हङकङले फेरि एक पटक विश्वव्यापी वित्तीय केन्द्रको रूपमा आफूलाई सुरक्षित राखेको एक प्रतिवेदनले देखाएको छ।
पछिल्लो ग्लोबल फाइनान्सियल सेन्टर इन्डेक्स रिपोर्टले विश्वभरका कुल ११९ वित्तीय केन्द्रको मूल्याङ्कन गर्दा हङकङले एसिया प्रशान्त क्षेत्रमा शीर्ष र विश्वमा तेस्रो स्थान सुरक्षित गरेको हो।
प्रतिस्पर्धामा हङकङले एसिया-प्रशान्त क्षेत्रको प्रतिस्पर्धी सिंगापुरलाई पछाडि छोडेको मात्र होइन न्युयोर्क र लन्डन जस्ता शीर्ष स्तरका सहरको पनि बराबरीमा उभिएको छ।
न्युयोर्क र लन्डन विश्वव्यापी रूपमा पहिलो र दोस्रो स्थानमा छन्।
इन्डेक्सको मूल्याङ्कनमा हङकङले अघिल्लो पटकभन्दा यसपालि ११ अंक थपेको छ।
यस्तै, सिंगापुरले पनि विश्ववरीयतामा चौथो स्थान हासिल गर्न तीन अंक थपेको छ।
इन्डेक्सको विश्वव्यापी मूल्यांकन सूचीमा सान फ्रान्सिस्को, शिकागो, लस एन्जलस, सांघाई र शेन्जेन र सियोलले क्रमशः पाँचौँदेखि दशौँ स्थान कायम गरेका छन्।
सूचीमा हङकङको प्रभावशाली स्थानको बारेमा कुरा गर्दै सहरका सरकारी प्रवक्ताले लगानी व्यवस्थापन, बीमा र वित्तीय उद्योगका क्षेत्रमा त अझ विश्वव्यापी पहिलो स्थानमा रहेको उल्लेख गरे।
त्यस्तै, मानव पुँजी, पूर्वाधार र वित्तीय क्षेत्र विकासमा दोस्रो स्थानमा उक्लिएको उनको दाबी छ। बैंकिङ क्षेत्रमा पनि हङकङ तेस्रो स्थानमा उक्लिएको उनले बताए।
Shares

प्रतिक्रिया