हङकङमा आयोजित १२९ किलोमिटर अल्ट्रा ट्रेल दौड प्रतियोगितामा हङकङका नेपाली धावक दशौँ स्थानभित्र पर्न सफल भएका छन्। यूटीएमबी वर्ल्डले आयोजना गरेको ट्रान्स लान्ताउ हङकङ विश्व शृङ्खलाको उक्त दौडमा ७२ राष्ट्रका ३४६ जना सहभागी भएका थिए।
प्रतियोगितामा भाग लिएका ३४६ मध्ये १८७ धावकधाविकाले मात्रै दौड पूरा गर्न सफल भएका थिए भने बाँकी १५९ प्रतिस्पर्धीले पूरा गर्न सकेनन्।
प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै समूह बनाइएको थियो। जसअन्तर्गत महिलातर्फ हङकङकी नेपाली धाविका दिलु लिम्बुले २३:१५:०३ मा निर्धारित १२९ किमीको दूरी पार गरी चौथो स्थान हासिल गरेकी छन्। जसमा फिनल्यान्डकी जोहान्ना एन्टिला २०:५४:४४ मा पार गर्दै प्रथम भइन् भने हङकङकी छ्याओकिङ सन दोस्रो र चीनकी जुन झेङ तेस्रो भए।
दिलु लिम्बु सम्पूर्ण महिलातर्फ चौथो भए पनि उमेर समूहमा भने पहिलो भएकी छन्। यो सफलताले अब युरोपमा हुने तीन देशीय दौडमा आफूलाई अङ्क प्राप्त भएको उनी बताउँछिन्।
‘मैले आफ्नो उमेर समूहमा आफूलाई विजेता बनाउन सफल भएको छु,’ लिम्बुले नेपालखबरसँग खुसी साटिन्, ‘अब युरोपमा हुने तीन देशमा एकै पटक दौडने खेलका लागि अङ्क प्राप्त भएको छ। यो खेलप्रेमीहरूका लागि खुसीको सन्देश हो।’
यो दौडमा नेपालको प्रतिनिधित्व गर्दै धाविका पदमकुमारी सुनुवारले पनि भाग लिएकी थिइन्।
यसैगरी पुरुषतर्फ पनि नेपाली धावक उत्कृष्ट १० भित्र परी यूटीएमबी वरीयतामा पर्न सफल भएका छन्। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसिएसनका अध्यक्ष वेदराज लिम्बुले १२९ किलोमिटरको उक्त दौड २०:३२:३२ मा पार गरी ९औँ स्थान सुरक्षित गरेका हुन्।

यो खुसीलाई नेपालखबरसँग साट्दै लिम्बुले भने, ‘हामीले दशौँ स्थानभित्र प्रवेश पाएका छौँ। यूटीएमबीले गणना गर्ने अङ्क प्राप्त गर्यौँ अब युरोप दौडको ढोका खुलेको छ। यो सफलता एक व्यक्ति मात्रै नभएर सिङ्गो टिमको हो। जो हाम्रो साथमा अहोरात्र खटिनुभएको छ, सहयोगी सबैप्रति कृतज्ञ छौँ।’
यसैगरी, पुरुषतर्फ सहभागी हङकङका अन्य नेपालीमध्ये एचकेनुट्राका धावक रविनकुमार लिम्बु ले २१:४८:३२ मा पार गरी १२औँ स्थान र एचकेनुट्राकै संयोजक भेषराज भट्टराई (रमेश)ले २३:१३:०६ मा पार गरी २२औँ स्थान सुरक्षित गरेका छन्।
यूटीएमबी दौड १२९ किलोमिटरका अलावा १०० किलोमिटरको पनि भएको थियो। जसमा एचकेनुट्राका महासचिव वसन्त सेन आङबुहाङले १८:५३:१७ मा पूरा गरेका थिए भने राम थापाले निर्धारित दूरी पूरा गरेका थिए।
‘ट्रान्सलान्ताउ हङकङ युटिएमबी’ शीर्षकमा भएका १०० र १२९ किलोमिटरका यी दौड नोभेम्बर ८ देखि १० मा भएका थिए। लान्ताउ दौड हङकङभित्रका ट्रेलमध्ये कठिन मानिन्छ। पर्ल नदीको मुखमा रहेको हङकङकै ठूलो टापु लान्ताउबाट मध्यरातबाट सुरु गरिएको दौडलाई प्रतिस्पर्धीहरूले मध्यदिनमा अन्त्य गरेका थिए।
ट्रान्सलान्ताउको रुट मुइओबाट सुरु भएर चिमा वान, पुइओ, पाक कुङ ओ, नोङपिङ, काउलिङ चुङ, ताई ओ, शाम वाट, शुई हाउ, पाककुङ ओ, पाक मोङ, डिसक्वरी बे हुँदै पुन: मुइओमा आएर अन्त्य हुन्छ।
यो प्रसिद्ध अल्ट्राम्याराथन हो। जुन, संसारका धावक-धाविकाको लागि बाकेट लिस्ट रेस पनि हो।
Shares

प्रतिक्रिया