हङकङ विमानस्थलको पुनर्निर्मित दोस्रो टर्मिनल सेप्टेम्बरदेखि चरणबद्ध रूपमा खुल्ने भएको छ।
विमानस्थल प्राधिकरणले जानकारी गराएअनुसार पहिलो चरणमा पुन: कन्फिगर गरिएको टर्मिनलको कोच हल खुल्नेछ। जुन, लिमोजिन, टुर बस र कोचहरूका लागि ४१ पार्किङ स्थल भएको क्षेत्र हो।
यस्तै, हङकङ एयरलाइन्स र एचके एक्सप्रेस जस्ता केही वाहकलाई अर्को वर्षको मार्चमा दोस्रो टर्मिनलमा स्थानान्तरण गरिनेछ।
चेक-इन र प्रस्थान सेवाहरू अर्को वर्षको दोस्रो त्रैमासिकको सुरुआत गरिने र टर्मिनल कन्कोर्स तथा नयाँ आगमन सेवाहरू २०२७ मा सुरु हुने तय भएको प्राधिकरणका सीईओ भिभियन चेङले बताइन्।
टर्मिनल २ मा पोइन्ट-टु-पोइन्ट गन्तव्यमा सेवा गर्ने एयरलाइन्सहरू हुनेछन्।
‘एउटा एयरलाइनले टर्मिनल १ वा २ मा मात्र सञ्चालन गर्नेछ, दुवैमा होइन,’ चेङले भनिन्।
यो २०१६ मा सुरु भएको विमानस्थलको विस्तारित परियोजनाको एक हिस्सा हो। १० खर्ब ४१ अर्ब ५० करोड हङकङ डलरको यो परियोजनामा तेस्रो रनवे र पुन: कन्फिगर गरिएको टर्मिनल २ पनि समावेश थियो।
प्राधिकरणको विमानस्थल सञ्चालनका कार्यकारी निर्देशक स्टिवन यिउले मुख्यभूमि चीनको राष्ट्रिय दिवस ‘गोल्डेन विक’ बिदा सुरु हुनुभन्दा ठिक अगाडि, सेप्टेम्बर २३ मा कोच हल खोलिने बताए।
टर्मिनल १ र कार पार्क ४ मा रहेका क्रस-बाउन्ड्री कोच तथा लिमोजिनका लागि टिकट काउन्टर र बोर्डिङ पोइन्टहरू क्रमशः नयाँ साइटमा एउटै छानामुनि हुनेछन्।
यसमा हाल विमानस्थलको कार पार्क १ मा अवस्थित टुर बस बोर्डिङ क्षेत्र पनि समावेश हुनेछ। विमानस्थलका बस स्टपहरू भने हालकै स्थानमा रहनेछन्।
यस्तै, विकासकर्ता न्यु वर्ल्ड डेभलपमेन्टको रिटेल र मनोरञ्जन कम्प्लेक्स २०२६ को मध्यतिर खुल्नेछ।
‘यो मल एउटा थिम पार्क जस्तै हो जसले बालबालिका, परिवार र आगन्तुकहरूका लागि मनोरञ्जन प्रदान गर्दछ। विशेषगरी ग्रेटर बे एरियाका आगन्तुकहरूका लागि,’ सीईओ चेङले भनिन्, ‘हामी शेन्जेनसँग मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैनौँ तर हङकङको अनुभवसँग भने प्रतिस्पर्धा गर्न सक्छौँ।’
विकासकर्ताको आन्तरिक समस्याका कारण शपिङ सेन्टरको उद्घाटन भने केही प्रभावित भएको उनले बताइन्। मलमा हाल सीमित संख्यामा मात्र आउटलेटहरू खुला छन्।
दुई टर्मिनलमध्ये पहिलोले लामो दूरीको रुटमा उडान गर्ने एयरलाइन्स र बिहान प्रस्थान गर्ने विमानहरू ह्यान्डल गर्नेछ भने दोस्रोले पोइन्ट-टु-पोइन्ट उडान र प्रायः क्षेत्रीय यात्राहरू सम्हाल्नेछ।
यद्यपि, क्याथे प्यासिफिक एयरवेज र यसको नजिकबाट काम गर्ने कुनै पनि एयरलाइन्स भने टर्मिनल १ मै आधारित रहनेछन्।
गतवर्ष क्याथेको यात्रु संख्या २ करोड २८ लाख थियो। जुन यो विमानस्थलको कुल संख्याको झन्डै ४३ प्रतिशत हो। अझ, बजेट शाखा एचके एक्सप्रेसको संख्या पनि समावेश गर्दा क्याथे समूहको यात्रु संख्या २ करोड ८० लाख पुगेको थियो। जुन, विमानस्थलको कुल संख्याको ५२.७ प्रतिशत हो।
Shares

प्रतिक्रिया