नेपाली महावाणिज्य दूतावास हङकङले असोज ५ गते संविधान दिवस मनाउने भएको छ।
बिहीबार एक सूचना प्रकाशित गर्दै महावाणिज्य दूतावासले उक्त जानकारी गराएको हो।
असोज ५ अर्थात् २१ सेप्टेम्बर साँझ स्थानीय समयअनुसार साढे ६ बजेदेखि राति ९ बजेसम्म गर्न लागेको कार्यक्रममा हङकङ तथा मकाउमा रहेका नेपालीलाई सहभागी हुन दूतावासले अनुरोध गरेको छ।
नेपालको संविधान ३ असोज २०७२ मा जारी भएको हो। यस दिन नेपालमा संविधान दिवस मनाइने गरिन्छ।
नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधान जारी भएका छन्।
२०६२/६३ को जनआन्दोलनपछि संविधान सभाको निर्वाचन गरी पहिलो पटक संविधान जारी गरिएको हो।
संविधान दिवसका दिन असोज ३ गते नेपालमा सार्वजनिक बिदा हुने गरेको छ।
नेपालको संविधान, २०७२ प्रथम राष्ट्रपति डा रामवरण यादवले जारी गरेका हुन्।
यसै संविधानले नेपालमा पहिलो पटक सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा सुनिश्चित गर्दै देशमा गणतन्त्र स्थापना गरेको हो।
यस संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेका छन्। संविधानले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नुका साथै पहिलो पटक संघीय मुलुकको रूपमा स्थापित गरेको छ।

Shares

प्रतिक्रिया