हङकङमा १८३ वर्ष पुरानो पारिवारिक विरासत बोकेको एक पसल सन् २०२५ को अन्त्यसँगै बन्द हुने भएको छ। ‘छाताका राजा’ उपमा पाएका पसलका वर्तमान मालिक याउ यिउको बुढ्यौलीसँगै व्यवसायले पनि विश्राम लिने भएको हो।
७३ वर्षीय यिउले यसअघि नै घोषणा गरेअनुसार पाँच पुस्ता धानेको व्यवसायले वर्षको अन्त्यसँगै बिट मार्नेछ। अंग्रेजी तिथिअनुसार यो वर्ष सकिन अब ३ दिन मात्र बाँकी छ।
‘हामीले हाम्रो परिवारको प्रतिष्ठालाई कायम राखेका छौँ र यो विरासत अहिले ममा आएको छ, यसलाई अन्त्य गर्न मलाई साँच्चै पीडा हुनेछ,’ यिउले व्यवसाय बन्दको घोषणासँगै भनेका छन्, ‘म मेरा पुर्खाप्रति माफी चाहन्छु।’
किङ राजवंशको समयमा सन् १८४२ मा स्थापित सनराइज कम्पनी दक्षिणी चिनियाँ सहर ग्वाङ्झाउमा याउ परिवारद्वारा स्थापना गरिएको थियो।
आफ्नो पारिवारिक व्यवसायमा दशकौँ छाता मर्मत गरेपछि अवकाश लिँदै गरेका सहरका ‘छाताका राजा’ लाई बिदाई गर्न हङकङको पुरानो जिल्लाको एउटा साँघुरो पसलमा शुक्रबार सयौँ बासिन्दाको भिड जम्मा भएको थियो।
किङ राजवंशको समयमा १८४२ मा स्थापित, सन राइज कम्पनी दक्षिणी चिनियाँ शहर ग्वाङ्झाउमा याउ परिवारद्वारा स्थापना गरिएको थियो। युद्धकालीन अशान्तिपछि पसल हङकङमा सारियो र अन्ततः सामसुई पो जिल्लामा स्थानान्तरण भयो।
परिवारिक विरासत बोक्दै सञ्चालित यस पसलले पाँच पुस्तादेखि सेवा दिँदै आइरहेको छ। तर, पछिल्लो समय उपभोक्तामा बढेको अनलाइन किनमेल र आफ्नो बढ्दो उमेरका कारण बन्द गर्ने निर्णयमा पुगेको याउले बताए।

याउका अनुसार, उनी जस्ता पाँचभन्दा कम मर्मतकर्ता सहरमा मुस्किलले व्यापार गरिरहेका छन्। तर अब आफूले गर्व गर्ने यो सेवालाई बिट मार्नुबाहेक उनीसँग अरू विकल्प छैन।
‘म बुढो पनि भइसकेँ। तपाईँहरूले मलाई माफ गर्नुपर्छ,’ शुभचिन्तकलाई याउको आग्रह छ।
‘छाताका राजा’ ले पसल बन्द गर्ने खबर सामाजिक सञ्जालमा फैलिएपछि उपभोक्ताले विभिन्न टिकाटिप्पणी गरेका छन्।
एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘अद्भुत सामुदायिक व्यवसायको अर्को क्षति।’
त्यस्तै ६० वर्षीय बासिन्दा पिटर ट्याम भन्छन्– क्लासिक पसलहरू हराउनु एउटा युगको अन्त्य। ‘यो एकदमै दु:खद कुरा हो। यी सबै इतिहासका पाना बन्ने छन्। र, हामी आफैँ पनि इतिहास बन्दैछौँ,’ ट्याम थप्छन्। (एएफपी)
Shares

प्रतिक्रिया