हङकङका निजी डाक्टरहरूबाट कोभिड-१९ को एन्टिभाइरल औषधि चाहिने बिरामीहरूलाई दिइँदै आइएको नि:शुल्क औषधि अब बन्द हुने भएको छ।
महामारी कम भएको भन्दै सरकारले नि:शुल्क आपूर्ति बन्द गर्ने जनाएसँगै अब यस्ता बिरामीले उपचारको कोर्सको लागि लगभग ७ हजार हङकङ डलर खर्चनुपर्ने भएको छ।
स्वास्थ्य सुरक्षा केन्द्रले बिहीबार जानकारी गराउँदै यही जुलाई २९ बाट नि:शुल्क औषधिको प्रावधान बन्द गर्ने बताएको हो। यो व्यवस्था अप्रिल २०२२ देखि लागू भएको थियो।
सरकारको यो कदमप्रति केही डाक्टरले भने असन्तुष्टि जनाएका छन्। नीतिलाई समयसापेक्ष परिवर्तन गरिएको भए तापनि यसले सार्वजनिक स्वास्थ्य सेवा प्रणालीमा बोझ पार्न सक्ने उनीहरूको चिन्ता रहेको छ।
संक्रामक रोग विशेषज्ञ डा. जोसेफ चाङलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘यो पक्का छ कि इम्युनोकम्प्रोमाइज्ड र वृद्धवृद्धाहरूले उपचार गर्न ढिलाइ गर्नेछन् र आपत्कालीन विभाग वा सामान्य बाह्य रोग क्लिनिकहरूमा लामो प्रतीक्षामा बस्नेछन्।’
यो व्यवस्थाले अर्को पटक कोभिड-१९ लहर आउँदा सार्वजनिक अस्पतालहरूमा सेवाको माग बढ्ने शंका पनि उनको छ।
नयाँ व्यवस्था अन्तर्गत, अब निजी डाक्टरहरूले व्यापारीबाट औषधि सिधै अर्डर गर्नुपर्नेछ र बिरामीसँग शुल्क लिन सक्छन्।
Shares

प्रतिक्रिया