हङकङले आफ्नो नयाँ रंगशाला काइताक स्पोर्टस पार्कमा ब्राजिलको राष्ट्रिय फुटबल टोलीको खेल आयोजना गर्ने लक्ष्य राखेको छ। देशको परम्परागत कार्निवल महोत्सव उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सहरका वित्त प्रमुखले उक्त कुरा बताएका हुन्।
दक्षिण अमेरिकी देशको परम्परागत कार्निवल महोत्सवले सहरमा डेब्यु गरेसँगै हङकङले ब्राजिलको फुटबल टोलीलाई काइताक रंगशालामा खेलाउने आशा राखेको हो।
शुक्रबार ‘एक्स्ट्राभागान्जा! जब ब्राजिलले हङकङलाई भेट्छ’ को उद्घाटन समारोहमा बोल्दै वित्तीय सचिव पल चानले भने– यो कार्यक्रमले ‘क्रस-सांस्कृतिक सम्बन्ध’लाई गहिरो बनाउन मद्दत गर्नेछ।
‘म खुसी छु कि, यो महोत्सवले सहरभरका समुदायमा ऊर्जा र आनन्द ल्याएको छ,’ कार्यक्रममा बोल्दै चानले भने, ‘तपाईँहरूले हाम्रो सांस्कृतिक परिदृश्यलाई समृद्ध बनाउन र अन्तर-सांस्कृतिक सम्बन्धलाई गहिरो बनाउन मद्दत गरिरहनुभएको छ।’
चानले हङकङलाई एसियाको ‘इभेन्टस् क्यापिटल’को रूपमा सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको पनि बताए। हालै खोलिएको काइताक रंगशालामा आयोजना गरिने कार्यक्रमहरूतर्फ इंगित गर्दै उनले यसो भनेका हुन्।
‘कन्सर्ट र रग्बीभन्दा बढी, हामी त्यहाँ धेरै उच्चस्तरीय फुटबल खेललाई स्वागत गर्दैछौँ,’ चानले भने, ‘मलाई आशा छ, हामी चाँडै नै ब्राजिलको राष्ट्रिय फुटबल टोलीको खेल आयोजना गर्न सक्छौँ।’
तीन दिने सांस्कृतिक महोत्सव शुक्रबार एआईए भाइटालिटी पार्कमा सुरु भएको छ। कार्यक्रममा ब्राजिलियन नृत्य कलाकार तथा दक्षिण अमेरिकाका शीर्ष फुटबलरहरूको उपस्थिति रहेको छ।
Shares

प्रतिक्रिया