तनहुँ समाज हङकङले विजयादशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा देउसीभैलो कार्यक्रम गरेको छ।
हङकङको मङ्कीहिलस्थित बीबीक्यू स्पोर्ट्समा आयोजित कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो। देउसीभैलो खेलेर समाजले ११ लाख ७० हजार रुपैयाँ (६५ हजार हङकङ डलर) संकलन पनि गरेको छ।
‘नेपाली संस्कृतिको झगेर्नाका साथै नयाँ पुस्तालाई नेपाली संस्कृतिका बारेमा जानकारी गराउने उद्देश्यले मनोरञ्जनको कार्यक्रमसहित देउसी खेल्ने कार्यक्रम तय गर्यौँ,’ समाजका प्रवक्ता विपिन थापाले नेपालखबरसँग भने, ‘देउसीभैलोबाट ११ लाख ७० हजार रुपैयाँ संकलन भएको छ।’
कार्यक्रममा कलाकारहरूले नृत्यद्वारा मनोरञ्जन दिलाएका थिए। पुस्कर लुङ्गेली र कुमारी लुङ्गेलीको जोडीले कौरा नाच प्रस्तुत गरेका थिए भने डिम्पल मगर र झरना पाता मगरले पनि नृत्य प्रस्तुत गरेका थिए।

देउसीभैलो खेलेर जम्मा भएको रकम समाजसेवामा खर्चिने प्रवक्ता थापा बताउँछन्। यसअघि पनि समाजले यस्ता कार्यक्रमबाट संकलित रकम समाजसेवामै खर्च गर्दै आइरहेको छ। सन् २०१९ मा आयोजित ५औँ तनहुँ बाराही साँझको नाफाबाट आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँ, चुँदी रम्घामा ५ लाखको लगानीमा भानु पुस्तकालय स्थापना गरेको थियो।
त्यस्तै, १५ लाखको अक्षयकोष बनाएर त्यसैबाट कमाइ भएको ब्याजमार्फत तनहुँमा जिल्लाभरका बौद्धिक अपाङ्गता तथा असहाय बालबालिका अध्ययनरत १२ वटा सामुदायिक विद्यालयलाई समाजले प्रत्येक वर्ष सहयोग गर्दै आइरहेको छ।

समाजका अध्यक्ष तेज गुरुङ हङकङमा रहेका तनहुँवासीलाई नेपालकै झल्को होस् भन्ने हेतुले देउसीभैलो खेलिएको बताउँछन्। यसबाट एकातिर संस्कृति जोगिने र अर्कोतर्फ संकलित रकम समाजसेवामा खर्चिँदा समाजलाई पनि योगदान दिन सकिने उनको भनाइ छ।
अध्यक्ष गुरुङ संस्थाले स्थापनाकालदेखि नै तनहुँका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउँछन्। ‘सुरुका दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्यौँ। पछिल्लो समय भने स्वास्थ्य क्षेत्रमा पनि सहयोग गरेका छौँ,’ गुरुङ भन्छन्।
समाजले तनहुँको छाब्दीबाराही मन्दिरमा घण्टी तथा प्रवेशद्वार स्थापनाको लागि पनि सहयोग गरेको थियो। सन् १९९९ मा स्थापना भएको तनहुँ समाज हङकङको अहिले ८औँ कार्यसमिति हो।
Shares

प्रतिक्रिया