हङकङ प्रहरीले पश्चिमी काउलुनमा सडकमा विद्युतीय साइकल प्रयोग गरेको आरोपमा ४२ जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकामध्ये ११ जना खाद्य डेलिभरकर्ता रहेका छन्। ३९ जना पुरुष र ३ महिला पक्राउ परेकामा १० जना गैरस्थानीय रहेको प्रहरीले जनाएको छ। ११ जना खाद्य डेलिभरमध्ये १ जना शरणार्थी हुन्। उनलाई अवैध रूपमा काम गरेको आरोप समेत थपिएको छ।
पक्राउ परेकाहरूसँग उनीहरूको साइकल पनि जफत गरिएको छ।
काउलुङ वेस्ट ट्राफिक टास्क फोर्सका वरिष्ठ निरीक्षक चेङ होले सडकमा विद्युतीय गतिशीलता उपकरणहरूको अवैध प्रयोगलाई रोक्न गएको हप्ता पाँच दिने अपरेसन गरिएको बताए। यही अपरेसनमा उनीहरू पक्राउ परेका हुन्।
‘विद्युतीय साइकलहरू ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छन्। जुन झन्डै मोटरसाइकल जत्तिकै छिटो कुद्न सक्छ। यदि त्यसलाई अवैध रूपमा प्रयोग गरियो भने यसले पैदल यात्री र अन्य सडक प्रयोगकर्तालाई गम्भीर खतरा निम्त्याउन सक्छ,’ चेङलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
लामो समयदेखि हङकङमा बस्दै आएका एक नेपाली जथाभावी रूपमा इलेक्ट्रिक साइकल चलाउने प्रचलन बढ्दै गएकोले कडाइ गरिएको हुन सक्ने बताउँछन्।
‘खाना लगायत सामान डेलिभरी गर्नेले यहाँ ब्याट्रीवाला साइकल कुदाएर हैरान छ,’ उनी भन्छन्, ‘केही चिनियाँ, बंगाली र पाकिस्तानीले ब्याट्री जोडेर मोटरसाइकलजत्तिकै गतिमा कुदाउने गरेको मैले पनि देखेको छु।’
यसरी कुदाउनेमा नेपालीहरू भने आफूले नभेटेको उनी बताउँछन्।
‘हङकङमा साइकलको लेन छुट्टै छ। ती लेनमा साइकल चलाउन छुट छ तर विद्युतीयलाई होइन,’ ती नेपाली भन्छन्।
Shares

प्रतिक्रिया