हङकङमा मन्त्री पाण्डेलाई ज्ञापन पत्र, पर्यटन क्षेत्र सुधारका लागि पहल गर्न आग्रह

हङकङमा मन्त्री पाण्डेलाई ज्ञापन पत्र, पर्यटन क्षेत्र सुधारका लागि पहल गर्न आग्रह

बज्रकुमार थुलुङ राई
बैशाख ११, २०८२ बिहिबार १०:४७, हङकङ

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा नेपाली जनसम्पर्क समिति हङकङले बुधबार यहाँ नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गरेको छ।

उक्त जनसम्पर्क समितिका सभापति शैलेन्द्रसिंह बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य वसन्त श्रीनेत, पूर्वसभापति मिन गुरुङ र यहाँस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङ विशेष अतिथि रहेका थिए।

त्यसैगरी मन्त्री पाण्डेसँगै आएका संस्कृति पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका सहसचिव डा सुरेश सुरस श्रेष्ठ, सोही मन्त्रालयका शाखा अधिकृत सरोज अर्याल, हङकङको राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार टंक राना, नेपाल वायुसेवा निगम हङकङका स्टेसन म्यानेजर विजय अधिकारी, नेपाली महासङ्घ हङकङका कार्यवाहक अध्यक्ष नवीन सुहाङ, कृति चिल्ड्रेन्स् सेन्टर (केसीसी)की संस्थापक पुष्पा गुरुङ (पुष्पा गुरुआमा), आयोजक समितिका पूर्वसभापति कुलप्रसाद गुरुङ, सल्लाहकार कोमल गुरुङ (स्याङ्जाली कान्छा), विनय शाह, लाल थापा, नरेन्द्र गुरुङ, किसन देवानलगायतका व्यक्तित्व अतिथि रहेका थिए।

सो समितिका महामन्त्री खुसी लिम्बूले सञ्चालन र उपसभापति ओमराज गुरुङको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रम वानचाईमा रहेको हिमालयन रेस्टुरेन्टको सभाकक्षमा भएको थियो।

मन्त्री पाण्डे जर्मनी, फ्रान्स र स्विजरल्यान्डको जेनेभामा भएका मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुँदै हङकङ सरकारको निमन्त्रणामा दुई दिने ‘एसिया कल्चरल कोअपरेसन फोरम प्लस+२०२५ (एसिया सांस्कृतिक सहयोग मञ्च+२०२५)’ को १३औँ संस्करणमा भाग लिन यहाँ आएका हुन्।

सन् २००३ बाट हङकङमा सुरु गरिएको यो फोरम सांस्कृतिक आदानप्रदान र सहयोगका लागि एसियामा मन्त्रीस्तरीय (सरकारदेखि सरकार, जी टु जी) प्लेटफर्मको रूपमा विकसित भएको छ।

जनसम्पर्क समितिले मन्त्री पाण्डेको सम्मानमा गरिएको यो जमघटलाई शुभकामना तथा भेटघाट कार्यक्रम मात्रै भनिए पनि वक्ताहरू मिन गुरुङ, टंक राना, वसन्त श्रीनेत आदिले नेपाल वायुसेवा निगम र यसको अनियन्त्रित भाडादर, सेवा-सुविधा अनि पर्यटन क्षेत्रमा परिरहेको असरका सन्दर्भ उठाउँदै समस्याहरूको यथाशीघ्र समाधान गर्न माग गरेका थिए।

त्यसैगरी संसारमा पीडादायी रूपमा देखापरेको बालबच्चाहरूको अटिजमबारे आफू र आफ्नो संस्थाले नेपाल सरकारसँग जुनसुकै बेला काम गर्न तत्पर रहेको बताउँदै पुष्पा गुरुङले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाएकी थिइन्।

वायुसेवा निगमको सन्दर्भमा उठेका सवालमा मन्त्री पाण्डेले ‘आर्थिक रूपमा सम्पन्न संसारका एयरलाइन्सहरूले ६० प्रतिशत जहाज भाडामा लिएर प्रयोग गर्ने गरेको र त्यस विषयमा नेपाल सरकार तथा संसद्‌मा कुरा भइरहेको’ बताएका थिए।

नेपाल वायुसेवा निगमको अपर्याप्त सेवा सुविधा हङकङका नेपालीको मात्रै नभएर विश्वभरका नेपालीको चासोको विषय रहेको भन्दै मन्त्री पाण्डेले देशको आर्थिक अवस्था त्यति राम्रो नभएका कारण तत्कालै यी माग सम्बोधन गरिहाल्न सरकारलाई कठिनाइ भएको बताए।

कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले विदेशमा बस्ने नेपालीले देशका लागि गरेको योगदानप्रति धन्यवाद दिँदै सकारात्मक हुन र आशातीत सन्देश बाँड्न आग्रह समेत गरे।

यो कार्यक्रमपश्चात मन्त्री पाण्डे र उनको टोली मकाउ प्रस्थान गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .