हङकङमा एकपछि अर्को गर्दै व्यवसाय बन्द हुने क्रम बढेको छ। पछिल्लो पटक ३३ वर्ष पुरानो रेस्टुरेन्ट कन्जी चेनले सहरमा रहेका आफ्ना सात आउटलेट बन्दको घोषणा गरेसँगै यो विषयको बहस फेरि सतहमा आएको छ।
यसअघि ७ अप्रिलमा सहरको चर्चित खाना डेलिभरी प्लेटफर्म ‘डेलिभरू’ले व्यवसाय बन्द गरेको थियो। डेलभरूले मार्चको सुरुमै अप्रिलबाट बन्द गर्ने घोषणा गरेको थियो।
त्यस्तै, सिनेमा हल पनि धमाधम बन्द भइरहेका छन्। हङकङ थिएटर एसोसिएसनका अनुसार सन् १९९४ मा ११२ सिनेमाघर रहेको हङकङमा ३१ वर्षपछि खुम्चिएर ५६ मा झरेको छ। गतवर्ष मात्रै ६ वटा सिनेमाघर स्थायी रूपमा बन्द भएका थिए।
सहरमा व्यवसाय बन्द गर्ने लहरमा पछिल्लो पटक देखा परेको कन्जी चेनले अचानक बुधबार (७ मे) ढोका बन्द गर्ने निर्णय लिएको हो। संस्थाको बिग्रँदै गएको सञ्चालन तथा वित्तीय अवस्थाका कारण सबै स्थानका आउलेट बन्द गरिएको रेस्टुरेन्टले घोषणा गरेको छ।
ओसन एम्पायर इन्टरनेसनल लिमिटेडद्वारा सञ्चालित ओसन एम्पायर फुड सपले बुधबार राति एक पत्रमार्फत कर्मचारीहरूलाई कम्पनीको निर्णयबारे जानकारी गराएको हो।
‘व्यवस्थापनले खेदजनक रूपमा आफ्ना सबै व्यवसाय सञ्चालन समाप्त गर्ने निर्णय गरेको छ,’ कम्पनी बोर्डले सूचनामा भनेको छ, ‘बिग्रँदै गएको सञ्चालन वातावरण र वित्तीय अवस्था तथा अन्य कारणले (बुधबार) आफ्ना सबै पसल र कार्यालय बन्द गर्नेछ।’
उक्त सूचनामा बोर्डले रोजगार सम्झौता बुधबार नै समाप्त भएको समेत उल्लेख गरेको छ। साथै, कर्मचारीले बाँकी ज्याला, संचित वार्षिक बिदा र सभरेन्स (क्षतिपूर्ति) तलबमा दाबी गर्न सक्ने भनेको छ। यस्तो दाबीको तौरतरिकाबारे श्रम विभागमा बुझ्न सकिने पनि सूचनामा भनिएको छ।
१९९२ मा स्थापित ओसन एम्पायर क्यान्टोनिज कन्जी, चिनियाँ फ्राइड डफ स्टिक्स र राइस नुडल रोलका लागि परिचित थियो। यी सामान्यतया चिनियाँ शैलीको ब्रेकफास्टका परिकार हुन्।
हङकङको पहिलो कन्जी चेन भएको दाबी गर्ने यस कम्पनीका कुनै समय हङकङमा ३० भन्दा बढी शाखा थिए। तर, पछिल्लो समय भने वानचाइ, कजवे बे, क्वुन तङ, मेई फु र फ्यानलिङ सहित जम्मा सात शाखा सञ्चालति थिए। अब यी पनि बन्द भए।
कम्पनीले ज्याला भुक्तानीका लागि श्रम विभागसँग परामर्श लिन दिएको सल्लाहप्रति भने विरोध सुरु भएको छ।
शुक्रबार एक सांसद तथा अधिकारकर्मीले भुक्तानी नगरिएको ज्याला दाबी गर्न श्रमिकहरूलाई श्रम अधिकारीसमक्ष सिफारिस गरिनु गैरजिम्मेवार कदम भनेका छन्। यो कदमले सय बढी कर्मचारीलाई अलमलमा पारेको उनको आरोप छ। (एससीएमपी)
Shares

प्रतिक्रिया