हङकङ सरकारले कोरोना भाइरसले पारेको विनाशकारी आर्थिक असरसँग जुध्न एक सय ३८ अर्ब हङकङ डलरको राहत प्याकेज घोषणा गरेको छ। यो राहत प्याकेजले १५ लाख श्रमिक र व्यवसायी लाभान्वित हुनेछन्।
यो राहतबाट हङकङका १५ लाख श्रमिकले आधा तलव बराबरका हिसावले ६ महिनासम्म प्रति महिना ९ हजार हङकङ डलर पाउने छन्। सरकारले आगामी दुई वर्षमा ३० हजार नयाँ रोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाएको छ। पहिलेको राहत प्याकेजमा नपरेका व्यवसायलाई सहयोग गर्न अर्बौं रकम खर्च गरिने छ भने मेट्रो रेलको भाडामा छुट दिइने छ।
श्रमिकलाई दिइने राहत रकम जून महिनाबाट कम्पनीहरूलाई दुई किस्तामा उपलब्ध गराइने छ।
हङकङकी कार्यकारी प्रमुख क्यारी लामले ‘यो नै चाँडो र सिधा तरिका हो’ भन्दै यदि रोजगारदाता कम्पनीहरूले आफ्नो कामदारलाई बर्खास्त गरेको फेला परे उनीहरूले थप भुक्तानी सहित अनुदान फिर्ता गर्नुपर्ने बताइन्।
बुधबार साँझ मिडिया ब्रिफिङमा लामले कोरोना महामारीलाई ‘विनाशकारी’ भन्दै ‘अकल्पनीय चुनौतीको सामना गर्न अभूतपूर्व कदम चाल्नु आवश्यक रहेको बताइन्।
‘पैसा खर्च गरेपछि हामी त्यसबाट कमाएर फिर्ता ल्याउन सक्ने छौं, किनकी हङकङका आधारभूत पक्षहरू राम्रो अवस्थामा छन्’, लामले भनिन्।
हङकङमा कोरोना भाइरस संक्रमितको संख्या बुधबार ९६० पुगेको छ, जो अधिकांश आयातित केस हुन्।
लामले आफु र आफ्नो मन्त्रीपरिषदका सदस्यको तलब एक वर्षका लागि १० प्रतिशतले घटाइने घोषणा पनि गरिन्। त्यसो गर्दा उनले आफ्नो तलब ४३४००० बाट अब ३९०००० लिनेछिन्।
(यो रिपोर्टमा केही अपडेड गरिएको छ– सम्पादक)
प्रतिक्रिया