शनिबार बिहान हङकङको काउलुनमा रहेको ‘मल्टी स्टोरी कार पार्क’को सातौँ तलाबाट एक कामदार खसेका छन्।
प्रहरीले हिजो बिहान ११:३३ बजे ङाउचि वानको चोई वान (पहिलो) स्टेटमा रहेको कार पार्क भवन बाहिर कामदार खसेको सूचना प्राप्त गरेको थियो। कामदार स्काफोल्डिङका लागि प्रयोग भएका बाँस राखिएको ट्रकमा खसेका थिए।
प्रहरी प्रवक्ताका अनुसार चान उपनाम गरेका ३९ वर्षीय व्यक्ति घटना हुनुअघि ट्रकभन्दा ३० मिटरमाथि स्काफोल्डिङमा काम गरिरहेका थिए।
अर्धचेत अवस्थामा उद्धार गरिएका उनलाई याउमा तेइस्थित क्विन एलिजाबेथ अस्पतालमा लगिएको थियो।
सामाजिक सञ्जालमा प्रसारित तस्बिरहरूमा घाइतेको टाउको, अनुहार, हात र छातीमा रगत लतपतिएको देखिन्छ।
औद्योगिक दुर्घटना पीडितहरूको अधिकार संघका अनुसार घाइतेको शरीरका धेरै भाग भाँचिएका छन्। उनको अवस्था गम्भीर छ।
‘हामी घटनाप्रति चिन्तित छौँ र हाम्रा कर्मचारी कामदारको परिवारलाई हरप्रकारको मद्दत गर्न अस्पतालमा छन्,’ संघले भनेको छ।
यो वर्ष उचाइबाट खसेर कम्तीमा ६ निर्माण कामदारको मृत्यु भएको छ भने गतमहिना मात्र २ जनाको मृत्यु भयो।
७ नोभेम्बरमा विमानस्थलको नयाँ टर्मिनल २ को निर्माणस्थलबाट खसेर ३७ वर्षीय कामदारको मृत्यु भएको थियो।
त्यस्तै, ५ नोभेम्बरमा तोक्वा वानको ११ तले भवनबाट खसेर ४४ वर्षीय कामदारको मृत्यु भएको थियो। उनी स्काफोल्डिङ भत्काउने क्रममा खसेका थिए। (एससीएमपी)
Shares

प्रतिक्रिया