, हङकङमा पनि यहीँको परिस्थितिअनुसार चाड मनाइने गरेको उनलाई लाग्छ। यस मानेमा अन्य मुलुक हेरी हङकङ उनलाई बढी स्वतन्त्र पनि लाग्छ। ‘नेपालीहरू मिलेर चिनियाँ देशमा देउसी खेलेको देख्न पाइन्छ। त्यो पनि प्रहरी प्रशासन तैनाथ गरिएको सुरक्षा सहित,’ उनी तिहारको प्रसंग कोट्याउँछन्। यति बलियो कानुनभित्रको देशमा संसारभरिकै जाति-भाषीले आ-आफ्नो चाडपर्व इज्जत र सम्मानका साथ मनाउन पाउनु चानचुने कुरा नभएको उनलाई लाग्छ।
Shares

प्रतिक्रिया